म्याग्दीको घतानमा सडक कालोपत्र « Khabarhub

म्याग्दीको घतानमा सडक कालोपत्र


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– बेनी नगरपालिका–९ घतानको वडा कार्यालय रहेको नेप्टेचौर जोड्ने सडक कालोपत्र भएको छ । पक्की सडक निर्माण भएपछि यात्राअवधि छोटिनुका साथै जीर्ण सडकमा जोखिम मोलेर सकसपूर्ण यात्रा गर्नुपर्ने समस्या हटेको छ ।

पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालित बेनी–पाखापानी सडक योजनामार्फत बेनी नगरपालिका–९ भुतादैलादेखि नेप्टेचौर खण्डमा कालोपत्र भएको हो ।

दुई किलोमिटर दूरीमा प्रिमिक्स प्रविधिको कालोपत्र गर्ने काम सम्पन्न भएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर डा. महेन्द्र बानियाँले बताए । कालोपत्र भएको सडकमा रङ लगाएर डिलतर्फ बार राख्ने र ट्राफिक सङ्केत चिह्नहरू राख्ने काम भइरहेको उनले बताए । गत मङ्सिर दोस्रो सातादेखि कालोपत्र गर्न थालिएको थियो ।

बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीका अनुसार २०५६ सालमा तत्कालीन जिल्ला विकास समितिले मार्ग खोलेको यो सडक २७ वर्षपछि कालोपत्र भएको हो । नेप्टेचौरका बासिन्दा फौदबहादुर चोखालले धुलो र हिलोबाट मुक्ति मिल्नुका साथै यात्रा अवधि छोटिएको, दुर्घटनाको जोखिम घटेको, झञ्झट र कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको बताए ।

यसअघि नेप्टेचौरदेखि बेनी पुग्न एक घण्टा लाग्ने गरेकोमा अहिले १५ मिनेटमा यात्राअवधि छोटिएको उनको भनाइ छ ।

सडक कालोपत्र भएपछि सार्वजनिक यातायात र ढुवानीको भाडा समायोजनका लागि नगरपालिकासँग उनले आग्रह गरे । बेनीदेखि भुतादैलासम्म करिब पाँच किलोमिटर सडक बेनी नगरपालिका र प्रदेश सरकारले यसअघि नै कालोपत्र र ढलान गरेका थिए ।

बेनी–पाखापानी सडक निर्माणका लागि २०८१ साल जेठमा पूर्वाधार विकास कार्यालय र मङ्गलादेवी–सुवास कन्ट्रक्सनबीच १० करोड १६ लाख एक हजार ३६४ मा ठेक्का सम्झौता भएको थियो । चालु आवसम्म ठेक्काको म्याद रहेको यस योजनाको करिब ८० प्रतिशत भौतिक प्रगति भएको कार्यालयले जनाएको छ ।

तीन दशमलव पाँच मिटर चौडा सडकलाई कम्तीमा सात मिटर फराकिलो बनाइएको छ । यसै आयोजनाअन्तर्गत नेप्टेचौर–तोरीपानी खण्डमा सडक फराकिलो पार्ने काम सकेर पर्खाल, नाली निर्माण, ढलान भइरहेको र ग्राभेलको तयारी गरेको निर्माण कम्पनीका सञ्चालक सुभाषचन्द्र कार्कीले बताए ।

निर्धारित समयभित्रनै योजना सम्पन्न गर्ने बताउँदै उनले बजेट अभावका कारण समस्या भएको गुनासो गरे । उक्त योजनाका लागि प्रदेश सरकारले आव २०८०–८१ मा चार करोड बजेट विनियोजन र २० करोडको स्रोत सुनिश्चितता गरेको थियो । (रासस)

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ११ : १० बजे

पार्टीबाट दुई पटक प्रधानमन्त्री र तीन पटक भन्दा बढी मन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले

नागरिक असन्तुष्टि केलाएर नयाँ सङ्कल्पका साथ अघि बढ्नेछौँ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नागरिक

पार्टी सभापतिलाई बन्द सत्र सम्बोधन गर्न नेताहरूको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्ला मन्सुरले पार्टीको चालु विशेष अधिवेशनको

महाधिवेशनले चाहे नीति र नेता दुबै पनि फेर्छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशनले चाहेमा नेता र