काठमाडौं उपत्यकाको १९ प्रतिनिधि सभा क्षेत्रमध्ये सबैभन्दा चर्चामा रहेको क्षेत्र हो काठमाडौं–४ । २०६४ सालको संविधानसभा निर्वाचनमा त्यस क्षेत्रले गगनकुमार थापालाई समानुपातिकतर्फबाट सांसद बनाएको थियो । त्यसपछिका ३ निर्वाचनमा पनि उनी लोकप्रिय मतसहित प्रत्यक्ष निर्वाचित बने ।
२१ फागुनमा हुने निर्वाचनका लागि भने थापा सर्लाही ओर्लिएका छन् । सर्लाहीसहितका जिल्लामा बहुमतले निर्वाचित बनेर मधेसमा कांग्रेसको विरासत फर्काउने उनको ध्येय छ । जसकारण काठमाडौं–४ ले यतिबेला युवा नेता तथा अन्तर्राष्ट्रिय क्रिकेट कमेन्टेटर सचिन तिमल्सिनालाई उम्मेदवारको रुपमा पाएको छ ।
काठमाडौं महानगरपालिका–३० ज्ञानेश्वरवासी तिमल्सिना ‘भरोसा नयाँ पुस्ताको, मार्गचित्र समुन्नत नेपालको’ भन्ने नारासहित यतिबेला चुनावी मैदानमा छन् । ३३ वर्षीय तिमल्सिना गगनलाई जित दिलाउन करिब २ दशकदेखि पृष्ठभूमिमा सघाउँदै आएका पात्र हुन् । तर पार्टीमा उनको औपचारिक सक्रियता भने २०७० सालदेखिको हो ।
०७४ मा उनकै सक्रियतामा पार्टीले युवा विशेष ‘युथ कांग्रेस नेपाल’ भातृ संगठनको सुरुवात गर्यो । पार्टीमा युवाको आबद्धता मजबुद बनाउने उद्देश्यसहित सुरु भएको संगठनको संस्थापक अध्यक्ष उनी नै बने ।
करिब सात वर्ष उक्त भूमिकामा रहेका उनले संगठनलाई ४८ जिल्लामा विस्तार गरेका थिए । उनकै नेतृत्वमा गिग इकनोमी (काम अनुसार पारिश्रमिक पाउने लचक आर्थिक व्यवस्था) र जलवायु परिवर्तनसम्बन्धी युवाले तयार गरेका नीति पत्रहरू संसदीय दलसम्म पुगेर पार्टीको २०८० को नीति प्रक्रियामा समावेश भयो ।
नागरिक स्वतन्त्रता र अभिव्यक्ति अधिकारको पक्षमा समेत स्पष्ट विचार राख्ने उनमा राजनैतिक चेत भने पारिवारिक पृष्ठभूमिबाटै आयो । उनका बुबा सुरेन्द्रकुमार तिमिल्सिना पाँचथरबाट ६ पटकसम्म महासमिति सदस्य हुन् भने आमा क्षेत्रीय प्रतिनिधि हुन् । अमेरिकाको हार्वर्ड केनेडी स्कूलबाट ‘नेतृत्व, संगठन र कार्य’ एक्जुकेटिभ कोर्स र द्वन्द्व, शान्ति र विकास अध्ययनमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट आर्जन गरेको ज्ञानलाई नेतृत्वसहित सुशासित समाज निर्माणको उद्देश्य राखेका उनलाई खबरहबले गरेको पाँच प्रश्नको जवाफको सम्पादित अंश :
तपाईँ घरदैलोको चटारोमा हुनुहुन्छ, जनतामाझ जाँदा तपाईँले जनताको मत आफ्नो पोल्टोमा पार्ने आधार के–के प्रस्तुत गर्नुभएको छ ? तपाईँलाई जनताले भोट किन दिने ?
म संगठनात्मक प्रक्रियामा भिजेर एक तयार युवा भएर आएको छु । पार्टीमा म लामो समयदेखि आन्तरिक रुपमा काम गर्दै आएको सक्रिय कार्यकर्ता हुँ ।
जेन–जीले पार्टीभित्र र बाहिर चाहेको पुस्तान्तरण अनुरूप म उम्मेदवार बनेको छु । नीति निर्माण र विधायकीको काममा लामो समयदेखि अनुभव छ । युवाहरूको मुद्दामा लामो समयदेखि सडकबाट समेत काम गर्दै आएको हुँ । यिनै आधार हुन्– जसले गर्दा मतदाताले मलाई मतका लागि पक्कै योग्य ठान्नुहुनेछ ।

नातिदेखि हजुरबुबा पुस्ता रिझाउने तपाईँसँग के त्यस्ता एजेन्डा छन्, जसले मतदानका लागि प्रेरित गरोस् ?
