काठमाडौं – गोरखाको चुमनुव्री गाउँपालिकास्थित बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा ठूलो क्षति भएको छ । बाढीमा परी पाँच जना बेपत्ता भएको सूचना प्राप्त भएपछि खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले आइतबार सामाजिक सञ्जालमार्फत प्रभावित क्षेत्रमा राज्यका सबै संयन्त्र परिचालन गरिएको जानकारी दिएका छन् । प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन र क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालन गर्न आवश्यक कदम अघि बढाइएको उनले बताए ।
प्रधानमन्त्रीका अनुसार आइतबार बिहान लोक्पादेखि चुम्लिङबीचको क्षेत्रमा लेदोसहितको बाढी आएको थियो । बाढीले झोलुंगे तथा पक्की पुल, टेलिफोन टावर, बिजुलीका पोल, निर्माणाधीन बूढीगण्डकी हाइड्रोको क्याम्प क्षेत्र, निर्माण उपकरण र आसपासका घरहरू बगाएको छ ।
बाढी प्रभावित गोरखाको सल्लेरीस्थित निर्माणाधीन बूढीगण्डकी हाइड्रोका १२ कर्मचारीसहित ४८ जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ ।
प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ४३७ सुरक्षाकर्मी परिचालन गरिएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन् । उनका अनुसार नेपाली सेनाका १२७, नेपाल प्रहरीका १३३ र सशस्त्र प्रहरी बलका १७७ सुरक्षाकर्मी परिचालित छन् । उद्धार कार्यका लागि नेपाली सेनाका चारवटा हेलिकोप्टरसमेत प्रयोग गरिएको छ ।
बाढीको कारण पत्ता लगाउन भूगर्भविद्सहित तीन सदस्यीय टोली ड्रोनसहित परिचालन गरिएको छ । नेपाल प्रहरीको विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा थप ५० जनाको टोलीलाई परिचालनका लागि तयारी अवस्थामा राखिएको पनि प्रधानमन्त्रीले बताएका छन् ।
बाढीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी टोली खटिएको थियो । उक्त टोलीले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारेको थियो ।
प्रधानमन्त्रीका अनुसार प्रभावित क्षेत्रमा स्थल तथा हवाई मार्गबाट अत्यावश्यक राहत सामग्री ढुवानी भइरहेको छ । सडक सञ्चालन र बेलीब्रिज निर्माणको सम्भाव्यता अध्ययनका लागि सडक विभाग तथा स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशकसहितको टोली पनि खटिएको छ । बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको छ ।














प्रतिक्रिया