जेरूसेलम- इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहले निर्माण गरेको २ किलोमिटरभन्दा लामो सुरुङ विस्फोट गराएर ध्वस्त पारेको छ। विस्फोटको आवाजका कारण आसपासको क्षेत्रमा ४.१ म्याग्निच्युडको भूकम्पजस्तै धक्का महसुस गरिएको बताइएको छ।
लेबनानको सरकारी समाचार एजेन्सीका अनुसार विस्फोटपछि आसपासका क्षेत्रमा जमिन हल्लिएको थियो। आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ‘मिसन पूरा भयो। ह्याप्पी न्यू इयर’ भनेका छन्।
इजरायली सेनाका अनुसार सुरुङभित्र इरानमा निर्मित विभिन्न रकेट, क्षेप्यास्त्र र ड्रोन राखिएका थिए। त्यहाँ मेसिन गन, ट्यांकविरोधी क्षेप्यास्त्र तथा सयौँ बारुदी सुरुङ र विस्फोटक पदार्थसमेत फेला परेको सेनाले जनाएको छ।
सेनाका अनुसार उक्त भूमिगत परिसरमा हिजबुल्लाहको ‘बद्र’ युनिटको कमान्ड सेन्टरसमेत रहेको थियो।
सुरुङ बनाउन २० वर्ष लागेको दाबी
नेतन्याहूका अनुसार उक्त सुरुङ सञ्जाल निर्माण गर्न करिब २० वर्ष लागेको थियो । यसको निर्माणका लागि इरानले आर्थिक सहयोग गरेको थियो। इजरायली रक्षामन्त्री इजरायल काट्जले यसलाई आतंकवादी सञ्जालको संज्ञा दिएका छन्।
उक्त सुरुङ लेबनानको अली अल–ताहेर पहाडी क्षेत्रमा रहेको बताइएको छ। इजरायलले उक्त क्षेत्रमा जमिनमाथि र जमिनमुनि दुवैतर्फ आफ्नो नियन्त्रण कायम भएको दाबी गरेको छ।
इजरायली सेनाका एक अधिकारीका अनुसार हिजबुल्लाहका कैयौँ लडाकु हवाई आक्रमणमा मारिएका छन् भने केही भाग्न सफल भएका छन्।
हिजबुल्लाहको ‘बद्र’ युनिट के हो ?
‘बद्र’ हिजबुल्लाहको दक्षिणी लेबनानमा सक्रिय महत्वपूर्ण सैन्य इकाइमध्ये एक हो। यो लितानी नदीको उत्तरतर्फको क्षेत्रमा सक्रिय रहेको बताइन्छ।
यस युनिटको नाम सन् ६२४ मा भएको बद्रको युद्धबाट राखिएको हो। उक्त युद्ध पैगम्बर मोहम्मदको नेतृत्वमा रहेको सेनासँग मक्काका कुरैशबीच भएको थियो।
लेबनानमा इजरायली आक्रमण तीव्र
इजरायलले पछिल्ला केही दिनमा दक्षिणी लेबनानमा पुनः आक्रमण तीव्र बनाएको छ। जुनमा इरान र अमेरिकाबीच भएको वार्तापछि इजरायल र लेबनानबीच सम्झौता भएपछि केही समयका लागि आक्रमण रोकिएको थियो।
एएफपीका अनुसार वार्ताका क्रममा अमेरिकाले अली अल–ताहेर पहाडी क्षेत्रको नियन्त्रण लेबनानी सेनालाई हस्तान्तरण गर्ने प्रस्ताव गरेको थियो। तर हिजबुल्लाहले उक्त प्रस्ताव अस्वीकार गरेको थियो।
लेबनानी अधिकारीहरूका अनुसार मार्चदेखि हालसम्म इजरायली आक्रमणमा ४ हजार ३०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ। इजरायली सेना दक्षिणी लेबनानमा कायम गरिएको सुरक्षा क्षेत्रमा अझै पनि उपस्थित रहेको बताइएको छ।
२००६ पछि हिजबुल्लाहले किन भूमिगत सञ्जाल बनायो?
सन् २००६ को इजरायल–हिजबुल्लाह युद्धका क्रममा इजरायली हवाई आक्रमणले हिजबुल्लाहका थुप्रै सैन्य संरचनालाई निशाना बनाएको थियो। त्यसपछि संगठनले जमिनमाथि रहेका कमान्ड सेन्टर, हतियार भण्डार र अन्य सैन्य संरचना सजिलै निशाना बन्न सक्ने निष्कर्ष निकाल्दै आफ्नो सैन्य संरचना सकेसम्म भूमिगत बनाउने रणनीति अपनाएको बताइन्छ।
सुरुङ र बंकरले हवाई निगरानी तथा आक्रमणबाट सैन्य संरचना लुकाउन मद्दत गर्छन्। त्यहाँ हतियार, गोलाबारुद र लडाकुलाई राख्न तथा कमान्डरहरूले त्यहीँबाट सैन्य गतिविधि सञ्चालन गर्न सक्छन्।
यी भूमिगत संरचना केवल इजरायलमाथि आक्रमणका लागि मात्र प्रयोग हुने होइनन्। हतियार लुकाउने, लडाकुको आवतजावत, कमान्ड प्रणाली सञ्चालन गर्ने तथा आक्रमणपछि पनि सैन्य क्षमता जोगाइराख्ने उद्देश्यले यस्ता सञ्जाल प्रयोग गर्न सकिन्छ।
इजरायली सेनाका लागि यस्ता सुरुङ पत्ता लगाउनु चुनौतीपूर्ण हुन्छ। जमिनमाथिका सैन्य संरचना ड्रोन र हवाई निगरानीबाट पहिचान गर्न तुलनात्मक रूपमा सजिलो भए पनि भूमिगत सुरुङको सम्पूर्ण सञ्जाल देखिँदैन। एउटा प्रवेशद्वारबाट विभिन्न बाटो र कोठाहरू जोडिएको हुन सक्ने भएकाले त्यसलाई पत्ता लगाएर पूर्ण रूपमा ध्वस्त पार्न कठिन हुन्छ।
इजरायलले सम्भावित सुरुङ पहिचान गर्न मानव स्रोत, सिग्नल इन्टेलिजेन्स, ड्रोन तथा अन्य निगरानी प्रविधिबाट प्राप्त सूचनाको प्रयोग गर्ने गरेको बताइएको छ। सम्भावित स्थान पहिचान भएपछि जमिनमा भेटिएका संकेत र प्राविधिक सूचनाका आधारमा सुरुङको प्रवेशद्वार तथा भूमिगत सञ्जाल पत्ता लगाउने प्रयास गरिन्छ।












प्रतिक्रिया