बाघ निकम्मा भएपछि राजनीतिमा वनबिरालाको चुरीफुरी ! « Khabarhub

बाघ निकम्मा भएपछि राजनीतिमा वनबिरालाको चुरीफुरी !



छातीमा वाण लागेपछि मृत्यु शैय्यामा रहेका बाली श्रीरामको मर्यादामाथि प्रश्न उठाउँदै भन्छन्– ‘तपाईं बडो धर्मात्मा भन्ने सुनेको थिएँ । आज मलाई लुकेर मार्नुभयो । त्यसले तपाईंको यश र प्रतिष्ठा नष्ट भएको देख्दछु । सीताका निम्ति तपाईंले जन पाप कर्म गर्नुभयो, त्यो तपाईंको अविचारको फल हो । तपाईंकी प्रियालाई सहजै म रावणबाट मुक्ति गरेर ल्याएर समर्पण गर्ने थिएँ । रावणलाई समेत म बाँधेर ल्याएर अघिल्तिर हाजिर गर्ने थिएँ । त्यति सानो कामका लागि तपाईंले क्षेत्रीय धर्म छोड्नु अनुचित हो । जे भयो, म त मर्दछु । तर यो कलंक सर्वदाका लागि तपाईंको निधारमा लेखिने भयो । यसैमा मलाई अत्यन्त खेद छ ।’

रामायण त्यस्तो ग्रन्थ हो, जसले भाइबन्धु मिल्दा अजेय शक्ति र सामथ्र्य प्राप्त हुने सन्देश दिन्छ । जहाँ एउटा बाँदरले सर्वशक्तिमान राजासँग प्रश्न गर्ने साहस गरेको छ । युद्ध नियमका बारेमा उसले राजालाई सचेत गराएको छ ।

राम–लक्ष्मण मात्र होइन, पन्छीराज जटायु–सम्पाति, नल–निल दाजुभाइको प्रेमको अद्भूत नमूना छ । दाजुभाइ नमिल्दा रावण र बालीजस्ता शक्तिशाली शासकको अप्रत्याशित अन्त्य ग्रन्थको अर्को पाटो हो । चुनाव घर आँगनमा आइरहँदा हामी त्यो पावन भूमिका बासिन्दा हौं, जहाँ सीताको विवाह लोकतन्त्र आधारभूत मान्यता पूरा गरेर भएको थियो भन्ने सत्य भुल्न हुँदैन । धनु उठाउने वीर युवालाई आफ्नी छोरी सुम्पिने मिथिला नरेश जनकको सर्त पूरा गरेपछि श्रीरामले सीतासँग घरजम गर्ने मौका पाएका थिए । यसैबाट स्पष्ट हुन्छ–लोकमत हाम्रो संस्कार हो ।

एउटा र्‍यापर बालेन प्रधानमन्त्रीको दाबेदार हुँदै केपी ओलीको सातो टिप्ने गरी चुनावी मैदानमा कसरी आयो ? टेलिभिजनमा बोलेर ताउलोमा जाउलो जुराउने रवि लामिछाने पटक पटक जेल पुगेर फर्कंदा थप तागतिलो कसरी भयो ?

एउटा र्‍यापर बालेन प्रधानमन्त्रीको दाबेदार हुँदै केपी ओलीको सातो टिप्ने गरी चुनावी मैदानमा कसरी आयो ? टेलिभिजनमा बोलेर ताउलोमा जाउलो जुराउने रवि लामिछाने पटक पटक जेल पुगेर फर्कंदा थप तागतिलो कसरी भयो ? सभ्य नागरिकले मतदानमार्फत नगरपिताको उच्च मेनेजर पदमा पुर्‍याएको जंगली बोलीका महारथी हर्क साम्पाङ देशकै कार्यकारी पद आँक्ने कसरी भए ? तीनपुस्ताले नै नरुचाउने केपी ओलीलाई निर्विकल्प प्रधानमन्त्री तोक्नैपर्ने बाध्यकारी अवस्थामा एमाले कसरी पुग्यो ? तीन करोड नागरिकको व्यवस्थापकीय जिम्मेवारी बोकेको कार्यकारी पद चौताराको मादल किन बन्दैछ ? के राजनीति अरु ठाउँमा रहर पुर्‍याएका गतिला, अगतिलाहरुको विश्रामस्थल हो ? यसको उत्तर स्पष्ट छ- राजनीतिका सिंहहरु नालायक भएपछि वनविरालाको चुरीफुरी बेपत्तासँग बढेको छ ।

