महाधिवेशनमा गुट चलाएकी पूर्वराष्ट्रपति विद्या निर्वाचनमा मौन « Khabarhub

महाधिवेशनमा गुट चलाएकी पूर्वराष्ट्रपति विद्या निर्वाचनमा मौन

छैन सशरीर मत माग्ने अवस्था



काठमाडौं- पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादवी भण्डारी चुनावको मुखमा मौन छिन् । मङ्सिर २७ गतेदेखि पुस ३ गतेसम्म भएको नेकपा एमालेको एघारौँ महाधिवेशनयता विद्या भण्डारीको नाम सुनिएको छैन ।

महाधिवेशनमा आफ्नो पक्षबाट ईश्वर पोखरेलाई अध्यक्षको उम्मेदवार बनाएकी भण्डारीलाई आफ्नै पक्षका नेताहरुले साथ नदिएपछि राजनीतिमा सक्रिय हुने रहर हुँदाहुँदै पनि मौन बस्नुपरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई नस्वीकारेकै कारण उनले निर्वाचन समेत लड्न पाइनन् । मोरङबाट निर्वाचन लड्न माहोल बनाइरहेकी उनलाई ओलीले नै ब्रेक लगाएका हुन् ।

महाधिवेशनमा आफ्नो पक्षका नेताहरू उठाउँदा उनलाई धेरै ओलीबाट रिसाएका नेताहरुले साथ दिने आंकलन गरिएको थियो । तर, भनेजस्तो साथ नपाएपछि विद्याले उम्मेदवार बनाएको ईश्वरलाई महाधिवेशन प्रतिनिधिले झिनो मत दिएर पराजित गराए । पुष ३ गते नतिजा सार्वजनिक हुँदा ओलीले १६६३ मत ल्याए भने पोखरेलले ५६३ मतमा चित्त बुझाउनुपर्‍यो ।

महाधिवेशन हुनुअघि विद्यादेवी भण्डारीको उम्मेदवार भनिएका पोखरेलले कति मत ल्याउँछन् हेर्नका लागि ओलीले चुनौती दिएका थिए । भण्डारीको सदस्यता रोकिएको विषयमा ओलीलाई चर्को आलोचना भएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

हुन त भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले पूर्वराष्ट्रपति भण्डारीको निवास बङ्गालमा पनि आक्रमण गरेपछि उनी अहिले बालुवाटारमा बसोबास गर्छिन् । उनका निकटका अनुसार उनले बालुवाटारमा बसेर परिस्थितिलाई नियालिराखेकी छन् । उनी केही पुस्तकहरु समेत लेखिरहेकी छन् ।

हुन त केपी ओली निकट नेताहरू नेतृत्वको परीक्षण संकटकालमा हुने भएको बताउँदै एमालेलाई सङ्कट परेको बेला चुइँक्क नबोल्ने व्यक्तिलाई कार्यकर्ताले चिन्ने दाबी गर्छन् । ‘एमाले सङ्कटमा छ, अहिले सबै लागेर देशभर आफ्ना नेता कार्यकर्ता जिताउन हिँड्नुपर्ने अवस्था छ । यो बेलामा खोपीबाट निस्केको देउता बाहिर नदेखिएपछि के नेतृत्व भन्नु ?’ पूर्वराष्ट्रपति भण्डारीतर्फ इंगित गर्दै ओली निकट ती नेताले भने, ‘उहाँ त झापाबाट ओली हारोस् र देशभर एमाले अपमानजनक अवस्थामा पुगोस् भन्ने पक्षमा हुनुहुन्छ जस्तो लाग्छ । नत्र त अगाडि होहल्ला गर्ने मान्छेले संकटको बेला किन चुप लागेर पार्टीलाई घाटा लगाउनु र ?’

आफ्नैले साथ नदिँदा निराश

महाधिवेशनमा भण्डारीले पूर्ण रूपमा ईश्वर पोखरेललाई साथ दिएर उम्मेदवार बनाए पनि पोखरेलाई भण्डारीका पुराना सारथीले साथ दिएनन् । विगतमा भण्डारी गुटमा रहेका उपाध्यक्ष विष्णु पौडेल, नेताहरू शेरधन राई, भानुभक्त ढकाल, पृथ्वीसुब्बा गुरुङलगायतले साथ नदिएपछि ईश्वर पोखरेल समूह कमजोर भयो ।

