यतिबेला फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनले झापा-५ सहित देशको माहोल निकै तातेको देखिन्छ । देशभरमा १६५ निर्वाचन क्षेत्र छन् तर संजालीय र सञ्चारीय दृष्टिकोणले निर्वाचनको इपिसेन्टर भने झापा-५ बनेको देखिन्छ । नेपालको संसदीय इतिहासमा कहिलेकाहीँ कम्युनिस्ट इतर दलले निर्वाचन जिते पनि झापालाई लालकिल्ला भनेर पनि चिनिन्छ ।
नेपालको राजनीतिक इतिहासमा झापाको एउटा बेग्लै पहिचान, विशिष्टता र इतिहास पनि छ । झापामा ०२८ सालमा वर्गशत्रु सफाया भन्ने एउटा सशस्त्र आन्दोलन शुरू भएको थियो । ०२८ मा झापाका केही युवा कम्युनिस्ट कार्यकर्ताले चिनियाँ साँस्कृतिक क्रान्ति र नक्सलवादी आन्दोलनको नक्कल गर्दै नेपालमा पनि साम्यवादी सत्ता स्थापना गर्ने लक्ष्यका साथ वर्गशत्रु खत्तम गर्ने अभियान चलाएका थिए ।
यसै अभियानद्वारा ०२८ जेठ २ गते झापाको ज्यामिरगडीमा एक जमिन्दारको हत्या गरिएको थियो भनिन्छ । त्यही हत्या अभियोगमा तत्कालीन पञ्चायती सत्ताद्वारा समातिएका तत्कालीन झापा विद्रोहका युवा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, नारायण श्रेष्ठ, कृष्ण कुइँकेललाई सुखानीको जङ्गलमा ०२९ फागुन २१ गते हत्या गरिएको थियो ।
झापा विद्रोहको नामले परिचित त्यस सशस्त्र आन्दोलनमा राज्यपक्षबाट अन्य थुप्रै योद्धाको हत्या भएको थियो । झापा विद्रोह ०२८ देखि २०३२ सालसम्म चलेको एक हिंसात्मक आन्दोलन नै थियो । यस आन्दोलनको एक अभियुक्तका रूपमा नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पनि १४ वर्ष जेल जीवन बिताएका थिए । झापा विद्रोह के थियो, किन गरियो, यो ठीक वा गलत के थियो भन्ने बारेमा थुप्रै विश्लेषण, टीकाटिप्पणी र समीक्षा गरिएका पुस्तक र लिखित सामग्री प्रकाशित भएका छन्।
झापा राजनीतिक चेतनाको दृष्टिकोणले देशका विभिन्न जिल्लाको तुलनामा अगाडि नै छ । देशका विभिन्न क्षेत्रका प्रमुख मुख्य अनुहारलाई हेर्दा झापाली अनुहार प्रशस्तै देखिन्छन् ।
झापा राजनीतिक चेतनाको दृष्टिकोणले देशका विभिन्न जिल्लाको तुलनामा अगाडि नै छ । देशका विभिन्न क्षेत्रका प्रमुख मुख्य अनुहारलाई हेर्दा झापाली अनुहार प्रशस्तै देखिन्छन् । ती देखिने अनुहारले झापा र समग्र देशको लागि के कति योगदान गरे वा गरेनन्, त्यसको खोज र विश्लेषणको लागि छुट्टै पाटो हुनसक्छ ।
झापाकै टोकला चियाको स्वादसँगै लेख्न बस्दा गिरीबन्धु टि स्टेटको भ्रष्टाचार काण्डको स्मरणले जिब्रो भने च्वास्स पोल्यो । झापाको भौगोलिक बनोटको कुरा गर्नु पर्दा यो जिल्ला नेपालको पूर्वको कोशी प्रदेशमा पर्ने तराईको एक जिल्ला हो । यस जिल्लाको पूर्व र दक्षिणको सिमाना भारतसित जोडिएको छ भने पश्चिममा मोरङ र उत्तरमा इलामसित जोडिएको छ ।
यस जिल्लाको क्षेत्रफल १६०६ वर्ग किलोमिटर छ भने ०७८ को जनगणना अनुसार यहाँको जनसंख्या ९ लाख ९४ हजार ९० रहेको छ । यस जिल्लामा ८ नगरपालिका र ७ गाउँपालिका गरी १५ स्थानीय तह छन् । झापा जिल्लामा १३१ वटा वडा रहेका छन् भने यस जिल्लामा ५ वटा संसदीय निर्वाचन निर्वाचन क्षेत्र रहेका छन् । यस जिल्लाको सदरमुकाम भद्रपुर हो ।
