काठमाडौं– भारतका लागि प्रस्तावित राजदूत डा. निश्चल नाथ पाण्डेले नेपालमा लगानी र प्रविधि क्रियाशील हुने बताएका छन् ।
सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समिति बैठकमा सुनुवाइका क्रममा प्रस्तावित राजदूत पाण्डेले परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा बदलेर नेपालमा लगानी र प्रविधि भित्र्याउन आफू क्रियाशील रहने बताएका हुन् ।
उनले बाहिरिने भारतीय पर्यटकहरूको तुलनामा नेपाल आउने भारतीय पर्यटकको संख्या ज्यादै न्यून रहेको उल्लेख गर्दै पर्यटन प्रवर्द्धनका लागि अझ धेरै प्रयास गर्नुपर्ने र भारतीय बहालवाला कर्मचारीका लागि विभिन्न योजना ल्याउन उचित हुने धारणा राखे ।
नयाँ दिल्ली, वाराणसी, बेंगलोर, बम्बई लगायतका शहरहरूसँग नेपालको डाइरेक्ट कनेक्टिभिटी भए पनि कलकत्ता फ्लाइट नियमित नभएको र यसका लागि प्रयास गर्नुपर्ने उनले बताए ।
त्यस्तै उनले सीमा सुरक्षामा प्रविधिको प्रयोग बढाउनुपर्ने, ड्रोनको प्रयोग नेपाली भूमिमा गर्ने तथा २४ सै घण्टा स्मार्ट बोर्डर कन्सेप्ट लागू गर्नुपर्नेमा जोड दिए ।
उनले भारतसँगको व्यापार असन्तुलन कम गर्न विद्युत् निर्यात नै मुख्य माध्यम बन्न सक्ने भएकाले सहज रुपमा विद्युत् आयात–निर्यात गर्न आफूले भूमिका खेल्ने जनाए ।
नेपालको राजदूतको हैसियतमा आफ्नो भूमिका , दायित्व र चिन्तन सधैँ नेपाल सरकारको नीति निर्देशन र प्राथमिकतामा केन्द्रित रहने बताए ।














प्रतिक्रिया