काठमाडौं– ‘एआई’ प्रविधिद्वारा किसानलाई डिजिटल कृषि सल्लाह उपलब्ध गराउन कृषि तथा पशुपन्छी विकास मन्त्रालय, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (एनएएएमपी) र कनेक्ट किसान प्रालिबीच सम्झदारीपत्रमा हस्ताक्षर गरिएको छ ।
राष्ट्रिय कृषि आधुनिकीकारण कार्यक्रमको तर्फबाट कार्यक्रम निर्देशक हिक्मतकुमार श्रेष्ठ र कनेक्ट किसानको तर्फबाट निर्देशक राजन दाहालले सो समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
यसबाट नेपाली किसानलाई ‘डिजिटल प्लेटफर्म’मार्फत कृषिसम्बन्धी समस्या समाधानमा सजिलो हुने विश्वास गरिएको छ । कनेक्ट किसानले विकसित गरेको ‘भ्वाइस बेस’ र ‘टेक्स्ट बेस एआई एडभाइजरी’ प्रविधिले किसानलाई खेतबारीमा प्रत्यक्ष सहायता पुर्याउनेछ । यो प्रणालीमा किसानले खेतीबारीमा काम गर्दा आउने समस्याजस्तै मल, बजार, रोगरकीरा व्यवस्थापनको तत्काल समाधान वा सुझाव प्राप्त गर्न सक्नेछन् ।
सो अवसरमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका कार्यक्रम निर्देशक श्रेष्ठले किसानलाई डिजिटल प्लेटफर्ममा पुर्याउन र समस्या समाधानमा सहयोग पुर्याउन कनेक्ट किसानसँग सम्झौता गरिएको जानकारी दिए ।
उनले भने, ‘किसानले आफ्नो खेतबारीमा जुनसुकै समस्या आए पनि तत्काल समाधान पाउन सक्नेछन् । साथै, ठूला वा जटिल समस्याहरूको लागि प्राविधिक र अनुसन्धान टोलीले पनि सहयोग गर्नेछ ।’
कृषि नीतिगत चुनौतीजस्तै बजारमा पहुँच नपाउनु, मल अभाव, रोग व्यवस्थापनजस्ता समस्या पनि एआई प्रणालीमा डेटा बनाइने र भविष्यमा त्यसको आधारमा समाधानको योजना तयार पारिने निर्देशन श्रेष्ठले बताए।
कनेक्ट किसानका निर्देशक दाहालले भारतमा प्रविधिमैत्री किसानले एआईको प्रयोग गरेर उत्पादन वृद्धि गरिरहेका र नेपालमा पनि यस्ता प्रविधि प्रयोग गर्दा किसानलाई सहयोग पुग्ने बताए।
उनका अनुसार किसानहरूले यदि नीतिगत समस्या वा बजारसँग सम्बन्धित चुनौती देखेका छन् भने वा खेतीमा रोग–कीरासम्बन्धी अनुसन्धान आवश्यक छ भने उनीहरूले यी जानकारीहरू एआई प्रविधिको माध्यमबाट पठाउन सक्नेछन् । पठाइएको जानकारी सङ्कलन गरी एनएएएमपीले आवश्यक कदम चाल्न प्रयोग गरिनेछ ।
उनले भने, ‘हाम्रो एआई प्रणालीले किसानलाई व्यक्तिगत कृषि सल्लाह दिन सक्षम छ ।’ यस सम्झौताको माध्यमबाट किसानको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने उद्देश्य राखिएको छ ।













प्रतिक्रिया