भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्का: (बिस्केट) जात्रा आजदेखि सुरु भएको छ । यो जात्रा नेपाली नयाँ वर्ष अर्थात् वैशाख १ गतेभन्दा चार दिनअघि भैरव र भद्रकालीको रथ तानेर सुरु गरिन्छ भने वैशाख ५ गते सम्पन्न गरिन्छ।
भक्तपुरको सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको बिस्का: जात्रा लिच्छविकालदेखि चलिआएको मानिन्छ। तौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरव र भद्रकालीको रथ तानेर जात्रा सुरु गरिन्छ। यस क्रममा नौ दिनसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन हुन्छन्।
जात्रा अवधिभर अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा व्यवस्था कडा पारिन्छ। पहिलो दिन पाँचतले मन्दिर प्राङ्गणबाट भैलखःलाई क्वने (तल्लो टोल) र थने (माथिल्लो टोल) का बासिन्दाले अगाडि पाँच र पछाडि चार डोरी तानेर आ–आफ्नो टोलतर्फ लैजान प्रतिस्पर्धा गर्छन्। भैलखः तानातान नै जात्राको मुख्य आकर्षण बन्छ।
तानातानको क्रममा थनेतर्फ तान्न सफल भएमा दत्तात्रयसम्म लैजान्छन् र त्यहाँबाट पुनः तमारी हुँदै क्वनेतर्फको तेखापुखुसम्म ल्याएर फर्काइ गःहिटीमा पुर्याइन्छ ।
यससँगै पहिलो दिनको जात्रा सम्पन्न हुन्छ। भैलखः तान्ने परम्परागत मार्ग क्वनेतर्फ तमारी, बुलुँचा, घट्खा, नासमना, मुलाखु, वंशगोपाल हुँदै तेखापुखुसम्म र थनेतर्फ क्वाछें, साकोठा, सुकुलढोका, गोमारी, इनाचो हुँदै दत्तात्रयसम्म रहन्छ।
दोस्रो दिनलाई शून्य दिनका रूपमा लिइन्छ। तेस्रो दिन गःहिटीमा भैरवनाथलाई राँगो बलि चढाई गुठी संस्थानबाट सरकारी पूजा गरिन्छ। बलिपूजाको मासु प्रसादका रूपमा लाकुलाछे बासिन्दालाई बाँडिन्छ, जसलाई ‘स्याःक्वःत्याःक्वः’ भनिन्छ।
चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह यसींद्यो (हात नभएको लिङ्गो) उभ्याइन्छ। साँझ तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ५५ हात लामो यसींद्योः ल्यसिङखेलमा उभ्याइन्छ। यसींद्योः उभ्याउने जात्रा बिस्काको अर्को प्रमुख आकर्षण मानिन्छ, जसले पुरानो वर्षको विदाइ र नयाँ वर्षको आगमनको संकेत गर्छ।
यसींद्योःमा झुण्ड्याइएका दुई ध्वजालाई वीरध्वजा र विश्वध्वजा भनिन्छ। यी ध्वजा फुकाएपछि मात्र नयाँ संवत् सुरु हुने विश्वास गरिन्छ, त्यसैले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यता रहन्छ। यसमा बाँधिएका आठ डोरी अष्टमातृकाको प्रतीक मानिन्छन्। यसींद्योः उठेपछि राति नवदुर्गा देवगणको उपस्थिति रहने विश्वास गरिन्छ र तलेजुमा दुमाजुको विशेष पूजा गरिन्छ।
पाँचौँ दिन अर्थात् वैशाख १ गते बिहानैदेखि चुपिङघाट र ल्यसिङखेलमा भक्तजनको भीड लाग्छ। विभिन्न बाजागाजा बजाउँदै परम्परागत पोसाकमा भैरव, भद्रकाली, बेताल र यसींद्योःको पूजा–दर्शन गरिन्छ। बेताललाई पोथी कुखुराको बलि दिइन्छ। साँझ विधिपूर्वक पूजा गरी यसींद्योः ढालिन्छ।
त्यसपछि भैरव र भद्रकालीको रथ गःहिटीमा ल्याई आपसमा जुधाइ सङ्गम जात्रा मनाइन्छ, जसलाई स्थानीय भाषामा ‘द्योः ल्वाकिगु’ भनिन्छ। तलेजुमा दुमाजु देवीको जात्रा पनि गरिन्छ।
छैटौँ दिन महाकाली र महालक्ष्मीको जात्रा मनाइन्छ। सातौँ दिन तचपालमा ब्रम्हायणी र महेश्वरीको जात्रा हुन्छ। सोही दिन तालाक्वमा बटुकभैरव र ज्याठा गणेशको सिन्दूर जात्रा तथा खँलामा परदेशी भीमसेनको खट जात्रा मनाइन्छ।
आठौँ दिन भक्तपुरका विभिन्न शक्तिशाली देवदेवीलाई द्योछेंबाट निकालेर प्राङ्गण, सतल र पाटीमा राखी पूजा गरिन्छ। विभिन्न प्रसाद चढाएर द्यो स्वगं पूजा (सगुन जात्रा) दिनभर मनाइन्छ।
अन्तिम दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह यसींद्यो ढालिन्छ। साँझ चोछें टोलमा छुमा गणेश जात्रा मनाइन्छ। त्यसपछि पहिलो दिनझैँ भैलखःलाई थने र क्वनेका बासिन्दाले तानातान गरी जात्रा सम्पन्न गर्छन्।
तस्बिर : नेपाल फोटो लाइब्रेरी








































प्रतिक्रिया