पटाका पड्काउँदा ऐतिहासिक सम्पदामा जोखिम हुनसक्ने « Khabarhub

पटाका पड्काउँदा ऐतिहासिक सम्पदामा जोखिम हुनसक्ने


२५ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

ख्वप (भक्तपुर)- विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरको टौमढीस्थित पाँचतल्ले मन्दिर परिसरमा पटाका पड्काउँदा ऐतिहासिक सम्पदा र मानव स्वास्थ्यमा जोखिम बढेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । न्हुदँया भिन्तुना र्‍याली (नयाँं वर्ष नेपाल सम्वत् ११४७ को शुभकामना र्‍यालीका) सहभागी तथा आन्तरिक पर्यटकले मङ्गलबार राति करिब ८ बजेदेखि मध्यरातिसम्म टौमढी क्षेत्रमा सयौँको सङ्ख्यामा पटाका पड्काएका थिए ।

पटाकाबाट निस्किएको आगोको झिल्कोले ऐतिहासिक मन्दिर तथा पुराना संरचनामा आगलागी हुनसक्ने जोखिमसमेत बढाएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका हुन् । सयौँ वर्ष पुराना काठका संरचना रहेको पाँचतल्ले मन्दिर परिसरमा यसरी खुला रूपमा बारुदजन्य पटाका पड्काउँदा मन्दिरमा आगालागि हुन सक्ने स्थानीयको भनाइ छ । स्थानीय केपी छुस्याकीले सामाजिक सञ्जाल फेसबुकमा पटका पडकाएको फोटो भाइरल भएपछि लेखेका छन्, ‘सांस्कृतिक चेतना र नागरिक जिम्मेवारी गुमाउँदा मानिसमा विवेक हराउने रहेछ ।’

उनले भव्य काठका संरचनाको बीचमा बारुदसँग खेल्नु सांस्कृतिक धरोहरमाथिको जोखिमपूर्ण व्यवहार भएको फेसबुकमार्फत उल्लेख गरेका छन् । त्यस्तै, अनिल पाउँले टौमढीमा पटाका पड्काउने व्यक्ति वा समूहको पहिचान गरी सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोका आधारमा सम्बन्धित निकायले कारबाही गर्नुपर्ने माग गरेका छन् । मङ्गलबार राति टौमढी क्षेत्रमा पटाका पड्काइएको घटनाको प्रत्यक्षदर्शी राससकर्मी त्यहाँ स्थलगत रिपोर्टिगमा पुग्दा पटाकाको ठूलो आवाज र धुवाँका कारण आसपासका सर्वसाधारणलाई सास्ती भएको थियो ।

पटाकाबाट निस्किएको धुवाँका कारण श्वास फेर्न कठिन भएको थियो । पटाका पड्काउने क्रममा रकेट पटाका माथि जान नसकी बच्चा बोकेकी एक महिलाको खास्टोमा अड्किएको घटनासमेत प्रत्यक्ष देखिएको थियो । समयमै ध्यान दिइएकाले सम्भावित आगलागी र दुर्घटना हुनबाट जोगिएको थियो । उक्त पटाका मन्दिरको पुरानो तथा मक्किएको काठमा परेको भए ठूलो क्षति हुनसक्ने अवस्था रहेको प्रत्यक्षदर्शीको भनाइ छ ।

घटनास्थलमा सुरक्षाकर्मीसमेत उपस्थित थिए । पटाका पड्काउन रोक्न आग्रह गर्दा एक सुरक्षाकर्मीले आफू सङ्ख्यामा कम र पटाका पड्काउने धेरै भएकाले नियन्त्रण गर्न कठिन भएको बताएका थिए । उनका अनुसार प्रहरीले दसैँदेखि नै पटाका नपड्काउन सार्वजनिक सूचना प्रवाह गर्दै आएको थियो । केही व्यक्तिलाई नियन्त्रणमा समेत लिएको छ ।