झापाका पाँच ओटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं ५ मा गौरीगञ्ज गाउँपालिकाका १, २, ३ र ४ वडा, कमल गाउँपालिकाका सातै ओटै वडा, दमक नगरपालिकाका दश ओटै वडा र गौरादह नगरपालिकाका वडा नं ९ बाहेकका ८ वडा पर्दछन् । फागुन २१ मा हुन लागेको निर्वाचनको लागि यस क्षेत्रमा एक लाख ६३ हजार ३७७ मतदाता छन् ।
गत निर्वाचनमा यस क्षेत्रमा ६४ प्रतिशत मत खसेको थियो । यसैलाई आधार मान्ने हो भने पनि यस क्षेत्रमा आगामी निर्वाचनमा करिब एक लाख १५ हजार मत खस्ने र जसमा करिब एक लाख पाँच हजार सदर मत हुनसक्ने अनुमान गर्न सकिन्छ ।
यस क्षेत्रमा फागुन २१ गते हुने निर्वाचनको लागि दुई अतिवादी प्रत्यासी केपी शर्मा ओली र बालेन्द्र साह बालेनको ज्यादा चर्चा भए पनि यहाँबाट नेपाली कांग्रेस,नेपाली कम्यनिष्ट पार्टी, श्रम संस्कृति पार्टी, राप्रपा लगायतका उम्मेदवार प्रतिस्पर्धामा छन् । कांग्रेसबाट मन्धरा पौड्याल, नेकपाबाट रञ्जित तामाङ तथा राप्रपाबाट लक्ष्मीप्रसाद सङ्ग्रौला प्रतिनिधि सभाको लागि हुन गइरहेको यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलका १४ जना र १० जना स्वतन्त्र गरी जम्मा २४ जना उम्मेदवार चुनावी मैदानमा देखिन्छन् ।
कांग्रेसबाट मन्धरा पौड्याल, नेकपाबाट रञ्जित तामाङ तथा राप्रपाबाट लक्ष्मीप्रसाद सङ्ग्रौला प्रतिनिधि सभाको लागि हुन गइरहेको यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलका १४ जना र १० जना स्वतन्त्र गरी जम्मा २४ जना उम्मेदवार चुनावी मैदानमा देखिन्छन् ।
यस निर्वाचन क्षेत्रका एक बहुचर्चित प्रत्यासी केपी शर्मा ओली यसै क्षेत्रबाट लगातार दुईपटक निर्वाचित जनप्रतिनिधि हुन् भने यिनी झापाकै विभिन्न क्षेत्रबाट लगातार पाँच पटक विजयी भएका प्रतिनिधि हुन् । ओली ०६४ को संविधान सभाको निर्वाचनमा मात्र तत्कालीन झापाकै क्षेत्र नं ७ बाट माओवादीका विश्वदीप लिङ्देनसित करिब १४ सय मतले पराजित भएका थिए।
०४८ देखि अब आउने निर्वाचनसम्म ओलीको प्रतिस्पर्धा छैटौँ पटक हुँदैछ । पहिलो पटक निर्वाचनमा ४० वर्षे युवा रहेका ओली अहिले ७४ वर्षे ज्येष्ठ नागरिक भएर राजनीतिमा एउटा अभिभावकीय भूमिका निर्वाह गरी नाति पुस्तालाई अवसर दिनुपर्नेमा अझै पनि चुनावी मैदान छोड्न सकेका छैनन् । अहिलेको निर्वाचनमा पनि यहाँ उमेरकै दृष्टिकोणले हेर्दा पनि सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट २७ वर्षीय सुशान्त साम्पाङ राई चुनावी प्रतिस्पर्धामा रहेका छन्।
झापा ५ का जनताले अब पनि हेभिवेट र बहुचर्चित भनिने उम्मेदवार ओलीलाई मतदान किन गर्ने भन्ने बारेमा निकै चिन्तन गर्नुपर्ने देखिन्छ । केपी ओलीका कार्यशैली र क्षमताका बारेमा थुप्रै प्रश्नहरू उठेका छन् । झापा ५ वा देशकै लागि केपी ओलीले के त्यस्तो अद्भूत काम गरे र पुनः उनैलाई जिताउनु पर्ने ? किन एमालेले झापा ५ मा केपी शर्मा ओली बाहेक अर्को कुनै पात्रलाई उम्मेदवार बनाउन सक्दैन ?
