नयाँदिल्ली- भारत र रूसबीच एसयु-५७ लडाकु विमान खरिदसम्बन्धी सम्झौतामा आज सहमति हुन सक्ने भएको छ। ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन रूसी राष्ट्रपति भ्लादिमिर पुटिन नयाँदिल्ली पुगेका छन्।
पुटिनको विमान शुक्रबार बिहान करिब ३ बजे दिल्लीस्थित पालम एयर फोर्स स्टेसनमा अवतरण गरेको थियो। विदेश राज्यमन्त्री केभी सिंहले उनलाई विमानस्थलमा स्वागत गरेका थिए। गार्ड अफ अनरपछि पुटिनको टोली होटल आईटीसी मौर्यतर्फ गएको थियो।
पुटिनले शुक्रबार दिउँसो ३ः३० बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। भेटमा रूसले भारतमै एसयु-५७ लडाकु विमान उत्पादन गर्न तथा आवश्यक प्रविधि हस्तान्तरण गर्न गरेको प्रस्तावबारे छलफल हुने सम्भावना छ।
यसअघि सन् २०१६ मा गोवामा भएको ब्रिक्स शिखर सम्मेलनका क्रममा भारत र रूसबीच एस-४०० एयर डिफेन्स प्रणाली खरिदसम्बन्धी सम्झौतामा सहमति भएको थियो। यसपटक पनि पुटिनको भारत भ्रमणमा रक्षा सहकार्य प्रमुख विषय बन्ने अपेक्षा गरिएको छ।
पुटिनले शुक्रबार इरानका राष्ट्रपति मसुद पेजेस्कियनसँग पनि भेटवार्ता गर्नेछन्। दुई नेताबीच साँझ ६ः१५ बजे द्विपक्षीय बैठक हुने कार्यक्रम छ।
पुटिनभन्दा अघि भारत पुग्यो बख्तरबन्द कार
ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन आएका रूसी राष्ट्रपति पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङका सुरक्षा तथा सवारी साधनको टोली निकै ठूलो हुने बताइएको छ।
बिहीबार नोएडास्थित जेवर विमानस्थलमा रूसका तीन वटा ट्रान्सपोर्ट विमानमार्फत पुटिनको सुरक्षा टोली र ‘अरस सिनेट’ बख्तरबन्द लिमोजिन भारत ल्याइएको थियो।
पुटिनसँग भारत आउने ‘फ्लाइङ क्रेमलिन’ भनिने आईएल-९६-३००पीयू विमानलाई चलायमान राष्ट्रपति कमान्ड सेन्टरका रूपमा प्रयोग गरिन्छ। दिल्लीमा पुटिनको भित्री सुरक्षा रूसको संघीय सुरक्षा सेवा (एफएसओ) ले सम्हाल्नेछ भने बाहिरी सुरक्षा घेरा भारतीय सुरक्षा निकायले सम्हाल्नेछन्।
पुटिनका लागि उपलब्ध गराइने खानाको पनि छुट्टै सुरक्षा जाँच गरिनेछ। खानाका लागि रूसले आफ्नै शेफ प्रयोग गर्ने बताइएको छ।
यसअघि रूसको अर्को आईएल-९६ विशेष विमानमा रूसी कूटनीतिज्ञसहित दिल्ली आइपुगेको थियो। रूसी उपप्रधानमन्त्री डेनिस मान्टुरोभ पनि भारत पुगिसकेका छन्।












प्रतिक्रिया