बागलुङ– गाउँबाट बसाइँसराइ बढ्दै जाँदा बस्ती सुनसान बन्दै गएको छ । छिमेकी र आफन्त सहर पसिरहेका बेला बागलुङको जैमिनी नगरपालिका–२ दमेकका मातृकाप्रसाद शर्मा भने गाउँमै बसेर कृषि उद्यममा रमाइरहेका छन्।
दुई वर्ष साउदी अरबमा बिताउनुभएका शर्माले गाउँ फर्किएपछि बाँझो जमिनमा किवी खेती सुरु गरेका हुन्। सुरुमा सामूहिक रूपमा अलैँची खेती गरेका उनले स्थानीय हावापानी अनुकूल नभएपछि किवी खेतीतर्फ लागेका हुन्

‘गाउँघरमा धेरै सम्भावना छ । म पनि दुई वर्ष विदेशमा गएर दुःख गरेँ,’ उनले भने, ‘अहिले गाउँमा आएर केही गरौँ भनेर लागेको छु । सुरुमा अलैँची खेती गर्ने प्रयास गरेका थियौँ, तर यहाँको हावापानीसँग मेल खान सकेन ।’
अहिले शर्माको दैनिकी किवी खेतीको रेखदेखमै बित्ने गरेको छ । दमेक गाउँको बीच भागमा रहेको उनको फार्ममा किवी लटरम्म फलेका छन् । सुरुमा पाँच रोपनी जग्गाबाट खेती सुरु गर्नुभएका शर्माले अहिले त्यसलाई विस्तार गरेर २५ रोपनीमा पुर्याएका छन् ।
‘किवी राम्रो हुँदै गएको छ । बजारमा उचित मूल्य पाउन सकियो भने यसबाट परिवार चलाउन समस्या हुँदैन,’ उनले भने।

शर्माले सुरुमा किवीका बिरुवा, टनेल र फलामका पोल खरिद गर्न पाँच लाख रुपैयाँ लगानी गर्नुभएको थियो । अहिले खेती विस्तार गर्दै कुल लगानी करिब २० लाख रुपैयाँ पुर्याएका छन् ।
उहाँले गत वर्ष चार लाख रुपैयाँ बराबरको किवी बिक्री गरेका थिए । यस वर्ष उत्पादन राम्रो भएकाले आम्दानीसमेत बढ्ने अपेक्षा गरेका छन् । किवी खेतीका लागि गण्डकी प्रदेश सरकारले उनलाई १० लाख रुपैयाँ अनुदानसमेत उपलब्ध गराएको छ ।

उत्पादन राम्रो भए पनि बजारमा उचित मूल्य नपाउँदा भने उनी चिन्तित छन्। शर्माले आफ्नो उत्पादन प्रतिकिलो दुई सय रुपैयाँमा बिक्री गर्नुपर्ने बाध्यता रहेको बताए। जबकि बजारमा किवीको मूल्य प्रतिकिलो चार सयदेखि पाँच सय रुपैयाँसम्म पर्ने गरेको छ ।
किवी खेतीसँगै शर्माले पछिल्लो समय गाउँकै केही जग्गामा सुन्तलासमेत लगाएका छन् । उनी गाउँमै कृषि उद्यमको सम्भावना देख्छन्।

युवाले गाउँमै लगानी गरेर उद्यम गर्न सके विदेशमा गर्ने कमाइ स्वदेशमै गर्न सकिने शर्मा बताउँछन् । विदेशमा श्रम र समय खर्चिनुभन्दा आफ्नै गाउँको जमिनको सदुपयोग गरेर आत्मनिर्भर बन्न सकिने उनको विश्वास छ ।
















प्रतिक्रिया