देश बर्बाद भयो भन्ने आममानिसका मथिंगलमा पुरर्‍याइएको सन्देशमै खोट छ । देश बिग्रिन त नागरिकतहमा अविश्वास र बेमेल हुनुपर्छ । छिमेकीले छिमेकीमाथि दागा धर्नुपर्छ । देशका संरचना मक्किनु पर्छ । नेपाली समाज सलादजस्तै सहअस्तित्वमा बाँचेको छ । एकै चुलोका तीनपुस्ता भोटमा तीनतिर बाँडिदा पनि हार्दिकतामा कमी आएको छैन । चुकेका ती राजनीतिक दलका नेतृत्व हुन, जसले समाजको त्यो सलाद घोलेर नेपाली समाजमा सहिष्णुताको मिठो सुप स्थापित गर्न सकेनन् ।

अहिले मुलुकको समस्या समन्वय हो । नेपाली समाजको इन्जिन सकुशल छ । असन्तुलित बनेका केही तन्तुको प्राथमिक उपचार हुनासाथ गाडी अगाडि बढ्नेमा दुईमत छैन । एउटा असल नियत भएको निपूर्ण चालकले एक गियर चेन्ज गर्ने हो भने नेपालीको भाग्य भविष्य खोज्न अन्त भौंतारिन पर्दैन । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको अग्राखजस्तो संरचना छ । बुलेट छोडेर ब्यालेटप्रति सम्मान दर्शाउने नागरिक चरित्र छ । यही संकल्प नै लोकतान्त्रिक शासन व्यवस्था टिकाउने सर्वाधिक शक्तिशाली पूँजी हो ।

नेपाली समाज सलादजस्तै सहअस्तित्वमा बाँचेको छ । एकै चुलोका तीनपुस्ता भोटमा तीनतिर बाँडिदा पनि हार्दिकतामा कमी आएको छैन । चुकेका ती राजनीतिक दलका नेतृत्व हुन, जसले समाजको त्यो सलाद घोलेर नेपाली समाजमा सहिष्णुताको मिठो सुप स्थापित गर्न सकेनन् ।

यो देशमा नियम कानुन सबै चुस्त दुरुस्त छन् । शिक्षा, स्वास्थ्यका पूर्वाधार शिरदेखि तीरसम्म पुगेकै छ । सत्ता र शक्तिमा व्यभिचार गर्नेलाई पाता कस्ने अख्तियार जस्तो सबल निकाय छ । रेमिट्यान्स उच्च छ । डलरको जोहो अभूतपूर्व छ । जनतालाई घरदैलोमा सेवा दिने सरकारी एजेन्सी छन् ।

स्थानीय निकाय प्रतिनिधिले भर्खर उम्रेका बच्चाका लागि भोटो, खुम्रेका बाआमाकालाई सामाजिक भत्ता घरदैलोमा पुर्‍याएकै छन् । यो देख्दादेख्दै उत्तरदायित्व लिन नपर्ने तर सामाजिक सञ्जालमा हिरो हुनुपर्ने रोगबाट ग्रस्त कथित बुद्धिजीवी देशका भाइरस हुन् । सन्तान सात समुद्रपार भासिएपछि घरमा समेत कुरा नबिक्ने एकांकी जीवन बाँचेका पेन्सनधारीले आकास पाताल जोडेर समाजलाई थप आतंकित बनाइरहेका छन् । उनीहरुको उद्देश्य भनेकै कमाइको अर्को प्लट खोज्नु हो।