विश्वसम्पदा क्षेत्रमा पर्ने ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्नु राज्यको मात्र नभई नागरिकको पनि जिम्मेवारी हो । पर्व तथा उत्सव मनाउने नाममा अरूको स्वास्थ्य, सार्वजनिक सुरक्षा र ऐतिहासिक सम्पदालाई जोखिममा पार्ने गतिविधि रोक्न स्थानीय सरकार, प्रहरी प्रशासन, जनप्रतिनिधि तथा नागरिक सबै जिम्मेवार हुनुपर्ने स्थानीयको भनाइ छ । टौमढीका स्थानीयबासी सत्य शर्माले पटाकाको चर्को आवाज र धुवाँका कारण टौमढी तथा आसपासका स्थानीयवासी प्रभावित भएको बताए ।

राति अबेरसम्म निरन्तर पटाका पड्काइँदा स्थानीयवासीले सुत्न नपाएको उनले गुनासो गरे । चाडपर्व मनाउने नाममा गरिएको यस्तो गतिविधिले बालबालिका, ज्येष्ठ नागरिक तथा बिरामीलाई थप समस्या परेको स्थानीयको भनाइ छ । पटाकाको आवाजले शान्त वातावरणमा असर पुर्‍याउनुका साथै धुवाँले घरभित्रै बस्न असहज बनाएको थियो । पटाका पड्काउँदा निस्कने धुवाँमा सूक्ष्म कण (पीएम २.५), सल्फर डाइअक्साइड तथा विभिन्न धातुका कण हुन सक्छन् ।

यस्ता प्रदूषक श्वासप्रश्वास प्रणालीमा प्रवेश गर्दा आँखा, नाक र घाँटीमा जलन, खोकी, दम तथा अन्य श्वासप्रश्वाससम्बन्धी समस्या निम्त्याउन सक्छन् । बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा श्वासप्रश्वास र मुटुसम्बन्धी समस्या भएका व्यक्तिमा यसको असर बढी पर्न सक्छ । यसका साथै विश्व सम्पदा सूचिमा विश्वप्रसिद्ध पाँंचतल्ले मन्दिरका काठमा आगोको झिल्का परेर आगलागी भए त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्नले धेरैलाई गम्भीर बनाएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार सूक्ष्म कणसहितको वायु प्रदूषणको दीर्घकालीन सम्पर्कले फोक्सोको क्यान्सरलगायत गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ । पटाकाबाट निस्कने धुवाँमा रहेका केही विषाक्त पदार्थ तथा धातुका कणले पनि स्वास्थ्य जोखिम बढाउन सक्छन् ।

यद्यपि एकपटक पटाकाको धुवाँमा पर्दैमा क्यान्सर हुन्छ भन्ने होइन, जोखिम मुख्यतः प्रदूषणको मात्रा, सम्पर्कको अवधि र दोहोरिने अवस्थासँग सम्बन्धित हुन्छ । यस विषयमा आज हुने तिहारको अन्तिम दिन राति पनि यस्तै घटना नदोहोसिओस् भनेर सवैले अपेक्षा गरेका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०८३, बुधबार  ६ : ५० बजे

पटाका पड्काउँदा ऐतिहासिक सम्पदामा जोखिम हुनसक्ने

ख्वप (भक्तपुर)- विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरको टौमढीस्थित पाँचतल्ले मन्दिर परिसरमा

जर्मन सेनामा व्यापक यौन दुर्व्यवहार हुने गरेको खुलासा

बर्लिन- जर्मनीको सशस्त्र बलमा कार्यरत सैनिकहरूमाझ गरिएको एक सर्वेक्षणले सेनाभित्र

दुई पाङग्रे सवारीसाधन नियन्त्रणमा

काठमाडौँ- प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट स्वरूप परिवर्तन गरी ठूला आवाज

बालगोपालेश्वरको भाइटीका प्रभावित

काठमाडौँ- अकस्मातको वर्षाले काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वरको भाइटीका प्रभावित भएको छ

पोखरामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

पोखरा- आन्तरिक राजस्व कार्यालय पोखरामा लक्ष्यभन्दा १३ प्रतिशत बढी रकम