सबै पदाधिकारीमा उम्मेदवार दिएको पोखरेल समूहबाट जम्मा दुई जना उपमहासचिवमा योगेश भट्टराई र उपाध्यक्षमा गोकर्ण विष्ट मात्रै विजय भए । विजयी भएका दुई नेताहरूमध्ये आगामी प्रतिनिधि सभाको निर्वाचनमा गोकर्णलाई एमालेले गुल्मीबाट टिकट दिएको छ भने भट्टराईको ताप्लेजुङको टिकट खोसेर उनको ठाउँमा क्षितिज थेबेलाई पठाएको छ ।

महाधिवेशनमा गुट चलाएको र ओलीको विपक्षमा देखिएकै कारण भण्डारीको सदस्यता पनि ओलीले महाधिवेशनअगाडि नै रोकेका छन् । महाधिवेशन अगाडिसम्म भण्डारीको सदस्यता नवीकरण गर्न पोखरेल समुह लगायतले बलियो जोड गरेपनि उनको सदस्यता नवीकरण हुन पाएन ।

पछिल्लो समय त निर्वाचनको माहोलले गर्दा भण्डारीको सदस्यताको विषय पार्टीको सचिवालय बैठकमै उठ्न छोडेको उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ बताउँछन् ।

‘निर्वाचनको माहोल चलेको बेला कहाँ पूर्वराष्ट्रपतिको सदस्यता नवीकरणको विषय उठ्छ ? यो त अहिलेको एजेन्डा नै छैन ।’ गुरुङले खबरहबलाई भने, ‘हामीले सम्पूर्ण शक्ति निर्वाचन केन्द्रित गरेका छौँ । उहाँ न उम्मेदवार हुनुहुन्छ, न पार्टीको सदस्य हुनुहुन्छ । उहाँ त हाम्रो पूर्वअभिभावक हो । आवश्यक परेको खण्डमा पूर्वराष्ट्रपतिका हैसियतले हामीले सल्लाह लिन्छौँ । तर उहाँका विषयमा अहिले छलफल गर्ने र सोच्ने समय हामीलाई छैन ।’

एमाले शीर्षस्थ स्रोतका अनुसार अहिले पूर्वराष्ट्रपति भण्डारीका नजिकका विश्वासिला पात्र रहेका शेरधन राईले पनि उनको सदस्यता नवीकरण गर्नु नहुने पक्षमा मत जाहेर गर्दै आएका छन् । ओलीका असली समर्थक बनेका राई पनि भण्डारीलाई रोक्ने पक्षमा रहेको नेताहरूको दाबी छ ।

यस्तै विगतमा भण्डारी समूहबाट नै अवसर पाएका र पाँच पटकसम्म अर्थमन्त्री बनेका विष्णु पौडेल पनि भण्डारीलाई सक्रिय राजनीतिमा आउन नदिने पक्षमा रहेको सचिवालयका नेताहरु दाबी गर्छन् । पौडेल त १२ औँ महाधिवेशनको नेतृत्वका लागि आफू बलियो उम्मेदवार बन्न अहिलेबाट नै कसरत थालिसकेका छन् । आफूभन्दा ईश्वर पोखरेल शक्तिशाली हुन लागेपछि पौडेल ओली गुटमा गएर ईश्वरलाई रोकेको पनि नेताहरूको दाबी छ । यसैकारण विष्णुलाई निर्वाचन क्षेत्र परिवर्तन गरिकन ओलीले आगामी प्रतिनिधि सभाको उम्मेदवार बनाएका छन् ।

यता शेरधन पनि विद्या भण्डारीको जन्मथलो भोजपुरबाट निर्वाचन लड्दैछन् । आफू समर्थक नेताहरू भटाभट ओलीको पक्षमा खुलेपछि भण्डारीलाई अहिले सकस देखिन्छ । हुन त राई, पौडेल लगायतका नेताहरुलेलाई भण्डारीले नै ओलीको टिममा गएर महाधिवेशनमा विजय हुन र पछि गुट चलाउन आग्रह गरेको पनि दाबी गरिन्छ ।

यसबारे प्रश्न गर्दा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका राई भन्छन् ‘एमाले एक ढिक्का भएर हिँडेको बेला उहाँको विषयमा केही सोचेको छैन। उहाँ हाम्रो पूर्वराष्ट्रपति हो । उहाँलाई त्यही हिसाबले हामी सम्मान गर्छौँ । यो गलत कुराहरुको पछि नलागौँ ।’

भण्डारीले गुट चलाउन नसकेकी हुन् ?

