म्याग्दीको घतानमा सडक कालोपत्र « Khabarhub

म्याग्दीको घतानमा सडक कालोपत्र


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– बेनी नगरपालिका–९ घतानको वडा कार्यालय रहेको नेप्टेचौर जोड्ने सडक कालोपत्र भएको छ । पक्की सडक निर्माण भएपछि यात्राअवधि छोटिनुका साथै जीर्ण सडकमा जोखिम मोलेर सकसपूर्ण यात्रा गर्नुपर्ने समस्या हटेको छ ।

पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालित बेनी–पाखापानी सडक योजनामार्फत बेनी नगरपालिका–९ भुतादैलादेखि नेप्टेचौर खण्डमा कालोपत्र भएको हो ।

दुई किलोमिटर दूरीमा प्रिमिक्स प्रविधिको कालोपत्र गर्ने काम सम्पन्न भएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर डा. महेन्द्र बानियाँले बताए । कालोपत्र भएको सडकमा रङ लगाएर डिलतर्फ बार राख्ने र ट्राफिक सङ्केत चिह्नहरू राख्ने काम भइरहेको उनले बताए । गत मङ्सिर दोस्रो सातादेखि कालोपत्र गर्न थालिएको थियो ।

बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीका अनुसार २०५६ सालमा तत्कालीन जिल्ला विकास समितिले मार्ग खोलेको यो सडक २७ वर्षपछि कालोपत्र भएको हो । नेप्टेचौरका बासिन्दा फौदबहादुर चोखालले धुलो र हिलोबाट मुक्ति मिल्नुका साथै यात्रा अवधि छोटिएको, दुर्घटनाको जोखिम घटेको, झञ्झट र कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको बताए ।

यसअघि नेप्टेचौरदेखि बेनी पुग्न एक घण्टा लाग्ने गरेकोमा अहिले १५ मिनेटमा यात्राअवधि छोटिएको उनको भनाइ छ ।

सडक कालोपत्र भएपछि सार्वजनिक यातायात र ढुवानीको भाडा समायोजनका लागि नगरपालिकासँग उनले आग्रह गरे । बेनीदेखि भुतादैलासम्म करिब पाँच किलोमिटर सडक बेनी नगरपालिका र प्रदेश सरकारले यसअघि नै कालोपत्र र ढलान गरेका थिए ।

बेनी–पाखापानी सडक निर्माणका लागि २०८१ साल जेठमा पूर्वाधार विकास कार्यालय र मङ्गलादेवी–सुवास कन्ट्रक्सनबीच १० करोड १६ लाख एक हजार ३६४ मा ठेक्का सम्झौता भएको थियो । चालु आवसम्म ठेक्काको म्याद रहेको यस योजनाको करिब ८० प्रतिशत भौतिक प्रगति भएको कार्यालयले जनाएको छ ।

तीन दशमलव पाँच मिटर चौडा सडकलाई कम्तीमा सात मिटर फराकिलो बनाइएको छ । यसै आयोजनाअन्तर्गत नेप्टेचौर–तोरीपानी खण्डमा सडक फराकिलो पार्ने काम सकेर पर्खाल, नाली निर्माण, ढलान भइरहेको र ग्राभेलको तयारी गरेको निर्माण कम्पनीका सञ्चालक सुभाषचन्द्र कार्कीले बताए ।

निर्धारित समयभित्रनै योजना सम्पन्न गर्ने बताउँदै उनले बजेट अभावका कारण समस्या भएको गुनासो गरे । उक्त योजनाका लागि प्रदेश सरकारले आव २०८०–८१ मा चार करोड बजेट विनियोजन र २० करोडको स्रोत सुनिश्चितता गरेको थियो । (रासस)

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ११ : १० बजे

एमएडब्लू अर्थमुभर्स ‘डिलर अफ द इयर-साउथ एसिया रिजन’ अवार्डबाट चौथो पटक सम्मानित

काठमाडौं– नेपालमा जेसीबीका कन्स्ट्रक्सन तथा हेभी इक्विपमेन्टकोआधिकारिक वितरक एमएडब्लू अर्थमुभर्स प्रालिले

पुटिनले तेस्रो विश्वयुद्ध सुरु गरिसक्नुभयो : जेलेन्स्की

एजेन्सी– रुसले युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेको चार वर्ष पुग्नै

सीजी इलेक्ट्रोनिक्सद्वारा राष्ट्रिय स्तरको प्रमोटर मिट काठमाडौंमा सम्पन्न

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सअन्तर्गत रहेका एलजी, सीजी, माइडिया, टीसीएल, गोदरेज, क्रम्प्टन, बेको,

महानगर र उपमहानगरमा घरजग्गा कारोबार गर्न ३६ कम्पनीले पाए अनुमति, फागुन २५ देखि अनिवार्य

काठमाडौं– महानगर र उपमहानगरभित्र घरजग्गा कारोबार गर्नका लागि ३६ वटा

आफ्ना नागरिकलाई इरान छोड्न भारतको आग्रह

नयाँदिल्ली– तेहरानमा सम्भावित अमेरिकी सैन्य कारबाहीको आशंकाबीच भारत सरकारले आफ्ना