प्रकृतिको विधि विधान मास्न खोज्ने जतिसुकै शक्तिशाली भए पनि उसको नास अवश्यम्भावी छ । रावणको लंका सुनको थियो । उनी आफ्नो कार्यकालमा सुनमा सुगन्ध थप्न चाहान्थे । समुद्रको पानी गुलियो, रगत र मानिसको रंग सेतो, रक्सीबाट गन्ध निकाल्ने ध्याउन्नमा उनी लागेका थिए । रावणका कार्ययोजना प्रकृतिविरुद्ध हुँदा अन्तत: पतन भए ।

एउटा नागरिकले राज्यबाट खोजेको पहिलो र अन्तिम सुधार भनेकै ‘फेस लेस सर्भिस’ हो । स्कुलका फी तिर्ने चिर्कटोदेखि खाद्यले बेच्ने पाँच केजी चामल र मलको टोकनमा तीनपुस्ते विवरणको मुक्ति नै अहिलेको सशक्त स्वर हो । उनीहरुको आग्रह भनेको राज्यले नागरिकताको कागजमा नभएर मस्तिष्कको अथाह सम्भावनाबाट राज्यले चिनोस् भन्ने हो । ज्योतिषको चिनाटिपन, पानी समिति, वन समिति, बैंक, पासपोर्ट, लाइसेन्स, बैंकको ऋण, धनीपुर्जा अन्त्यमा गएर पशुपति ब्रम्हनालमा तेस्र्याएपछि दाउराको रसिदमा समेत नाम नचढाइ नेपालीले मुक्ति पाउँदैन ।

विदेशमा रक्सीको फर्मूला बनाउनेले नोबेल पुरस्कार पाउँछ, यहाँ रक्सी बोकेर चाकरीमा धाउनेले देश सिध्याउँछ । अरु त अरु नागरिकता दिने निकायमै गएर भँगेराका बास बस्ने प्वालजस्ता निकायमा गौंडैपिच्छे नागरिकताको फोटोकपी नबुझाए कामले कोर्स लिँदैन ।

टायरजस्तो नाम पनि घिस्रिने भए नागरिकतामा कुनै नेपालीको सग्लो फोटो भेटिने थिएन । अरु देशले नागरिकको मस्तिष्कलाई विश्वास गर्छ । हाम्रो प्रशासनिक संरचनाले नागरिकमा खोट देख्छ ।

विदेशमा रक्सीको फर्मूला बनाउनेले नोबेल पुरस्कार पाउँछ, यहाँ रक्सी बोकेर चाकरीमा धाउनेले देश सिध्याउँछ । अरु त अरु नागरिकता दिने निकायमै गएर भँगेराका बास बस्ने प्वालजस्ता निकायमा गौंडैपिच्छे नागरिकताको फोटोकपी नबुझाए कामले कोर्स लिँदैन ।

सरकारका फ्रन्ट डेस्क भन्सार, राजश्व, मालपोत, नापी, नगरपालिकाको नापनक्सामा काम गर्नेहरुलाई उन्नतिका उन्नायक भनेर समाजले अघोषित अभिनन्दन गर्छ । रातारात बंगला बनाउने, महँगा गाडी चढ्ने, आइफोनको पछिल्लो उत्पादन बोक्नेहरु नेपाल आमाका सपुत दरिन्छन् । इमानी सन्तानलाई बेइमान सन्तानको उदाहरण दिएर बाआमाले दशैंको टिको लगाइदिन्छन् ।

चटकी र चमत्कार गरेर देश बन्दैन । एउटा व्यक्तिसँगको व्यवहारमा एक रुपियाँ ‘नाथे’ होला । तर राज्य तहबाट हेर्दा त्यसको हिसाब तीन करोडको हुन्छ । देशको संरचना धेरै पुस्ताको त्याग, समर्पण र बलिदानको पूर्णाङक हो । अहिले क्रिकेटको विश्वकप चलिरहेको छ । देशले क्रिकेटमा राम्रो गर्‍यो भन्दै गर्दा कतिलाई लाग्न सक्छ, यो सबै अहिले सतहमा देखिएकाको प्रताप हो । सत्य के हो भने सन् १९२८ मै क्रिकेट नेपाल भित्रिएको हो ।

