विस्केट जात्रा : ऐतिहासिक, सांस्कृतिक र तान्त्रिक महत्त्वको जात्रा « Khabarhub

विस्केट जात्रा : ऐतिहासिक, सांस्कृतिक र तान्त्रिक महत्त्वको जात्रा



काठमाडौं- सांस्कृतिक सहर भक्तपुरमा हरेक वर्ष मनाइने विस्केट जात्रा सुरु भएको छ । नौ दिन आठ रातसम्म मनाइने विस्केट (विस्का:) जात्रा नयाँ वर्ष अर्थात् वैशाख १ गतेभन्दा चार दिनअघि भैरव र भद्रकालीको रथ तानेर सुरु हुन्छ । विस्केट जात्राको सबैभन्दा आकर्षक र प्रसिद्ध समारोह चाहिँ रथ तान्ने प्रतिस्पर्धा हो ।

जात्राको पहिलो दिन श्री भैरवनाथ र भद्रकालीमा पूजा गर्ने, बेताल पूजा गर्ने, तलेजु मन्दिरका राजोपाध्यायलाई खड्ग बुझाउने, भैरवनाथ र भद्रकालीलाई फरक–फरक रथमा विराजमान गराउने अनि रथ तान्ने कार्यक्रम सुरु हुन्छ । यो जात्रामा रथ तानेर श्री भैरवनाथको रथ गाःहिटीमा पुर्‍याउने र भद्रकालीको रथ पुःबहालमा ल्याउने चलन छ ।

रथ तान्न हजारौँ स्थानीय सहभागी हुन्छन् । रथ तान्ने पहिलो दिन दुई पक्षबीच घम्साघम्सी हुन्छ । जात्रामा रथ तान्ने परम्परालाई मैत्रीपूर्ण खेलका रूपमा लिने गरिन्छ । चैत मसान्तको चौथो दिनलाई लिङ्गो उभ्याउने जात्रा भनिन्छ । भक्तपुरको बोलाँछेस्थित कुमाले टोलमा बिहान हात नभएको लिङ्गो उभ्याउने कार्यक्रम हुन्छ ।

भद्रकालीमा राँगो बली दिने, भैरवनाथको लिङ्गोमा हात टाउको बनाउने, लिङ्गो उठाउन आवश्यक सामग्रीहरू धागोको डोरी, कपडा आदि भेलुखेल पुर्‍याइन्छ । सल्लाको रुखबाट तयार भएको नाङ्लो जत्रो फेद भएको ५५ हाते लामो लिङ्गो ठड्याउने चलन छ । यो लिङ्गो जसरी पनि २४ घन्टाभित्र स्थानीय समुदायले उभ्याएर ढलाउने परम्परा छ । चैत मसान्तमा लिङ्गो उभ्याउने र नयाँ वर्षको दिन १ वैशाखमा विधिअनुसार ढालिन्छ ।

विस्केट जात्राको किंवदन्ती

थिमिमा भेटिएको नेपाल संवत् ५०० को तमसुक पत्रमा विश्व केतुलाई सम्झाउने पर्यायका रूपमा विसिक शब्द उल्लेख भएको पाइन्छ । भक्तपुरको तौमढीस्थित यक्ष मल्लको पालाको शिलालेखमा पहिलोपल्ट जात्रालाई सम्बोधन गर्दा विश्वजात्रा उल्लेख गरिएको छ । यस्तै, भक्तपुरको दरबारमा नेपाल संवत् ८०८ र ८१८ को राजा जितामित्र र भूपतेन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा विश्क्यात शब्द उल्लेख छ ।

हाल पनि तलेजुमा विस्का जात्राको संकल्प स्वरूप पूजा अर्चनामा विश्वजात्राको उल्लेख गरिन्छ । यी प्रमाणका आधारमा ‘विश्वकेतु’ संस्कृत शब्द हो । पछिल्लो कालखण्डमा नेवारी नामकरण हुँदै विसिका, विस्क, विक्का, विस्का हुँदाहुँदै हाल विस्केट हुन पुगेको हो । यो जात्रा विश्वनाथ भैरवको मात्र नभएर उनको शक्ति भद्रकालीको पनि हो ।