युवाको लागि रोजगारी, महिला उद्यमशीलताको कार्यक्रम र ४० पश्चात् रोग नै ठुलो चुनौतीका रुपमा आउने हुँदा स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको कार्यक्रमका रुपमा अघि बढाउने कुरा सभापति ज्यूले पनि बोलिसक्नुभएको छ । जसले ज्येष्ठ नागरिकसहित सबैलाई विशेष फाइदा पुग्नेछ । विद्यालय शिक्षालाई रोजगारी र सीपसँग जोड्ने, सुशासनका विषय, डिजिटल सेवा र प्राविधिक शिक्षा नै मेरा मुख्य विषय हुन् ।
तपाईँकै शब्दमा भन्दा रामले छोडेका अभिभारा पनि होलान् नि ? भरतलाई ती अभिभारा पूरा गर्न कति सहज ?
यहाँ भौतिक पूर्वाधार विकासमा एकदमै धेरै काम भएको छ । हामीले एक सय ४८ परियोजना पुरा गरेका छौँ भने २ सय ३० वटा पाइपलाइनमा छन् । केही वडाहरूमा खानेपानीको समस्या छ । त्यसको समाधानका लागि पाइप विस्तार लगायतमा काम भएको पनि हो । तर चुनावी सरकारपछि भने केही काम अधुरा छन् । त्यसलाई पुरा गर्नुपर्नेछ ।
केही क्षेत्रमा अलिकति बाटोको समस्या छ । विशेषगरी रोजगारी, सीप विकासमा जनताको अपेक्षा बढी रहेकाले त्यसमा कसरी जोड्ने लगायत विषयमा काम गर्नेछु ।
काठमाडौं–४ मा सभापतिज्यूले पुरा गर्न बाँकी २ सय ३० वटा पाइपलाइनमा रहेका परियोजना पूरा गर्नुपर्नेछ । साथसाथै बदलिँदो विश्वमा फरक चुनौती आइरहेका छन्, त्यसकाराण रोजगारीको मुद्दामा हामीले युवाहरूलाई प्रविधिसँग जोड्न सकेनौ भने एउटा ठूलो अभिभारा गुमाउँछौँ । म माथि त्यो मुख्य जिम्मेवारी भएको अनुभूति गरेको छु ।
तपाईँ खेलजगतको अन्यत्र बुझेको उम्मेदवार, खेलाडी र खेल क्षेत्रका लागि तपाईँको योजना के ?
क्रिकेटको विकासमा म नजिकै रहेर त्यसलाई अवलोकन गरेको छु । यदि खेलकुद संघ, बोर्ड लगायत सरोकारवाला पक्षले ध्यान दिने हो भने नतिजा प्राप्त हुँदो रहेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमै मान्छेको इच्छा र चासो पनि बढ्दो रहेछ भन्ने क्रिकेटले प्रमाणित गरेको छ । क्रिकेटमा प्राप्त सफलताको कोशेढुङ्गाका रुपमा एनपीएललाई लिन सकिन्छ ।
अन्य केही खेलमार्फत पनि नेपालले त्यसैगरी छलाङ् मार्न सक्ने मैले देखेको छु । भलिबललाई खासै ध्यान दिइएको छैन, यसमा पनि क्रिकेटको हाराहारीमै फ्यान पलोइङ छ । विशेषगरी महिला भलिबलमा अझ मान्छेको चासो बढी देखिन्छ । फुटबलमा आक्रोश छ त्यसलाई फेरि एकपटक व्यवसायिकतातर्फ लैजानुपर्नेछ ।
फुटसलमा पनि राम्रो आकर्षण छ । नेपालका लागि व्यापक सम्भावना बोकेको क्षेत्र साहसिक खेल पनि हो । क्रिकेटलाई मोडलको रुपमा जसरी यो व्यवसायिकता तर्फ गयो, त्यसरी अन्य खेलकुदलाई पनि लैजान सकिन्छ ।
म अहिले मेरो क्षेत्रभर रहेका फुटसल गणनासँगै खेल प्रेमी युवा साथीहरूसँग भेट गरिरहेको छु । त्यसमा एउटा एमपी कप भनेर फुटसल लिग पनि गर्न सकिन्छ भन्ने मेरो योजना छ । त्यसका लागि एन्फासंग पनि कुरा गर्नुपर्ने हुन्छ । म खेल क्षेत्रमा भिजेको व्यक्ति हुनाले क्रिकेटको सफलताको मोडल चाहिँ मजाले प्रयोग गर्छु ।
२०१४ मा झण्डाको कृतिमान राखे जस्तै रामको कृतिमान कायम राख्न भरतलाई चुनौती पनि छ, जितेर विरासत जोगाउन सकिन्छ ?
