भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल « Khabarhub

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल


२७ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि मधेस प्रदेशमा भइरहेको सुझाव सङ्कलन कार्यक्रमलाई प्रभावित पार्नेगरी घटनाको सन्दर्भ तोडमोड गरेर भ्रामक प्रचार गरिएको बताएका छन् ।

मन्त्री पोखरेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै कुनै पनि भ्रम वा भ्रामक प्रचारले शिक्षा सुधारको मूल उद्देश्यलाई रोक्न नसक्ने स्पष्ट पारेका हुन् । उनका अनुसार सिरहा र सप्तरीमा आयोजित अन्तरक्रियामा १०० भन्दाबढी विद्यार्थी, शिक्षक, अभिभावक तथा अन्य सरोकारवालाको सहभागिता थियो ।

कार्यक्रममा दुई जना व्यक्तिले हल्लाखल्ला गरेपछि सहभागीको सहभागिता प्रभावित हुने अवस्था आएपछि आफूहरू कार्यक्रमस्थलबाट बाहिरिएको उनले बताए । “एक मिनेटभन्दा पनि छोटो भिडियो क्लिप काटेर सम्पूर्ण घटनाको सन्दर्भ नै बङ्ग्याएर अनावश्यक भ्रम फैलाउने प्रयास गरिएको छ”, मन्त्री पोखरेलले भने ।

उनले लोकतान्त्रिक व्यवस्थामा असहमति जनाउने अधिकार सबैलाई भए पनि घटनाको पूर्ण सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउनु उचित नहुने बताए ।

मन्त्री पोखरेलले उक्त घटनापछि पनि शिक्षा सुधारका लागि आफ्नो अभियान नरोकिएको जानकारी दिनुभयो । उहाँका अनुसार सिरहास्थित बहिरा बालबालिका अध्ययन गर्ने विद्यालय र मदरसा शिक्षालयमा पुगेर विद्यार्थीसँग संवाद गर्नुका साथै सोमबार मात्रै करिब आठदेखि १० वटा विद्यालयमा पुगेर सुझाव सङ्कलन गरिएको थियो ।

उनले मधेस प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बढ्दो प्रभाव र शिक्षा क्षेत्रमा भइरहेका सकारात्मक कामप्रति असन्तुष्टि हुनसक्ने भए पनि त्यसका आधारमा भ्रम फैलाउनुभन्दा सरकारले गरिरहेको कामको मूल्याङ्कन जनतालाई नै गर्न दिनुपर्ने बताए ।

“हामी राजनीतिक ‘स्टन्ट’ वा हल्ला गर्न होइन, ग्राउन्डमै पुगेर शिक्षा क्षेत्रमा वास्तविक र सकारात्मक परिवर्तन ल्याउन आएका हौँ”, उनले भनेका छन् । हल्लाभन्दा काम ठूलो भएकाले आफ्नो काम र नियतको मूल्याङ्कन जनताले गर्ने विश्वाससमेत उनले व्यक्त गरे ।

मन्त्री पोखरेलले नेपालको विद्यालय शिक्षालाई थप व्यावहारिक, सीपमूलक र समयसापेक्ष बनाउने उद्देश्यले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले विभिन्न जिल्लामा विद्यार्थी, शिक्षक र अभिभावकसँग सुझाव सङ्कलन गरिरहेको जानकारी दिए । उनले अनुसार आगामी शैक्षिकसत्रदेखि कार्यान्वयन गर्ने लक्ष्यसहित ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ लगायतका अवधारणाबारे पनि सरोकारवालासँग सुझाव लिइनेक्रम जारी रहेको छ । मधेस प्रदेशको कार्यक्रमपछि टोली सप्तरी हुँदै मोरङतर्फ जाने कार्यक्रम छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले पहिलो चरणमा भदौ २४ गतेदेखि सातै प्रदेशका २८ जिल्लामा विद्यार्थी, शिक्षक, अभिभावक तथा अन्य सरोकारवालासँग अन्तरक्रिया गरी सुझाव तथा पृष्ठपोषण सङ्कलन गरिरहेको छ । यो अभियान भदौ ३० गतेसम्म सञ्चालन हुनेछ । दोस्रो चरणमा ७७ वटै जिल्लामा सरोकारवालासँग सुझाव लिइनेछ ।

प्रकाशित मिति : २७ भाद्र २०८३, शनिबार  ९ : २२ बजे

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको