काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट महाधिवेशन प्रतिनिधि, कार्यकर्ता तथा शुभचिन्तकको बाक्लो उपस्थिति थियो । महाधिवेशनमा विपक्षी संस्थापन पक्षका उल्लेख्य नेताहरु सहभागी थिए । सभापति शेरबहादुर देउवा सचिवालयले विशेष महाधिवेशनको निम्तो ठाडै अस्वीकार गरेको थियो ।
महाधिवेशनलाई लिएर दुईधार बनेको कांग्रेस फुट्छ कि भन्नेमा नेता, कार्यकर्तामा संशय उत्पन्न भएको छ । तर कांग्रेसको कान्छो पुस्ताले महामन्त्रीद्वयको प्रतिबद्धतामाथि भर गरेका छन् । विशेष महाधिवेशनको लागि भृकुटीमण्डपमा आएका कांग्रेसका कान्छोपुस्ताले खबरहबसँग कांग्रेस अब नयाँ नीतिसहित चुनावमा होमिने बताए । उनीहरुको भनाइ थियो– अबको कांग्रेस परिक्रमाले नभएर पराक्रमले चल्नेछ ।
‘संस्थापनलाई विशेष महाधिवेशन लत्याउने अधिकार छैन’
रघु कार्की, महासमिति सदस्य
कांग्रेस जुट्छ । तर लोकतन्त्रमा आन्तरिक संघर्ष नहुने भन्ने हुँदैन । यो विधि र विधानको पक्षमा छ । संस्थापनले त्यो लत्याउन मिल्दैन । यो देशभरका कार्यकर्तादेखि जनतासमेतको चाहना हो । कांग्रेसलाई विधानसम्बत अगाडि बढाउनुपर्छ । त्यसको लागि ५४ प्रतिशतले हस्ताक्षरसमेत बुझाएका छन् । तर संस्थापन पक्षले अन्यथा गर्यो । विभिन्न बहानामा टार्ने काम गर्यो ।
न नियमित महाधिवेशन गर्यो विशेष महाधिवेशनको लागि अग्रसरता देखायो । देशभरबाट महाधिवेशन प्रतिनिधिहरुले स्वतस्फूर्त रुपमा महाधिवेशन गर्नुपर्ने बाध्यता आइलागेको हो । विशेष महाधिवेशनको पक्षमा बहुमत भएकाले कारवाहीसम्भव छैन । बौद्धिक वर्ग र आम जनतासमेत पक्षमा छन् । कारवाही गर्नुहुने छैन । कारवाही गर्ने अवस्था छैन । समग्र कांग्रेस विशेष महाधिवेशनको पक्षमा छन् ।
महाधिवेशन पछाडि कांग्रेस एक ढिक्का भएर जान्छ । कांग्रेसमा नयाँ तरङ्ग आउँछ । जबरजस्त नेतृत्वका लागि कांग्रेस नीति नै परिवर्तन गरेर आउँछ ।
‘जेन–जी मनोभावनासहित कांग्रेस नयाँ समीकरणमा जान्छ’
जितु थापा, सभापति– मध्यविन्दु नगर कार्यसमिति
सभापतिले निम्तो अस्वीकार गर्नुभएको सत्य हो । तर कांग्रेस फुट्दैन यो पनि सत्य हो । महामन्त्रीद्वयले पार्टी फुट्न नदिने प्रतिबद्धता पनि जनाइसक्नुभएको छ । गगन दाइले पार्टी फुट्ने स्थिति आए पछि हट्ने बताउनुभएको छ भने विश्वप्रकाशले पनि फुट्ने स्थिति आएमा हलबाट आफू सबैभन्दा पहिले बाहिने बताउनुभएको छ । हामी उहाँहरुको बचनप्रति विश्वस्त छौं ।
आज नआए पनि भोलिसम्म सभापति शेरबहादुर देउवालगायत उहाँ निकटका नेताहरु आउनुहुन्छ । उहाँहरुले एकताको सन्देश दिनुहुन्छ भन्ने आशा छ । सिङ्गो कांग्रेस एक छ भनेर उहाँहरु आउनुहुन्छ । केही दिन अगाडि वडातहसम्म कारवाही फुकुवा गरिएको हो । घर फर्क अभियान गरिएको धेरै भएको छैन ।
५० जिल्ला सभापति, प्रदेश कार्यसमिति र क्षेत्रीय सभापति, नगरसभापति, महाधिवेशन प्रतिनिधिहरु हुनुहन्छ । गगन थापालाई कारवाही गर्नु भनेको उहाँहरु सबैलाई कारवाही गर्नु हो । तर कांग्रेस लोकतान्त्रिक पद्धतिमा हिँड्ने पार्टी हो । कारवाही गर्ने भन्ने कुरा अफवाह मात्रै हो । त्यो सम्भव छैन ।