काठमाडौं–४ को पृष्ठभूमिमा बसेर मैले करिब २ दशकदेखिनै काम गरिरहेको छु । जसकारण यहाँ के काम भएका छन्, यहाँका आवश्यकता के हुन् भन्नेमा म अभ्यस्त छु ।
यहाँका जनताका काम, यहाँ भएका कामबारे तयार पारिएका सबै दस्ताबेज हिजो पनि मेरो पहुँचमा थिए, आज पनि छन् । त्यसैले मतदाताका लागि म नयाँ भएपनि मेरो लागि यो क्षेत्रको कुनै पनि नयाँ होइन । त्यसैमाथि म सभापति र उहाँको पहिलेदेखिका सबै टिमसंग निरन्तर छलफल र वार्तामा छु ।

के कसरी काम गर्ने भन्नेबारे सुझाव लिइरहेको हुन्छु । यस क्षेत्रका लागि सभापति ज्यूको जस्तै मेरो पनि एउटा अनुसन्धानको टिम खटिनुभएको छ । उहाँहरूले यहाँको मतदाताको इच्छा, आकांक्षा, आवश्यकताबारे टिपोट गरिराख्नुभएको छ ।
पार्टीको मेरो अग्रज, साथीहरू रातदिन खटिराख्नु भएको छ । तर मैले जित्ने मात्रै कुरा होइन, यहाँ देशलाई हरेक खालको अतिवादीबाट बचाउनुपर्नेछ । हामीले प्रतिनिधिसभामा अतिवादीलाई प्रवेश दिँदै गर्दा पुनः देशमा अराजकता बढ्छ कि भन्ने छ ।
यो त्रासको बीचमा देश सम्हाल्ने शक्तिको जित हुन्छ । कांग्रेसले जित्नु भनेको देशको परिस्थिति सम्हालिनु र सुधारिनु हो । त्यसैले अहिले मतदाताले बुझ्नुपर्ने कुरा भनेको चर्को कुरा गरेर देशलाई आगो लगाउने होइन, बलेको आगोमा पानी हालेर आगो निभाउने शक्तिको खाचो छ । त्यो शक्ति अहिलेको कांग्रेस मात्रै हो । कांग्रेस सबैभन्दा पुरानो इतिहास बोकेको, समयानुकूल परिवर्तित विचार अंगीकार गरेको सबैभन्दा नयाँ शक्ति हो ।
नयाँ भनिएकाहरू अधिकांश सामाजिक सञ्जालबाट उदयमान हुनुभएको छ । हिजो मात्रै म यस क्षेत्रका नयाँ भनिएका केही उम्मेदवारहरुसँग बहसमा थिएँ । केही त सहभागी नै हुनुभएन, त्यहाँ सहभागीसँग पनि हामी नयाँ हौं भन्ने बाहेकका विषय नै थिएनन् । उहाँहरुमा कसरी के गर्ने भन्नेमा प्रस्ट एजेन्डा देखिएन ।
त्यहाँ मैले मेरो धारणा राख्दा भनेको छु– म एक सुझबुझपूर्ण तयारीका साथ सांसद बन्ने मैदानमा उत्रिएको छु । आलोचनात्मक टीकाटिप्पणी भन्दा पनि म भिजन लिएर अगाडी बढेको छु । मेरो आफ्नै अवधारणा छ । म यस्तो देशको कल्पना गर्दछु, जहाँ धनीका लागि बजार होस्, गरिबको लागि राज्य होस् र स्वतन्त्रता होस् । नेपाल बनाउने मेरो आइडिया यही हो ।
म यसैको लागि काम गरिरहेको छु । सोहीकारण म के भन्छु भने विधायकले बहस गर्ने भनेको के नीति ल्याउने भन्नेमा हो तर विधायकको बहस नै व्यक्तिगत तवरमा गयो वा हामी ठिक अरु बेठिकमा गयो भने त्यसले कुनै निचोड र समाधान दिन्छ भन्ने मलाई लाग्दैन ।
त्यसैले पनि जेन–जी आन्दोलनको भावनाअनुरुप बदलिएको पार्टी नेपाली कांग्रेसको उम्मेदवार मलाई जनताले मतदान गरेर निर्वाचित गर्नुहुनेछ भन्नेमा विश्वस्त छु ।













प्रतिक्रिया