विश्वकप: मेसी र एम्बाप्पेलाई पछ्याउँदै हालान्ड र केन, कसले जित्ला गोल्डेन बुट ? « Khabarhub

विश्वकप: मेसी र एम्बाप्पेलाई पछ्याउँदै हालान्ड र केन, कसले जित्ला गोल्डेन बुट ?



काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधि कसले जित्ला भन्ने चासो जति बढ्दो छ, त्यत्तिकै रोचक बनेको छ गोल्डेन बुट अर्थात् सर्वाधिक गोलकर्ताको प्रतिस्पर्धा।

सामान्यतया एक वा दुई खेलाडीबीच सीमित हुने यो दौड यसपटक चार विश्वस्तरीय स्ट्राइकरबीच कडा प्रतिस्पर्धामा बदलिएको छ।

लियोनल मेसी, किलियन एम्बाप्पे, एर्लिङ हालान्ड र ह्यारी केनमध्ये कसले अन्तिममा गोल्डेन बुट जित्ने हो भन्ने अनुमान गर्न अहिले नै कठिन देखिएको छ।

हाल अर्जेन्टिनाका कप्तान लियोनल मेसी र फ्रान्सका कप्तान किलियन एम्बाप्पे समान ८ गोलसहित शीर्ष स्थानमा छन्। नर्वेका एर्लिङ हालान्डले ७ गोल गरेका छन् भने इङ्ग्ल्यान्डका कप्तान ह्यारी केन ६ गोलसहित नजिकै छन्। यी चार खेलाडीको प्रदर्शनले विश्वकप इतिहासकै सबैभन्दा प्रतिस्पर्धात्मक गोल्डेन बुटको दौडमध्ये एक सिर्जना गरेको छ।

विश्वकपको इतिहास हेर्दा पाँच वा छ गोलले नै धेरै संस्करणमा गोल्डेन बुट जित्न पर्याप्त हुने गरेको थियो। सन् २००६ मा मिरोस्लाभ क्लोज र २०१० मा थोमस मुलरले पाँच–पाँच गोलमै यो अवार्ड जितेका थिए। सन् २०१८ मा ह्यारी केनले ६ गोल गर्दै गोल्डेन बुट हात पारेका थिए भने २०२२ मा किलियन एम्बाप्पे ८ गोलसहित विजेता बनेका थिए। तर यसपटक भने ८ गोल गरेर पनि उपाधि सुरक्षित छ भन्न सकिने अवस्था छैन।

यसपटकको दौडलाई अझ रोचक बनाएको अर्को पक्ष भनेको चारै खेलाडीको उत्कृष्ट लय हो। मेसी अनुभव र निरन्तरताका भरमा अघि छन् भने एम्बाप्पे आफ्नो तीव्र गति र आक्रामक खेलका कारण कुनै पनि क्षण अग्रता लिन सक्ने अवस्थामा छन्। फ्रान्स सेमिफाइनलमा पुगिसकेकाले एम्बाप्पेका लागि फेरि एक पटक यो उपाधि सहज देखिन्छ । अन्य खेलाडीका लागि भने आगामी खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।

पहिलो पटक विश्वकप खेलिरहेका एर्लिङ हालान्डले कम समयमै ७ गोल गर्दै आफ्नो असाधारण फिनिसिङ क्षमता प्रमाणित गरेका छन्। उता, २०१८ का गोल्डेन बुट विजेता ह्यारी केन पनि फेरि एकपटक इतिहास दोहोर्याउने लक्ष्यमा छन्।

गोल्डेन बुटको विजेता निर्धारण गर्दा सबैभन्दा पहिले गोल संख्या हेरिन्छ। यदि गोल बराबरी भए असिस्टको आधारमा निर्णय हुन्छ। त्यसपछि पनि बराबरी भए कम समय मैदानमा बिताएको खेलाडीलाई प्राथमिकता दिइन्छ। हाल एम्बाप्पेका दुई असिस्ट छन् भने मेसी र केनले एक–एक असिस्ट गरेका छन्। हालान्डले असिस्ट नगरे पनि गोल रूपान्तरण दर भने शीर्ष चारमध्ये सबैभन्दा उत्कृष्ट छ।

यद्यपि, प्रतिस्पर्धा यी चार खेलाडीमा मात्र सीमित छैन। फ्रान्सका उस्मान डेम्बेलेले पाँच गोल गरेका छन् भने स्पेनका मिकेल ओयार्जाबल र इङ्ग्ल्यान्डका जुड बेलिङमले पनि चार–चार गोल गरेका छन्। तर उनीहरूलाई शीर्ष चारको स्तरमा पुग्न बाँकी खेलमा असाधारण प्रदर्शन आवश्यक पर्ने देखिन्छ।

अब सबैको नजर विश्वकपको अन्तिम चरणतर्फ छ। जुलाई १९ मा हुने फाइनलअघि बाँकी खेलहरूले गोल्डेन बुटको विजेता तय गर्नेछन्। एम्बाप्पे अगाडि बढीसकेकाले मेसीले अग्रता कायम राख्नेछन् वा एम्बाप्पेले दोस्रो पटक गोल्डेन बुट जित्ने इतिहास रच्नेछन् भन्न सक्ने अवस्था छैन ।

मेसी र एम्बाप्पेबाहेक हालान्डले डेब्यु विश्वकपमै नयाँ कीर्तिमान बनाउनेछन् वा केनले पुरानो सफलता दोहोर्याउनेछन् भन्ने प्रश्नको उत्तर अब मैदानमै खोजिनेछ। एउटा कुरा भने निश्चित छ। यसपटकको गोल्डेन बुटको दौड विश्वकप इतिहासकै सबैभन्दा रोमाञ्चक प्रतिस्पर्धामध्ये एक बनेको छ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ७ : १२ बजे

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म

एमालेको आरोप- संकटमा सरकारको पहलकदमी कमजोर, जनताको जनजीवनमा ठोस उपलब्धि भएन

काठमाडौं– नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको