काठमाडौं – निर्देशक सौरभ चौधरी मेघा बजेट फिल्म ‘साम्राज्य’ बनाउने तयारीमा छन् । दुई नायक फाइनल भएका छन्– सौगात मल्ल र दयाहाङ राई ।
यी दुवै नायक एकै फिल्म ‘लुट’बाट उदाएका हुन् । डेढ दशक पहिला रिलिज भएको ‘लुट’का कारण यी दुवै अहिलेको अवस्थामा पनि डिमान्डमा छन् । यी दुवै अभिनय क्षमतामा दर्शकले अब्बल दर्जामा राखेका नायक हुन् ।
यहाँ चर्चा गर्न खोजिएको सन्दर्भ यी दुईले दर्जन फिल्ममा सहकार्य गरिसकेका छन् । तर, हरेक नयाँ फिल्ममा यी दुई एक साथ जोडिँदा ‘लुट’को चर्चा हुन्छ ।
हरेक कलाकारको चर्चा सफल प्रोजेक्टबाट वा उसको अब्बल पक्षलाई हाइलाइट गरिन्छ । तर,डेढ दशकको अन्तरालमा दर्जन फिल्म गर्दा पनि सौगात र दयाहाङको सफल प्रोजेक्टको नाम लिँदा लुट नै सम्झनु पर्ने बाध्यता छ ।
पछिल्लो दशकको प्राइममा रहेका दुई हिरोको सहकार्यलाई डेढ दशकअघिकै फिल्मले जित्नु राम्रो व्यवसायिक रेकर्ड होइन ।
सौगातलाई हिटका लागि दयाहाङ चाहिन्छ ?
सौगात मल्ल अभिनय क्षमताकै कारण फिल्म क्षेत्रमा टिकेका नायक हुन् । नत्र उनका फिल्म लगातार फ्लप हुँदा यो तहको व्यस्तता सायदै हुन्थ्यो ।
सौगात आफैँ भन्दै आएका छन्, ‘मेरा फिल्म यति धेरै फ्लप छन् । तर पनि मैले काम पाइरहेको छु । अचम्म लाग्छ ।’
सौगातका तीन चार फिल्म हिट छन्– ‘लुट १–२’ र ‘कबड्डी २–४’ ।
यी सबैमा दयाहाङ र सौगातको टसल नै फिल्मको मुख्य आकर्षण हो । त्यहीकारण ‘सौगातलाई हिट हुन दयाहाङ चाहिन्छ’ भन्ने भाष्य एक समय बनेको थियो ।
तर, पछिल्लो समय यी दुईका सहकार्य रहेका फिल्म फ्लप बनेसँगै उक्त भाष्य पनि फ्लप भयो । तथापि तथ्य भने स्पष्ट छ– सौगातको हिट फिल्ममा दयाहाङ जोडिएकै छन् ।
अझ ‘कबड्डी’ सिरिजको हकमा त दयाहाङको हिट फिल्ममा सौगात जोडिएको भन्न मिल्छ । यो सिरिजको मुख्य हिरो दयाहाङ नै हुन् ।
सहकार्य र फ्लपका कुरा !
सौगात र दयाहाङले सहकार्य गरेका तीन फिल्म छड्के, मुखौटा र बधशाला समीक्षक वा ठूलो संख्याका दर्शकले मन पराए । तथापि, बक्स अफिसमा कमाल गर्न सकेनन् ।
ती फिल्मका केही अंश अहिले पनि सामाजिक सञ्जालमा चर्चामा आउने गर्छन् ।
बाँकी व्यवसायिक फिल्महरू ‘माछा माछा’, ‘लप्पन छप्पन’ र ‘फन्को’ भने फ्पलको ट्याग पाएका फिल्म हुन् ।
उनीहरूको पछिल्ला फिल्म ‘दुई नम्बरी’ र ‘हात्तीछाप’ भने बक्स अफिसमा नराम्ररी बजारिए ।
पछिल्लो समय यी दुई ‘मितज्यू’मा सँगै देखिएका थिए । यो फिल्म हलमा डिजास्टर फ्लप भएको थियो । त्यसको एक महिनामै फेरि यी दुई एक साथ फिल्म गर्न लागेका हुन् ।
यी दुई अहिलेका चल्तीका नायक प्रदीप खड्का शीर्ष भूमिकामा रहेको फिल्म ‘पिताम्बर’मा सहायक कलाकारको भूमिकामा पनि देखिएका छन् ।
बुझ्नु पर्ने कुरा !
सौगात र दयाहाङ अहिलेका डिमान्डेड नायक भएकाले यी दुई कारण फिल्मको ओज भने बढ्छ । डिजिटल राईट्स र विदेश प्रदर्शन राइट्सले महँगोमा बिक्छ । यसले लगानीको केही प्रतिशत सहज रिकभर हुन्छ ।
तर, बक्स अफिसमा यी दुईको रेकर्ड खासै सुखद छैन । निर्माताको गोजी रित्तिएको नै छ । त्यो पनि लगातर जस्तो ।
अब ‘साम्राज्य’मा यी दुईले के प्रमाणित गर्छन् त्यो हेर्न बाँकी छ । बाँकी समयले देखाइ नै हाल्छ ।












प्रतिक्रिया