एउटै पात्रलाई बारम्बार हेर्दा जनतामा दृष्टिथकान भन्ने कुरा हुँदैन र ? एमालेको यति ठूलो विशाल संगठन हुँदा पनि झापा ५ मा ओलीको विकल्पमा अर्को पात्र पाउन किन नसकेको ? देशलाई पटक पटक राजनीतिक दुर्घटनामा पुर्याएका ओलीलाई झापाली जनताले किन अनुमोदन गरिरहनु पर्ने ? अब पनि झापालीले केपी ओलीलाई विजयी गराउनु भनेको त देशलाई थप दुर्घटनामा लैजान प्रोत्साहन गर्नु होइन र ?
केपी ओलीको नेतृत्वको सरकार हुँदा नै पछिल्लो पटक यही भदौ २३ र २४ को त्यति ठूलो मानवीय,भौतिक, राजनीतिक क्षति र दुर्घटना भयो । देशमा यति ठूलो दुर्घटना हुँदा जिम्मेवार नलिने ओलीलाई मतदान किन गर्ने ? राजनीतिमा इमान्दारिता, जवाफदेहिता, नैतिकता र पुस्तान्तरण भन्ने हुन्न र ? झापालीले कहिलेसम्म ओलीका रेलमार्ग, पानीजहाज, ग्यासका पाइप लाइन जस्ता दिवा सपना र भ्युटावरका बकम्फुसे गफलाई विश्वास गरी मत दिइरहने हो र ? अब त मतदाताले सोच्ने कि ?
केपी ओलीको नेतृत्वको सरकार हुँदा नै पछिल्लो पटक यही भदौ २३ र २४ को त्यति ठूलो मानवीय,भौतिक, राजनीतिक क्षति र दुर्घटना भयो । देशमा यति ठूलो दुर्घटना हुँदा जिम्मेवार नलिने ओलीलाई मतदान किन गर्ने ?
नेपाली राजनीतिमा प्रमुख रूपमा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्ण रूपमा असफल र असक्षम प्रमाणित भएका पात्र हुन् । नेपाली कांग्रेसले त शेरबहादुरलाई पन्छाएर केही नयाँ अनुहार देखाएको छ । प्रचण्ड अझै विभिन्न टाउका जोडेर अस्तित्व बचाउन सकिन्छ कि भन्दै पूर्वी रुकुम पुगेका छन् । ओली अझै पनि बकम्फुसे गफ, उखान टुक्का र खोक्रा सपना बाँड्दै हिँडेका छन् ।
ओलीकै कारण देश बनेन र अझै पनि बन्दैन । ओली देशमा अस्थिरता, सत्ताको खेलखण्ड र सामाजिक विखण्डन गराउन माहिर मध्येका एक पात्रका रुपमा चिनिएका छन् । उनले आफ्नो स्वार्थ पूरा गर्न सबै किसिमका राजनीतिक अस्त्र र विकल्प प्रयोग गरे । आज एमालेमा आन्तरिक लोकतन्त्रको प्रयोग हुन सकेको छैन । एमाले भनेको ओलीको व्यक्तिगत कम्पनीजस्तो भएको छ ।
एमालेमा कार्यकर्ताभन्दा झोलेको प्रभुत्व रहेको छ । केपी ओलीका यति धेरै भ्रष्टाचारका काण्ड, असफलता, गल्ती र कमजोरी छन् कि वर्णन गरेर साध्य छैन । ओलीमा राजनीतिक संस्कार, ज्ञान र क्षमता नै छैन भन्ने कुरा बारम्बार विभिन्न राजनीतिक दुर्घटनाबाट प्रमाणित भएका छन् । मैले नेपालको राजनीतिक इतिहासमा केपी शर्मा ओलीको योगदान छँदै छैन भन्न खोजेको चाहिँ हैन । अहिले यत्ति भनौँ कि अब देश बनाउने भिजन,योजना र क्षमता ओलीमा छैन ।
