एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन « Khabarhub

एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन


२८ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

पर्वत – पर्वतको जलजला गाउँपालिका-८ को फर्से बस्तीबाट दैनिक ८०० लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको छ । कालीगण्डकी करिडोरको मालढुङ्गा-बेनी खण्डमा पर्ने फर्से बस्तीबाट दैनिक करिब ८१२ लिटर दूध निर्यात हुँदै आएको हो ।

यहाँका ३६ वटा व्यावसायिक पशुपालन फार्मबाट उक्तमात्रामा दूध उत्पादन हुने गरेको छ । स्थानीय सङ्गम दुग्ध उत्पादक तथा कृषि सहकारी संस्थामा आबद्ध कृषकले व्यावसायिक रूपमा दूध उत्पादन गर्दै आएका छन् । बजारको समस्या नभएपछि यहाँका किसान व्यावसायिक पशुपालनमा लागेका हुन् । प्रत्येक किसानले न्यूनतम पाँचदेखि ३० वटासम्म गाईभैँसीपालन गरेका छन् । दैनिक ५० देखि १०० लिटरसम्म दूध उत्पादन गर्ने किसानले बस्तीमा रहेको सङ्गम दुग्ध उत्पादक सहकारी संस्थाको सङ्कलन केन्द्रमा बिक्री गर्दै आएका छन् ।

यहाँ सङ्कलित दूध छिमेकी जिल्ला बागलुङमा रहेको दुग्ध सहकारी संस्थाले खरिद गर्दै आएको छ । उक्त संस्थाले प्रतिलिटर रु ९० देखि गुणस्तरका आधारमा रु १२५ सम्मका दरले किसानबाट दूध लिने गरेको सङ्गम दुग्ध उत्पादक तथा कृषि सहकारी संस्थाका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए । उनका अनुसार दूध बिक्रीबाट वार्षिक रु तीन करोडभन्दा बढी आम्दानी हुने गरेको छ ।

सहकारीमा दूध सङ्कलन गर्ने किसानलाई भेटेरीनरी अस्पताल तथा पशु सेवा कार्यालयले प्रतिलिटर रु पाँचका दरले ढुवानी अनुदानसमेत दिँदै आएको छ । ढुवानी अनुदान पाएपछि किसानलाई सहज भएको अध्यक्ष सापकोटाले बताए । उनका अनुसार दूध उत्पादक किसानलाई सहकारीले बैंक खातामा रकम भुक्तानी दिने गरेको छ ।

दुधालु गाईभैँसीको बिमासमेत गरिएकाले किसानको पशुधन सुरक्षित भएका सहकारीका सचिव हरेमबहादुर खत्रीले बताए । बजारको समस्या नभएकाले र पर्याप्त मूल्य पाउने भएकाले यहाँ पशुपालन गर्नेको आकर्षण बढ्दै गएको उनको भनाइ छ ।

स्थानीय किसान राजन सापकोटाले आफूले लामो समयदेखि व्यावसायिक तरकारीखेती गर्दै आएकामा पछिल्लो समय गाईपालनतर्फ लागेको बताए । तरकारीभन्दा गाईपालनमा कम परिश्रम र बढी मुनाफा हुने भएकाले तरकारीखेतीको विकल्प रोजेको उनको भनाइ छ । उहाँले मासिक रु एक लाख ५० हजारसम्म आम्दानी हुने गरेको जानकारी दिए ।

विगत १३ वर्षदेखि व्यावसायिक गाईपालनमा लागेका नारायण जिसीले विदेशमा भन्दा आफ्नै माटोमा प्रशस्त आम्दानी हुने देखेपछि वैदेशिक रोजगारी छोडेको बताए । उनका अनुसार दैनिक ८० लिटर दूध उत्पादन हुन्छ ।

पशुपालन छाडेर आठ वर्ष खाडीमुलुक साउदी अरब बस्नुभएका जिसीले फेरि फर्केर यही पेसालाई निरन्तरता दिएका हुन् । उनले वार्षिक रूपमा रु २५ देखि ३० लाखसम्म आम्दानी हुने गरेको जानकारी दिए । रु १५ लाख लगानी गरेर व्यवसाय थालेको जिसीले व्यवसायलाई अझै बढाउने योजना बताए । यहाँ आएर पशुपालन गर्ने हो भने कोही पनि युवायुवती विदेश जानु नपर्ने स्थानीय किसान बताउँछन् । गाईपालनसँगै व्यावसायिक तरकारीखेतीमार्फत प्रशस्त आम्दानी गर्न सकिने यहाँका किसानको अनुभव छ ।

जिल्लास्थित भेटेरीनरी अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख सुरेशकुमार श्रेष्ठले किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतिलिटर दूध ढुवानीमा रु पाँचका दरले अनुदान दिँदै आइएको बताए । यसबाहेक चालु आर्थिक वर्षमा बृहत्तर पशु विकास कार्यक्रममार्फत रु आठ लाख कार्यालयले सहयोग गरेको छ ।

उक्त सहयोगले किसानले भकारो सुधार, गाईभैँसीलाई बस्ने म्याट खरिद, दूध सङ्कलनका लागि क्यानलगायत सामग्री खरिद गरेका छन् । जिल्लालाई दूध उत्पादनमा आत्मनिर्भर बनाउनका लागि कार्यालयले कृषक, पशुपालन गर्ने सहकारी र दुग्ध डेरीलाई विभिन्न प्राविधिक सहयोगका साथै अनुदानसमेत दिँदै आएको श्रेष्ठले बताए ।

प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहिबार  ९ : ०१ बजे

विपद्का बेला काम नलागेको बेनीको वैकल्पिक खानेपानी संरचना

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीमा खानेपानी आपूर्तिको वैकल्पिक व्यवस्था गर्न तीन

पाँच युरोपेली देशले रुवान्डामा आप्रवासी फिर्ती केन्द्र खोल्ने

एजेन्सी – पाँच युरोपेली सङ्घ (ईयू) सदस्य राष्ट्रले अवैध रूपमा

कान्ति ताल बेवारिसे, भत्कँदै संरचना

नेपालगन्ज– पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले करिब रु १०

ध्यान र साधनाका लागि योगीको समूह मुन्दुम पदमार्गमा

भोजपुर– पर्यटन प्रवर्द्धनसँगै मुन्दुम पदमार्गको धार्मिक तथा आध्यात्मिक महत्व उजागर

वन अतिक्रमण हटाएर १.७५ हेक्टर क्षेत्रमा टिमुरखेती

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ स्थित तालडाँडा दादरको पाखा तथा कसेरी