श्री ३ चन्द्रशमशेरका कान्छा छोरा मदनशमशेरको शौखले भित्रिएको क्रिकेट सिक्न उनी महिनौं भारत बसेर प्रशिक्षण लिएका थिए। सन् १९३० मा उनको मनोरन्जनका लागि दरबारभित्र सानो क्रिकेट प्याभिलियन बनाइएको थियो । छोराको रहर पूरा गर्न चन्द्रशमशेरले पोशाक, ब्याट, प्याड, बलको बन्दोबस्ती गरिदिएका थिए । अहिले क्रिकेटको गजूर अरुले लगाए पनि जग त्यतिबेलै बसेको थियो ।

राजनीतिमा बाघ हुन चाहने बिरालाका लागि पहिलो र अन्तिम सर्त हो- मूसाको त्याग । राजनीतिमा अस्तित्व खोज्नेले जंगबहादुरको जीवनीबाट शिक्षा लिनुपर्छ । सुत्केरी पत्नीलाई खानपानको व्यवस्था मिलाउने हुति नभएका जंगबहादुरले अंग्रेजको विश्वास जितेर नेपालमा पारिवारिक शक्ति आर्जनमा केन्द्रित भए ।

सत्ता र शक्तिको आडमा आफ्नो परिवारलाई आम क्षेत्रीहरूभन्दा माथिल्लो जातको गराउन श्री ५ सुरेन्द्रबाट राणाजी भन्ने पदवी प्रदान गरिएको लालमोहर गराए । त्यसलगत्तै छोरा जगतजंगको विवाह राजा सुरेन्द्रकी छोरीसँग गराए । बिहेको खर्च जुटाउन अतिरिक्त कर लगाएर उनले १० लाख बढी सम्पति हात पारे । यतिले मात्र जंगबहादुरको भोक पूरा भएन । युवराजाधिराज त्रैलोक्यलाई छोरी ज्वाइँ बनाए ।

राजपरिवारसँग सम्बन्ध जोडेपछि हौसिएका जंगबहादुरले आफूलाई श्री ३ घोषणा गरे । उनले कानुन बनाएर अपराधीलाई प्राणदण्ड दिने, कर्मचारीको नियुक्ति बर्खास्ती, विदेशी राष्ट्रसँग शान्ति, दौत्य, युद्धका लागि नयाँ कानून बनाउने, पुराना कानून काँटछाँट खारेज गर्ने सम्पूर्ण अधिकारसहितको लालमोहर पारित गराए । यतिविघ्न गर्दा पनि जंगबहादुरले छोड्दा राज्यकोषमा एघार करोड थियो । अहिले तिनै जंगबहादुरका हाँगाविंगाका सन्तान अरु राणाको तुलनामा कन्तविजोग जीवन बाँचेका छन् ।

सबैलाई फटाहा, अधम, नालायक करार गर्ने अहिलेको राष्ट्रिय रोग जंगबहादुरको महत्वाकांक्षाभन्दा खराब प्रवृत्ति हो । नेता, कर्मचारी, न्यायालय, पुलिस, पत्रकार, वकिल, शिक्षक, डाक्टरको आवरणभित्र केही खराब मानिसको गतिविधि आपत्तिजनक हुनसक्छ । तर सबैलाई एउटै डालोमा मुछ्नु त्यो झन् निकृष्ट कर्म हो ।

हेर्दा लाग्छ– अहिले प्राप्त अभिव्यक्ति स्वतन्त्रता सामान्य हो । स्वतन्त्रताको मन्दिर बनाउँदा त्यसको जग, गारो, छानो बनाउन अनगिन्ती पुस्ताको रगत, पसिना खर्च भएको छ । गजूरको आकर्षणमा झुम्मिनु भनेको त्यो विरासत नबुझ्नु हो । इतिहास पर्गेलौं त पढ्ने, हिँड्ने, बोल्न नागरिक अधिकारको आवाज उठाउँदा कति झुण्ड्याइएका छन् । आजीवन कारावासमा परेका छन् । चारपाटा मुढिएका छन् । प्रवास पठाइएका छन् । व्यक्तिगत सम्पति राष्ट्रियकरण गरिएको छ ।

