नवलपरासी– कुनै समय नेपालको कागज उत्पादनमा आत्मनिर्भरताको आधार मानिएको भृकुटी कागज कारखाना अहिले जीर्ण संरचना र बन्द मेसिनमा सीमित भएको छ। स्वदेशमै कागज उत्पादन गरी आयात प्रतिस्थापन गर्ने उद्देश्यले स्थापना गरिएको यो उद्योग बन्द भएको डेढ दशक बितिसक्दा पनि पुनः सञ्चालनका लागि कुनै ठोस पहल हुन सकेको छैन। उद्योग बन्द भएसँगै नेपाल कागज तथा कागजजन्य वस्तुको आयातमा झन् बढी निर्भर बन्दै गएको छ।
तत्कालीन जनवादी गणतन्त्र चीन सरकारको सहयोगमा नवलपरासी (हाल नवलपुर) को गैँडाकोटमा भृकुटी कागज कारखाना स्थापना गरिएको थियो। २०३९ सालमा स्थापना भएको उद्योगले २०४३ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो। दैनिक करिब ४२ मेट्रिक टन कागज उत्पादन क्षमता रहेको यो उद्योगले त्यसबेला नेपालको कुल कागज मागको करिब ३५ प्रतिशत आपूर्ति गर्ने गरेको थियो। कारखानाले उच्च गुणस्तरको पल्प उत्पादन गरी जापानलगायतका मुलुकमा निर्यातसमेत गर्ने गरेको थियो।
२०४८ सालपछि सरकारले अवलम्बन गरेको उदार आर्थिक नीतिअनुसार उद्योग निजीकरण गरियो र यसको नाम भृकुटी पल्प एण्ड पेपर लिमिटेड राखियो। निजीकरणको प्रारम्भिक चरणमा उत्पादन र वित्तीय अवस्थामा केही सुधार देखिए पनि त्यो दीर्घकालीन हुन सकेन। व्यवस्थापन, लगानी र बजार व्यवस्थापनमा देखिएका कमजोरीका कारण उद्योग क्रमशः संकटमा पर्दै गयो र अन्ततः २०६७ फागुनदेखि उत्पादन पूर्ण रूपमा बन्द भयो। भृकुटी कागज कारखाना बन्द हुनुका पछाडि एउटै कारण नभई विभिन्न संरचनागत, आर्थिक र व्यवस्थापकीय समस्या जिम्मेवार रहेको जानकारहरू बताउँछन्।
उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थको अभाव, उत्पादन लागतमा निरन्तर वृद्धि, पुराना मेसिन तथा प्रविधिको समयअनुकूल आधुनिकीकरण हुन नसक्नु, व्यवस्थापनको कमजोरी, आर्थिक संकट तथा सस्तो आयातित कागजसँग प्रतिस्पर्धा गर्न नसक्नु मुख्य चुनौती बने। निजीकरणपछि अपेक्षित लगानी र प्रभावकारी सञ्चालन हुन नसक्दा यी समस्या झन् गहिरिँदै गए र उद्योग अन्ततः बन्द हुन पुग्यो।
हाल भृकुटी कागज कारखानाका भवन, मेसिन तथा अन्य पूर्वाधार जीर्ण अवस्थामा छन्। अधिकांश उपकरण खिया लागेर प्रयोगविहीन बनेका छन् भने उद्योग परिसर झाडीले ढाकिएको छ। उद्योग बन्द भएपछि कर्मचारीहरूले लामो समयसम्म सेवा–सुविधा नपाएको गुनासो गर्दै आएका छन्। स्थानीयवासी तथा सरोकारवालाले उद्योगलाई पुनः सञ्चालनमा ल्याउन वा वैकल्पिक औद्योगिक प्रयोजनका लागि उपयोग गर्न सरकारसँग पटक–पटक माग गर्दै आएका छन् ।
भृकुटी कागज कारखाना बन्द भएपछि नेपाल कागज उत्पादनमा झन् आयातमा निर्भर बन्न पुगेको छ। हाल छपाइ, प्याकेजिङ, शैक्षिक सामग्री, कार्यालय प्रयोजन तथा औद्योगिक उपयोगका अधिकांश कागज भारत, चीन, इन्डोनेसियालगायत मुलुकबाट आयात हुँदै आएका छन्। स्वदेशी उत्पादन कमजोर बन्दै जाँदा हरेक वर्ष अर्बौं रुपैयाँ बराबरको कागज तथा कागजजन्य वस्तु विदेशबाट आयात भइरहेको छ। डिजिटल प्रविधिको विस्तारसँगै हस्तनिर्मित नेपाली कागज उद्योगसमेत बजार विस्तारको चुनौती सामना गरिरहेको छ।
पुनः सञ्चालनको बहस
औद्योगिक क्षेत्रका विज्ञहरू भृकुटी कागज कारखाना नेपालको औद्योगिक इतिहासको महत्वपूर्ण सम्पत्ति भएको बताउँछन्। उनीहरूका अनुसार आधुनिक प्रविधि, दिगो कच्चा पदार्थको व्यवस्थापन र सार्वजनिक–निजी साझेदारीमार्फत उद्योगलाई पुनर्जीवन दिन सकिए आयात प्रतिस्थापन, रोजगारी सिर्जना तथा उत्पादनमूलक अर्थतन्त्रको विकासमा उल्लेखनीय योगदान पुग्न सक्छ।
यद्यपि, उद्योग पुनः सञ्चालनका विषयमा बेला–बेलामा बहस हुने गरे पनि हालसम्म कुनै ठोस सरकारी निर्णय वा लगानी प्रक्रिया अघि बढ्न सकेको छैन। फलस्वरूप, कुनै समय नेपालको औद्योगिक आत्मनिर्भरताको प्रतीक बनेको भृकुटी कागज कारखाना अहिले विगतको गौरव सम्झाउने भग्नावशेषका रूपमा मात्र सीमित भएको छ । यसको पुनर्जीवन केवल एउटा उद्योग पुनः सञ्चालनको विषय मात्र नभई नेपालको उत्पादनमुखी अर्थतन्त्र र औद्योगिक पुनर्जागरणसँग जोडिएको मुद्दाका रूपमा हेरिन थालेको छ।

































प्रतिक्रिया