ओलीलाई मत दिनुहुन्न भन्ने आशय होइन, त्यो त मतदाताको विवेकमा निर्भर रहने कुरा हो । केवल ओलीको ऐना देखाइदिएको हो। यहाँ ओलीलाई मत नदिए कसलाई मत दिने त भन्ने प्रश्न आउन सक्छ । कतिपयले अब ओली हैन, बालेन भनिरहेका छन् । बालेनको भिजन, विचार, योजना र सक्षमता के हो ? भनेर खोज्नुपर्छ । यतिबेला बालेनलाई देवत्वकरण र अवतारीकरण गरिएको छ। बालेन राजनीतिक नेता भएर देखिनु पर्छ। जनताले बालेनका बारेमा नजिकबाट चिन्नु र बुझ्नु पर्छ ।
ओली र बालेन बाहेक पनि यस क्षेत्रमा एकसे एक २२ उम्मेदवार छन् । यहाँ ओली र बालेनको बहस र चर्चा गरेर बाँकी उम्मेदवारलाई ओझेलमा पारिनु हुँदैन ।ओली र बालेन बाहेकका अन्य उम्मेदवार पनि योग्य र सक्षम छन् । यहाँ लामो इतिहास बनाएका पार्टीदेखि नयाँ पार्टीका उम्मेदवारहरू र स्वतन्त्र पनि चुनावी मैदानमा छन् । यहाँ केवल यो वा त्यो भन्ने कुनै दुई प्रत्यासीहरू मात्र विकल्पमा छैनन् । यहाँ हेभिवेटको प्रतिस्पर्धा भनेर राम्रा, सक्षम र असल उम्मेदवारलाई ओझेलमा पार्न खोजिएको देखिन्छ।
झापा ५ का मतदाता केवल केही पात्रको चुनावी हावाको पछाडि मात्र नदौडी निकै सचेत भएर मतदान गर्नुपर्ने देखिन्छ। झापा ५ ले पटक पटक प्रधानमन्त्रीको अनुभव गरिसकेको छ । झापाले आफूले जिताएको प्रधानमन्त्रीको अनुहार र काम राम्रोसँग गहिरिएर हेरोस् । झापा ५ का जनतामा विभिन्न दलबाट प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवार बाहेकका उम्मेदवारहरूलाई विजयी गराउन सक्ने तागत पनि छ ।
झापा ५ ले दुवै अतिवादी पात्रलाई किराना लगाएर लोकतन्त्रमा निषेधको राजनीति गरिनु हुन्न भनेर मध्यमार्गी बाटो अवलम्बन गरी एउटा छुट्टै सन्देश दिन पनि सक्छ । नेपालको संविधान अनुसार प्रधानमन्त्री चयन गर्ने भनेको संसदीय दलले हो । मतदाताले होइन । झापा ५ ले केवल राम्रो, सक्षम, कुशल, असल, इमान्दार जनप्रतिनिधि चुनोस् । झापा ५ ले प्रधानमन्त्रीको लहडमा असल पात्र नगुमाओस् ।
अहिलेका झापा ५ का प्रत्यासीहरू केपी ओली र बालेन बाहेक पनि देशभरिका अन्य एकसेएक प्रत्यासी प्रधानमन्त्री हुनका लागि योग्य छन् । झापा ५ ले लोकप्रियता र हावाको भरमा प्रधानमन्त्रीको मात्र खोजी गर्दा एउटा असल जनप्रतिनिधि नगुमाओस् । झापा ५ का मतदातालाई आगामी निर्वाचनमा इमान्दार,योग्य र सक्षम प्रतिनिधि चयनको लागि शुभकामना । (लेखक पन्थी अमेरिकाको भर्जिनियामा कर्मरत छन्)













प्रतिक्रिया