पोखरा- आन्तरिक राजस्व कार्यालय पोखरामा लक्ष्यभन्दा १३ प्रतिशत बढी रकम सङ्कलन भएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म कार्यालयले रु एक अर्ब ५१ करोड २७ लाख ७६ हजार राजस्व जम्मा गर्ने लक्ष्य थियो । उक्त अवधिमा लक्ष्यभन्दा बढी रु एक अर्ब ७१ करोड ५७ लाख ९८ हजार राजस्व जम्मा गर्न सफल भएको आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुङ्गानाले जानकारी दिए ।
सो रकम असोज मसान्तसम्मको लक्ष्यभन्दा रु २० करोड ३० लाख २२ हजार बढी अर्थात् ११३ प्रतिशत प्रगति हो । पोखरामा आयकरमा लक्ष्यभन्दा निकै राम्रो प्रगति हासिल भएको प्रमुख कर अधिकृत ढुङ्गानाले बताए । यस अवधिमा आयकरतर्फ रु ७९ करोड ४४ लाख ८३ हजार सङ्कलनको लक्ष्य राखिएकोमा रु एक अर्ब आठ करोड ८३ लाख २२ हजार जम्मा भएको उनले जानकारी दिए । घर वहालकर र ब्याज करमा भने असुली लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत ढुङ्गानाले बताए ।
रु एक करोड ८१ लाख ९१ हजार लक्ष्य रहेको घर वहालकरमा रु एक करोड ३१ लाख ३८ हजार (७२ प्रतिशत) जम्मा भएको छ । त्यस्तै ब्याजकरतर्फ रु नौ करोड ८८ लाख ८२ हजार उठाउने लक्ष्य राखिए पनि रु चार करोड ८७ लाख १५ हजार (४९ प्रतिशत) मात्र संकलन भएको उनले जानकारी दिए । मूल्य अभिवृद्धि कर (मूअकर)मा भने कार्यालयले असोजसम्मको लक्ष्य भेट्टाउन नसकेको प्रमुख कर अधिकृत ढुङ्गानाले जानकारी दिए ।
रु ५३ करोड ३२ लाख ९९ हजार मूअकर उठाउने लक्ष्य लिइएकोमा १५ प्रतिशत कम राजस्व संकलन भयो । अन्तःशुल्क र अन्य कर संकलनमा उल्लेखनीय प्रगति भएको प्रमुख कर अधिकृत ढुङ्गानाले जानकारी दिए । रु छ करोड १७ लाख ४५ हजार लक्ष्य रहेको अन्तःशुल्कतर्फ ४३ प्रतिशत बढी अर्थात् रु आठ करोड ८३ लाख २२ हजार संकलन भएको उनले बताए ।
अन्य करमा रु ६१ लाख ७६ हजार लक्ष्य तोकिएकामा रु दुई करोड ३७ लाख ६ हजार जम्मा भएको छ । नेपाल सरकारले उपलब्ध गराएका छुट सुविधा, करदाता प्रोत्साहन लगायत कार्यक्रमका कारण लक्ष्यभन्दा बढी राजस्व संकलन भएको प्रमुख कर अधिकृत ढुङ्गानाले बताए ।














प्रतिक्रिया