जेन–जी आन्दोलनले जुन परिवर्तनको लागि अभियान चलाएको थियो । कांग्रेस अब उक्त युवाहरुको जनभावना बोकेर चुनावमा जान्छ । महामन्त्रीद्वयले उक्त अभियान आत्मसात गरेर अगाडि बढ्नुभएको छ । त्यसमा सबै कांग्रेस एक ढिक्का भएर जानुपर्छ।
‘लथालिङ्ग कांग्रेस चुनावमा जानु हुँदैन’
भूपी ऐर, स्ववियु सभापति पद्मकन्या
सभापति सचिवालयले निमन्त्रणा अस्वीकार गरेर विशेष महाधिवेशनमा नरहेको स्पष्ट भयो । उहाँहरुले अस्वीकार गर्नु भनेको सत्ताको मोह हो । भरसक नियमित महाधिवेशन होस् भन्नेमा हामी हो । महामन्त्रीद्वयले चार महिना अगाडिबाट महाधिवेशनको लागि झक्झक्याइ रहनुभएको हो । केन्द्रीय कमिटीको विवादै विवाद भयो । सारेको सारै गरेर एकादेशको कथा बनाउनु भएर नै विशेष महाधिवेशन गर्नुपर्ने बाध्यता आइलाग्यो ।
फागुन २१ चुनावमा जाँदै गर्दा कांग्रेस आफै लथालिङ्ग अवस्थामा कसरी जान्छ ? अरु पार्टी, नयाँ शक्तिहरु विकसित भएर आउनुभएको छ । कांग्रसेमा को कहाँ ? को कता उभिने ? कसरी जाने ? भन्नेमा अन्यौलमा छ । पार्टीलाई निकास दिनको लागि भोलि एक असल नेतृत्व चयनको लागि विशेष अधिवेशन अपरिहार्य थियो र छ ।
विधिविधान अनुसार भएको विशेष महाधिवेशनलाई कसले कसरी कारवाही गर्छ ? के आधारले कारवाही गर्छ ? यो भीडले असल नेतृत्व चयन गर्छ भन्ने आशामा छांै । कांग्रेसलाई मात्रै होइन देशले निकास पाउने बाटोमा लैजान्छ । आउँदो चुनावमा कांग्रेसले जेन–जीका भावना समेटेर जानेछ ।
‘समानुपातिकबाट मन्त्री बन्ने अभ्यास सच्याउनुपर्छ’
सञ्जय चौधरी, नेता नेविसंघ
कांग्रेस फुट्न नदिन हामी सचेत छौं । नेपालको सबैभन्दा पुरानो र लोकतन्त्र पार्टी हो । पार्टी सुधार गर्दै शीर्ष नेतृत्वलाई झक्झक्याउनको लागि विशेष महाधिवेशन आवश्यकता पर्याे । गतल बाटोबाट जान रोक्ने प्रयास हो । देश र जनताप्रति जवाफदेही भएर जान सक्ने वातावरण बनाउनुपर्याे ।
जनताको काम गर्ने नेतालाई टिकट नदिने हुँदै आएको छ । चाप्लुसीको भरमा टिकट दिने अभ्यास गलत छ । जनताको माझ कहिले नजाने सभापतिको फेरो समाएर नेता हुने प्रवृत्ति विरुद्ध हो । गगन–विश्व नेपाली कांग्रेस बिग्रियोस् भनेर लाग्नुभएको होइन । महाधिवेशन प्रतिनिधिले नै बोलाएको अधिवेशन हो ।
विधानमै ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेमा तीन महिनाभित्र महाधिवेशन गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ । त्यसमा पनि ५४ प्रतिशतले हस्ताक्षर गरेका छन् । चुनाव हार्छु भनेर समानुपातिकमा बस्ने, त्यसपछि राष्ट्रियसभामा जाने यस्तो अभ्यास बन्द हुनुपर्छ । समानुपातिकबाट गएर मन्त्री बन्ने प्रवृत्ति गलत छ । चुनाव हारेको व्यक्तिलाई समेत पार्टीको प्रवक्ता बनाइदिएको छ । यी यावत विषय रुपान्तरण हुँदै कांग्रेस अगाडि बढ्छ ।
