विश्व हात्ती दिवस : संरक्षणसँगै सुरक्षित करिडोरको चुनौती (तस्बिर) « Khabarhub

विश्व हात्ती दिवस : संरक्षणसँगै सुरक्षित करिडोरको चुनौती (तस्बिर)


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज विश्व हात्ती दिवस, नेपालमा पनि वन्य हात्ती संरक्षण, मानव–हात्ती द्वन्द्व न्यूनीकरण तथा हात्तीका प्राकृतिक आवागमन मार्गको संरक्षणमा जोड दिँदै मनाइँदैछ।

यस वर्ष विश्व हात्ती दिवसको मुख्य सन्देश ‘सुरक्षित तथा वातावरणमैत्री करिडोर, सुरक्षित हात्ती’ रहेको छ । हात्ती संरक्षणका लागि जंगलको संरक्षणसँगै जंगललाई जोड्ने प्राकृतिक आवागमन मार्ग अर्थात् करिडोरलाई सुरक्षित राख्नुपर्नेमा यसले जोड दिएको छ ।

विश्वमा हात्तीका तीन जीवित प्रजाति पाइन्छन्- अफ्रिकी सवाना हात्ती, अफ्रिकी वन हात्ती र एसियाली हात्ती । नेपालमा भने एसियाली हात्ती पाइन्छ।

नेपालमा करिब २५० देखि ४०० वटा वन्य हात्ती रहेको अनुमान छ भने करिब २०० वटा घरपालुवा हात्ती रहेको बताइन्छ । यी दुवै समूह नेपालमा हात्ती संरक्षणका फरक तर महत्वपूर्ण पक्षसँग जोडिएका छन् ।

वन्य हात्ती नेपालको वन, जैविक विविधता र पारिस्थितिक प्रणालीका महत्वपूर्ण अंग हुन् । हात्तीलाई आफ्नो जीवनचक्र पूरा गर्न ठूलो क्षेत्र आवश्यक पर्ने भएकाले उनीहरू एक स्थानबाट अर्को स्थानमा आवतजावत गर्दा परम्परागत बाटो तथा करिडोर प्रयोग गर्छन् ।

तर पछिल्ला वर्षमा वन क्षेत्रको खण्डीकरण, बस्ती विस्तार, कृषि क्षेत्रको वृद्धि तथा सडक लगायतका पूर्वाधार निर्माणले हात्तीका प्राकृतिक आवागमन मार्गमा दबाब बढाएको छ । यसले मानव–हात्ती द्वन्द्वलाई थप जटिल बनाउँदै लगेको छ।

हात्तीले बाली नष्ट गर्ने, घर तथा अन्य सम्पत्तिमा क्षति पुर्‍याउने, मानिस र हात्ती दुवै घाइते हुने तथा ज्यानसमेत जाने घटनाले मानव–हात्ती द्वन्द्वलाई नेपालमा गम्भीर संरक्षण चुनौतीका रूपमा स्थापित गरेको छ।

यस अवस्थामा हात्ती संरक्षणका लागि सुरक्षित तथा वातावरणमैत्री करिडोरको संरक्षण र पुनर्स्थापना आवश्यक देखिएको छ। हात्तीका परम्परागत आवागमन मार्ग पहिचान गरी संरक्षण गर्ने, स्थानीय समुदायको सहभागिता बढाउने तथा मानव–हात्ती द्वन्द्व न्यूनीकरणका प्रभावकारी उपाय कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ।

‘जंगल मात्र सुरक्षित भएर हात्ती सुरक्षित हुँदैनन्, जंगललाई जोड्ने उनीहरूका आवागमन मार्ग पनि सुरक्षित हुनुपर्छ’ भन्ने मान्यता हात्ती संरक्षणका लागि महत्वपूर्ण बनेको छ।

नेपालले हात्ती संरक्षणलाई प्राथमिकतामा राख्दै सन् २०२५ देखि २०३५ सम्मका लागि दसवर्षे हात्ती संरक्षण कार्ययोजना समेत अघि सारेको छ। कार्ययोजनाले हात्तीको बासस्थान तथा करिडोर संरक्षण, मानव–हात्ती द्वन्द्व न्यूनीकरण र समुदायको सहभागितामा आधारित संरक्षणलाई प्राथमिकता दिएको छ।

वन्य हात्तीको संरक्षणसँगै नेपालमा घरपालुवा हात्ती पनि पर्यटन, वन्यजन्तु संरक्षण तथा पर्यटकीय गतिविधिसँग जोडिएका छन्। त्यसैले हात्ती संरक्षणको बहस वन्य हात्तीमा मात्र सीमित नराखी घरपालुवा हात्तीको कल्याण, उचित व्यवस्थापन र संरक्षणसँग समेत जोडिनुपर्ने देखिन्छ ।

विश्व हात्ती दिवसले नेपाललाई पनि हात्ती र मानवबीचको सहअस्तित्व कायम गर्न सुरक्षित करिडोर, स्वस्थ वन क्षेत्र र स्थानीय समुदायमैत्री संरक्षण प्रणाली निर्माणतर्फ अघि बढ्न सन्देश दिएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  १० : ४३ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्