विस्केट जात्राको मूल इतिहास र परम्परामा मात्र नभइ रोचक किंवदन्तीमा पनि आधारित छ । जात्राका बारेमा फरक-फरक किंवदन्ती छन् ।

भनिन्छ- प्राचीन भक्तपुर राज्यको दरबारकी राजकुमारीसँग विवाह गर्न बलवान राजकुमारको खोजी भयो । राजकुमारीसँग बिहे गर्न चाहने विभिन्न राजकुमारले भक्तपुरकी राजकुमारीसँग रात बिताउनु पर्थ्यो । यस क्रममा राजकुमारीको नाकको प्वालबाट दुईवटा नाग-नागिन निस्केर राजकुमारलाई डसेर मार्ने गर्दथे । त्यसरी धेरै राजकुमारको मृत्यु भएपछि एक जना तान्त्रिकले एक रात आफ्नो तन्त्र विद्याबाट राजकुमारीको नाकबाट निस्केको नागनागिनलाई तरबारले काटेर झुण्ड्याइदिए । यसैको खुसियालीमा राजाले यो जात्रा चलाएको किंवदन्ती छ ।

यो जात्राको विषयमा अहिलेसम्म भेटिएका प्रमाण, अभिलेखक र मल्लकालीन राजा जगतप्रकाश मल्लदेखि शाहवंशीय राजा त्रिभुवन, ज्ञानेन्द्र र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले फेरेका हलिपतमा हेर्न हो भन्ने विश्व केतु, वीर ध्वजा लेखिएको छ । विश्वनाथको ध्वजा विश्व ध्वजा अर्थात् वीर ध्वजा हो भन्ने भनिन्छ । यसमा वीर भनेर भैरवको वाहन वीर बेताललाई भनिएको हो ।

त्यस मानेमा पनि यो ध्वजा विश्व ध्वजा र वीर ध्वजा मान्न सकिन्छ । तर जनमानसमा यो नागनागिनीको किंवदन्ती बढी प्रचलित छ । यो जात्रा किरातहरूसँगको युद्धमा विजयी भएपछि लिच्छवी राजाहरूले खुसियालीमा दुई दिन मनाएको र पछि मल्ल राजाले यसलाई भैरव र भद्रकालीको जात्रा थप गरी आठ रात नौ दिन पुर्‍याएको बताइन्छ ।

१ वैशाखमा गुठी संस्थानले कानफट्टा जोगीहरूको सहयोगमा विधिपूर्वक राँगा, बोका, कखुराको बलि दिई जोगीचक्र पूजा गरिन्छ । सोही दिन इन्द्रायणी देवतालाई खटमा राखी नगर परिक्रमा गर्ने प्रचलन छ । २ वैशाखमा श्री ज्याठा गणेश र श्वेत भैरवको रथयात्रा गर्ने प्रचलन छ । ५ वैशाख बिस्केट जात्राको अन्तिम दिन हो ।

श्रीभैरव, भैरवी र भद्रकालीको पूजा सम्पन्न गरी बाजागाजासहित दिउँसो २ बजे तलेजुका पुजारीलाई खड्ग बुझाउने र अपराह्न ४ बजे भैरवनाथलाई बाजागाजासहित गाःहिटीमा ल्याई रथमा राखेर तानिन्छ । रथ तौमढी (पाँचतले मन्दिर अगाडि)बाट भैरवनाथ मन्दिरअघि पुगेपछि भैरवनाथ र खड्गलाई मन्दिरमा भित्राइ विधि र परम्पराअनुसार जात्रा सम्पन्न गरिन्छ ।

आजको समयमा यो जात्रा सामुदायिक पहिचान, सांस्कृतिक गौरव र साहसको प्रतीक बनेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार  ९ : ३५ बजे

चैत ३० देखि वैशाख ७ गतेसम्म ‘शून्य बाँकी फाइल अभियान’ मनाइँदै

काठमाडौँ– सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि

हलेसी तुवाचुङले पायो ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’बाट सम्मानित भएको

खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व

काठमाडौँ– खनिजजन्य उद्योगबाट दुई अर्ब १४ करोड राजस्व असुली भएको

सवारी नियम उल्लंघन गर्ने १७ सय बढी चालक कारबाहीमा

काठमाडौँ– बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार

वैदेशिक रोजगारीको प्रलोभनमा करिब ९२ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर ९१