‘चुनावमा भोट माग्न पनि महाधिवेशन गर्नुपर्छ’
हिरामणि खनाल, नेता लोकतान्त्रिक अपाङ्गता संघ
कांग्रेस फुटेको होइन, अब जुटेको हो । विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्वसहित पुनर्ताजकीपन दिन खोजिएको हो । नयाँमा युवाहरुको जोश जाँगर जोडिएको छ । युवाहरुको आशा भरोसा जोडिएको छ । एमाले महाधिवेशन गरेर आयो । हामी सबै नियमित महाधिवेशनकै पक्षमा थियौं । महाधिवेशन गर्न नसकेर विशेष महाधिवेशनमा आएका हौँ ।
महाविधेशन नगरी चुनावमा गएर भोट माग्ने कसरी ? आधार चाहिएन ? सच्चा कांग्रेका कार्यकर्ता हौं भनेर हिँड्न सकिने अवस्था छैन । त्यसकारण अब महाधिवेशनबाट नयाँ कांग्रेस आउँछ । ५४ प्रतिशत साथ भएकोले गगन थापालाई कारवाही गर्न सकिदैन । नयाँ सोचका साथ कांग्रेस चुनावमा जान्छ ।
‘गगन–विश्वको अनुहार लिएर चुनावमा जानुपर्छ’
विगजङ क्षेत्री, सदस्य नेविसंघ
प्रक्रिया नियमित महाधिवेशनकै हो । नियमित नभएपछि विधान अनुसार दुवै महामन्त्रीले विशेषको लागि आह्वान गर्नुभएको हो । महाधिवेशन पक्षधरको संख्या धेरै भएपछि अब सानो कुुरामा अल्झिएर नियमितमै जाउँ भन्नुको तात्पर्य छैन ।
महाधिवेशन प्रतिनिधिको बहुमतले विशेषको लागि पहल गरेपछि महामन्त्रीहरु अधिवेशन गर्नैपर्ने बाध्यात्मक परिस्थितिमा पुग्नुभएको हो । विशषेमा अन्य पदाधिकारी हुँदैनन् । यो ६ महिना होला त्यसपछि ६ महिना थप्ला ।
एक वर्षपछि फेरि नियमित गर्नुपर्ने हुन्छ । त्यसको लागि युवाहरुको जोड के हो भने अब निर्वाचनमा जाँदा शीर्ष वा वृद्ध नेताहरु नभएर युवा जानुपर्छ भन्ने हो । अब शेरबहादुर भन्दा गगन–विश्वको अनुहार लिएर निर्वाचनमा जाँदा कांग्रेसलाई फाइदाँ पुग्छ ।
महाधिवेशनमार्फत महामन्त्रीद्धय मध्ये सभापति भए । कसले कसलाई कारवाही गर्छ ? आधिकारिक को हुन्छ अब ? त्यसमाथि सभापति पुर्णबहादुर खड्कालाई कार्यवाहक दिएर सेफसाइडमा बस्नुभएको छ । महाधिवेशनपश्चात् लगत्तै चुनाव छ । त्यसको तयारीमा एक ढिक्का भएर कांग्रेस बलियो बनेर जानुपर्छ ।
‘गगन ब्राण्ड हो’
कविता गौतम, नेविसंघ सहसचिव
कांग्रेस यस्ता विषयमा टुट्ने फुट्ने पार्टी होइन । ठुलो पार्टी हो । प्रजातन्त्र, लोकतन्त्रको लागि लड्दै संघर्ष गर्दे आएको पार्टी हो । यस पार्टीमा फरक विचारलाई पनि स्थान दिइन्छ । गगन थापा कांग्रेसले मात्रै रुचाएको नेता होइन । उहाँ सारा नेपालीको आशा भरोशाको केन्द्र हो । यो देशको निकासको लागि जनताहरुले गगनलाई अपिल गरिरहेका छन् ।
बुढालाई व्यवस्थापन र युवालाई पुस्तान्तरण गर्न सक्ने खुबी उहाँसँग छ । जेन–जीसँग सहकार्य गरेर काम गर्न सक्नुहुन्छ । गगन थापा नेपाली कांग्रेसको ब्राण्ड हो । धरोहर हो । गगन जस्तो भिजनकारी व्यक्तिले नेतृत्व लिनुपर्छ । उहाँलाई रोक्दा पार्टीलाई मात्रै होइन, देशमा अस्थिरता आउन सक्छ । हालको अवस्थामा देशको नेतृत्वमा गगन आउनुपर्छ ।













प्रतिक्रिया