जेन-जी सहिदकी दिदी भन्छिन्- मेरो भाइको नाममा सालिक बनाइयोस् « Khabarhub

जेन-जी सहिदकी दिदी भन्छिन्- मेरो भाइको नाममा सालिक बनाइयोस्


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वीया थारु समुदायको महान् पर्व जितिया नजिकिँदै थियो । भदौ २४ गते करिब ११ बजेतिर सुशीला चौधरीलाई भाइ विजयले कल गरे । हालखबर सोध्दै जितिया मनाउन र काठमाडौँ घुम्न आउनु भनेर प्रस्ताव गरे । सुशीलाले जेन-जी आन्दोलन शान्त भएको केही दिनपछि जाने सोच गरेकी थिइन् । फोनमै सुशीलाले विजयलाई आन्दोलनमा नजान र घरमै बस्न आग्रह गरेकी थिइन्  । 

तर दिदीभाइ कुरा भएको केही घण्टापछि अप्रिय खबर सुन्न थालियो । भाइ बुहारी (विजयकी श्रीमती) को आत्तिएको स्वरमा फोन आयो, ‘दिदी विजयलाई कल गर्दा अर्कै मान्छेले फोन उठाइरहेको छ । उसलाई गोली लागेर सिभिल अस्पताल लगेको छ रे । के गर्ने ?’ विजयलाई छातीमा गोली लागेको थियो । विजय नयाँ बानेश्वरस्थित संसद् भवनको पछाडि रहेको बेला उनीमाथि गोली प्रहार भएको थियो । 

हेटौँडामा बस्दै आएकी सुशीला सोही दिन जानसक्ने अवस्था थिएन । उनी भोलिपल्ट विजयका साथीसँग सिभिल अस्पतालमा भाइको खोजीका लागि गइन् । सबै वार्ड हेर्दा पनि विजय भेटिएनन् । कसैले एकपटक त्रिवि शिक्षण अस्पताल जानु भनेर भन्यो । सुशीलाले भोलिपल्ट भाइको शव देखिन्  ।

सुशीला भावुक हुँदै भन्छिन्, ‘घरको सबै जिम्मेवारीको उसले लिएको थियो । जेठो भाइलाई पनि पढाएको थियो । घरको एक्लो खम्बा ढल्यो । ऋण लिएर भाइले घर बनाएको थियो । मेरो बिहेमा पनि उसले आर्थिक सहयोग गरेको थियो ।’

सिरहा लहान नगरपालिका–१५ का २६ वर्षीय विजय हरिप्रसाद र जलेश्वरीका कान्छा छोरा हुन् । काठमाडौँको जडीबुटी बस्ने विजय विगत १० वर्षदेखि इलेक्ट्रिसयनका रूपमा काम गर्दै घरको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आएका थिए  । सामान्य किसान परिवारमा जन्मिएका विजयले घरपरिवार हेर्न भनेर नै ‘प्लस टु’ पछि पढाइ छोड्नु परेको थियो । आफूले नपढे पनि दाइलाई पढाउँछु भनेर घरको रेखदेखसँगै दाइ अजयलाई उनले इञ्जिनियरिङ पढाउन सहयोग गरेका थिए ।

विजय बितेपछि चौधरी परिवार शोकमा डुबेको छ । परिवारले अब गर्ने भनेर सोच्न सकेका छैन । इञ्जिनियिरिङको पढाइ सकेर बसेका विजयका दाइ अजय  कामको खोजीमा छन् ।

गाउँले र अन्य चिनेजानेकाले अजय र विजयलाई सँगै देख्दा यही भन्थे– अनुहार पनि उस्तै । आहा कस्तो मिलेका दाजुभाइ । ठ्याक्कै राम लक्ष्मणजस्तो । मीठो बोली व्यवहार ।

हुन पनि वियज परिवारप्रति व्यावहारिक र जिम्मेवार थिए । त्यसैले उहाँ सबैको प्यारो थिए । आमाबुवाको आँखामा उनी हिरा थिए । अहिले कसैले भाइको बारेमा सोध्दा बोल्न गाह्रो हुन्छ अजयलाई । मनमा गाँठो पर्छ ।

अजय भावविह्ल हुँदै भन्छन्, ‘उसको कुरा गर्दा पनि आँसु आउन खोज्छ । म कहिल्यै नरुने मान्छे । उसको मृत्युले मलाई धेरै रुवाएको छ । ऊ हुँदा केही कुराको पनि तनाव हुँदैन थियो । ऊ नभएपछि घरको सहारा नै टुटेको छ ।’

अजय मानिसलाई पुर्नजीवन गराउने कुनै मेसिन भएको भए भाइलाई फेरि जीवित भएको देख्न पाए हुन्थ्यो भनेर कल्पिन्छन् । ‘मेरो भाइ सीपयुक्त थियो । राम्रो कमाउँथ्यो । घरको सबै जिम्मेवारी लिएको थियो । मलाई पढाएको थियो । मैले जति अरु कसले गुमायो होला र ?’ उनी बोल्दा बोल्दै रोकिए ।

विजयका आफन्त दाइ अमित चौधरी विजयलाई इमान्दार व्यक्तिका रूपमा सम्झिन्छन् । अमित भन्छन्, ‘देशको बलिदानका लागि लडेको थियो । सरकारले प्रतिबद्धता गरेको सबै चिज प्राप्त गरोस् उसको परिवारले ।’

विजयका बुवा दमको रोगी छन् । आमाको स्वास्थ्य अवस्था पनि त्यति सन्तोषजनक छैन । घरको एक्लो सहारा रहेका विजय नभएपछि उनको तीन वर्षको छोरीको भविष्य अन्योल छ । विजयकी दिदी सुशीला सरकारले बुहारीलाई रोजगारी दिनुपर्ने र छोरीको उच्च शिक्षासँगै स्वास्थ्य बिमाको पनि सुनिश्चितता गर्दिनुपर्ने बताउछिन् ।   

जेन-जी आन्दोलनमा सहादत प्राप्त गरेका विजय अब सम्झनामा मात्र छन् । ‘सबै कुरा उसैले त हेरेको थियो । ऊ फर्केर आउँदैन थाहा छ । कम्तीमा उसको मृत्यु भएको ठाउँमा सरकारले सालिक बनाइदियोस्’, दिदी सुशीला भन्छिन् ।  रासस

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ३ : ०६ बजे

पुरानो नियुक्ति खाएकालाई चन्द्र भण्डारीको सुझाव- अब लामो सास नफेर

काठमाडौँ – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नयाँ सरकार आएसँगै

रविको अभियोग फिर्ता लिने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति

फिल्म मेकरमा साइत कुर्ने दीर्घरोग : नाच्न नजान्ने, आँगन टेढो !

काठमाडौं – नेपालमा ‘फेमिली अडिएन्स’ लक्षित गरी बनाइएका फिल्महरू ब्लकब्लस्टर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक

आज विश्व क्षयरोगविरुद्धको दिवस, जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ– विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा