सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा « Khabarhub

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा प्रचलित यो भनाइले धवलागिरि गाउँपालिका–१ मा रहेको गुर्जाको विकटतालाई झल्काउँछ ।

हालसम्म विकट र दुर्गम बस्तीका रूपमा चिनिएको गुर्जालाई चालु आर्थिक वर्षभित्र नै सडक सञ्जालमा जोड्ने लक्ष्यसहित धवलागिरि गाउँपालिकाले योजना निर्माण सुरु गरेको छ । लुलाङ–गुर्जा सडक योजनामार्फत चालु आर्थिक वर्षमा थप करिब चार किलोमिटर ट्र्याक (मार्ग) बनाएर गुर्जालाई यातायात सञ्चालसँग जोड्न लागिएको गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।

‘आर्थिक वर्ष २०७९–०८० देखि सुरु भएको लुलाङ–गुर्जा धवलागिरि गाउँपालिकाको गौरवको प्राथमिकता प्राप्त योजना हो,’ उनले भने, ‘यसअघिका तीन वर्षमा गाउँपालिका, प्रदेश र सङ्घीय सरकारको लगानीमा लुलाङदेखि भैसीमानेसम्म करिब १८ किलोमिटर सडकको मार्ग खुलेको थियो ।’

चालु आर्थिक वर्षमा एक करोड ७० लाख बजेट विनियोजन गरेको योजनामार्फत छनोट भएको ठेकेदार कम्पनी लुलु कन्स्ट्रक्सनले भैसीमाने खाल्टादेखि झिरसो भन्ने ठाउँसम्म करिब एक किलोमिटर मार्ग खोलिसकेको छ । यसै महिनामा रु ८८ लाख ८५ हजारमा ठेक्का सम्झौता भएको थियो ।

थप चार किलोमिटर सडकको मार्ग खुलेमा गुर्जा यातायात सञ्जालमा जोडिने धवलागिरि गाउँपालिका–१ का वडाअध्यक्ष झकबहादुर छन्त्यालले बताए । ‘दुई वर्षअघि सम्म गुर्जादेखि लुलाङ पुग्न पूरै दिन भीर, जङ्गल र खोल्साको उकालो, ओरालो पैदलयात्रा गर्नुपर्ने अवस्था थियो,’ उनले भने, ‘हाल गाडी पुग्ने झिरसोदेखि ३० मिनेट पैदलयात्रा गरेर गुर्जा पुगिन्छ ।’

गाडी चल्न थालेपछि गुर्जाबाट दुई घण्टा ३० मिनेटमा गाउँपालिकाको केन्द्र मुना, पाँच घण्टामा बेनी र सात घण्टामा पोखरा पुग्न सकिने भएको वडाअध्यक्ष छन्त्यालले बताए ।

सडकको मार्ग खोल्नाका साथै विभिन्न ठाउँमा ग्यावियन, मेसिनरी र पलम पर्खाल पनि निर्माण भएको छ । मार्ग खुलेको सडकको ग्रेड, घुम्ती मिलाउन, साँघुरो ठाउँमा फराकिलो पार्न, पक्की नाला बनाउन चालु आर्थिक वर्षमा सङ्घीय सरकारको सहरी विकास मन्त्रालयबाट  तीन करोड र गण्डकी प्रदेश सरकारले ५० लाख विनियोजन गरेको छ ।

गुर्जा जोड्ने सडकमा पर्ने लमसुङस्थित दरखोलामा प्रदेश सरकारले २५ मिटर लामो मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको छ । दैनिक उपभोग्य, निर्माण सामग्री ढुवानी, बिरामीलाई समयमा नै अस्पताल पुर्‍याउन सहज भएको छ ।

अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा म्याग्दीको छवटा स्थानीय तहका ४५ मध्य सडक यातायातको सुविधा नपुगेको एक मात्र वडा हो ।

एउटै बस्ती एकै वडामा समेटिएको दुई ६५ घरधुरी रहेको गुर्जाको जनसङ्ख्या एक हजार ५०५ जना छ । खानी उत्खननका लागि आएका छन्त्याल र दलित समुदायले गुर्जामा बस्ती बसाएका इतिहास छ ।

सडकको पहुँच नहुँदा खच्चड, घोडा र भरियामार्फत खाद्यान्न तथा निर्माण सामग्री ढुवानी गर्दा खर्च महँगो लाग्ने गरेको छ । बिरामीलाई अस्पताल पुर्‍याउन हेलिकप्टर चार्टर गर्नुपर्छ ।

सडक यातायातको सुविधा भएपछि गुर्जाका बासिन्दालाई सहज हुनुका साथै आन्तरिक पर्यटकको आगमन पनि बढ्ने अपेक्षा गरिएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए । 

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  १० : ५८ बजे

भक्तपुर- १ का मतदाता भन्छन् : सधैँ जनतामाझ रहने उम्मेदवारलाई मात्र मत दिन्छौँ

काठमाडौं– ‘चुनावमा मात्रै भोट माग्न आउनेलाई यसपाली मतदान गरिँदैन’ भक्तपुर

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण, एकै परिवारका चारसहित कम्तीमा १६ जना मारिए

इस्लामावाद- पाकिस्तानले फेरि एक पटक अफगानिस्तानमा एयरस्ट्राइक गरेको छ। आइतबार

यो निर्वाचनले परिवर्तनको अपेक्षा पूरा गर्नेछ : डा. अयोधीप्रसाद यादव (अन्तर्वार्ता)

राजविराज– प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले २०७३ असार २७

पाक-अफगान सीमा तनाव चुलियो

बिहसुद– पाकिस्तानले आइतबार छिमेकी अफगानिस्तानको सीमा क्षेत्रमा गरेको व्यापक हवाई

मेची भन्सारबाट आठ अर्ब ६१ करोड बढीको अलैँची निर्यात

भद्रपुर– मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को माघ