अहिलेका जेन–जी विधिको शासनका लागि लडेजस्तै आठदशक अघि त्योबेलाका जेन-जी साइनाइट बोकेर क्रान्तिमा होमिएका थिए । क्रान्ति सफल बनाउन कम्पाउन्डर कनकमान सैंजू , गोविन्दप्रसाद शर्म, ध्रुबप्रसाद दवाडी, कुलदीपदेव पाठकजस्ता नवयुवाहरुले सुरुवालमा साइनाइट बोकेर स्वतन्त्रताको युद्ध लडेका थिए । उनीहरुलाई तत्कालीन राणा शासकले पक्रिएर क्रूर यातना दिएको थियो ।

सिंहदरबारमा राममाया नामकी महिला सिंहदरबार साफसुग्घर गर्ने काम गर्थिन । मृत्युको सजाय सुनाएको तिनै राममायासँग दशरथ चन्दले भनेका थिए– ‘राममाया, मेरा साथीहरू मारिएपछि उनीहरूका निम्ति रुने आफन्तहरू धेरै छन् तर मेरा निम्ति रुने यस संसारमा कोही छैनन् । मलाई मारेपछि तिमी रोइदेऊ है ।’ झुण्ड्याउनुअघि उनले हिन्दीमा सम्बोधन गर्दै मरेपछि पनि राणालाई भूत बनेर तर्साउने धम्की दिएका थिए ।

चुनाव जित्नु शासक बन्ने लाइसेन्स हैन । यो त आफ्नो सेवा खातिर जनताले दिएको बैध अनुमति हो ।

पटकपटक जलेको, जलाइएको सिंहदरबारलाई लिएर आआफ्ना दृष्टिकोण छन् । कांग्रेस भन्छ– खरानी सिंहदरबार बनाउन मत दिनुस् । एमालेजन भन्छन्– जलाउनेलाई कारवाही गर्न सूर्य रोज्नुस् । तर सिंहदरबारको नियति यस्तो छ यो बन्दाबन्दै कुशासनमा फसाइएको अखडा हो । चन्द्रशमशेरले प्रधानमन्त्री निवासका लागि २५ लाख खर्चिएर बनाएको सिंहदरबार राज्यलाई दुई करोडमा बेचेका थिए । राज्यबाट निर्लज्ज १ करोड ७५ लाख नाफा खाए ।

चुनाव जित्नु शासक बन्ने लाइसेन्स हैन । यो त आफ्नो सेवा खातिर जनताले दिएको बैध अनुमति हो । अल्बर्ट आइस्टाइनले मानिसभित्र साहस भर्दै भनेका थिए– ‘हिजोबाट सिक, आजका लागि बाँच, भोलिको आशा गर । महत्त्वपूर्ण यो छ कि प्रश्न गर्न कहिल्यै नछोड ।’

मानिस जब जित्नका लागि दौडिन्छ, हार्न सक्छ । तर अरुलाई जिताउनका लागि दौड्ने हो भने उसले जीवनमा कहिल्यै हार्न पर्दैन । चुनावमा उठेका, उठाइएका र उठ्न चाहेर टिकट नपाएकाले अहिले बस् यति सोचिदिए पुग्छ ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ९ : २५ बजे

जिप दुर्घटनामा चालकको मृत्यु, तीन जना घाइते

दाङ– सल्यानमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

विश्वकपमा आज तीन खेल : पहिलो खेलमा दक्षिण अफ्रिका र अफगानिस्तान भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत मंगलबार तीन खेल हुँदैछन्।

कांग्रेसले बुढीगङ्गामा विकासको मुहार परिवर्तन गर्‍याे : शेखर कोइराला

विराटनगर– नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नम्बर ६ का

आहा रारा गोल्डकप : आज जावलाखेल र मछिन्द्र क्बल खेल्दै

काठमाडौं–  २५औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबलमा आज जावलाखेल युथ

बाघ निकम्मा भएपछि राजनीतिमा वनबिरालाको चुरीफुरी !

छातीमा वाण लागेपछि मृत्यु शैय्यामा रहेका बाली श्रीरामको मर्यादामाथि प्रश्न