महाधिवेशनमा गुट चलाएकी भण्डारीले महाधिवेशन पछाडि एकाएक मौन हुनुले उनीमाथि थुप्रै प्रश्नहरु उब्जिएका छन् । नेकपा एमालेकै शीर्षस्थ नेताहरू महाधिवेशनमा गुट चलाउनेले निर्वाचनमा पनि खटेर एमालेलाई जिताउन लाग्नुपर्ने बताउँछन् । एकथरि नेताहरु भण्डारी सक्रिय नभएकै कारण एमालेले सोचेजस्तो सिट नल्याउने बताउँदै ओलीलाई चेताउनका लागि उनी सक्रिय नभएको समेत दाबी गर्छन् ।

परिस्थितिलाई विश्लेषण गर्दा भण्डारीले गुट चलाउन नसकेको भने देखिँदैन । किनकि काठमाडौँ-५ बाट उम्मेदवारी दर्ता नगर्ने पक्षमा रहेका ईश्वर पोखरेललाई अन्तिममा भण्डारीकै करले उम्मेदवारी दर्ता गर्न लगाइएको दाबी गरिन्छ । यसबारे भण्डारी निकट स्रोत भन्छ, ‘सबै परिस्थितिलाई विश्लेषण गरिरहनु भएको छ । उहाँले गुट चलाउन नसक्नु भएको भन्ने कुरा होइन । एमाले निर्वाचन केन्द्रित भएकाले उहाँ चुप लागेर बस्नुभएको हो । निर्वाचनपछि उहाँको सदस्यता नवीकरण गर्ने विषय काहीँ न कतै उठ्छ र उहाँ पुन राजनीतिमा सक्रिय हुनुहुन्छ । मूलधारको राजनीति गरेको मान्छेलाई गुटको आवश्यकता पर्दैन ।’

हुन त भण्डारीले यस अगाडि नै आफू राजनीतिमा सक्रिय हुने सोच बनाइसकेको र आफू पछि नहट्ने बताइसकेकी थिइन् । यसैकारण भण्डारीले थापा गाउँमा मदन भण्डारी फाउन्डेसनका नाममा आफ्नो सम्पर्क कार्यालय समेत खोलेकी थिइन । महाधिवेशन अगाडि पार्टी सदस्यता नवीकरण होस् र आफू महाधिवेशनमा दाबेदार हुन पाउने अपेक्षासाथ उनले देशभरि आफ्नो पक्षको माहोल समेत नेताहरुलाई बुझ्न लगाएकी थिइन् ।

फाइल तस्बिर

तर आफू बलियो नहुने डरका कारण ओलीले उनलाई सक्रिय रुपमा राजनीतिमा आउन नदिन सदस्यता रोकेर अगाडि बढे । कुनै न कुनै रूपले निर्वाचन पछाडि भण्डारीलाई एमाले नेताहरूले सक्रिय बनाउने दाबी शीर्षस्थ स्रोत गर्छ । अर्को स्रोत त्यसको सम्भावना टरिसकेकाले यो बेतुकको हल्ला भएको दाबी गर्छ ।

एमाले सचिवालयका एक नेताका अनुसार भण्डारीको सदस्यताको विषय निर्वाचनपछि सचिवालय बैठकमा उठाउने तयारी गरिएको छ। ‘यो हाम्रो नियमित एजेन्डा हो । उहाँलाई सक्रिय राजनीतिमा ल्याएको खण्डमा उहाँले हाम्रो अभिभावकत्व ग्रहण गर्नुहुन्छ ।’ ती नेता भन्छन, ‘एमालेलाई सक्रिय अभिभावक चाहिएको छ । हामी अध्यक्ष ओलीलाई मनाएर पनि सदस्यता नवीकरण गराई छाड्ने पक्षमा छौँ ।’

हुन त एमालेहरू मदन भण्डारीको लिगेसी र उनको सिद्धान्तलाई साकार पार्न पनि भण्डारीलाई राजनीतिबाट टाढा राख्न नसकिने बताउँदै आएका छन् ।

निर्वाचनमा के गर्छिन् भण्डारी ?

भण्डारी निकट नेताहरूका अनुसार निर्वाचनमा एमाले जिताउन सभाहरुमा जाने तयारीमा अहिलेसम्म भण्डारी छैनन् । कतिपय भण्डारी पक्षका नेताहरूले एमालेलाई जिताउनका लागि सक्रिय हुन आग्रह गरेपनि अहिलेसम्म उनी सक्रिय हुने तयारीमा छैनन् । पार्टी सदस्यता नभएको र अहिलेसम्म पूर्वराष्ट्रपतिको सम्मानित हैसियतमा भएका कारण उनी अहिले एमाले जिताउन सक्रिय नहुने जवाफ दिन्छिन् ।

यसबारे हामीले भण्डारीका सचिवालय सदस्य राजकुमार राईलाई सोध्यौँ ‘यो निर्वाचनमा भण्डारी सक्रिय हुने कुनै पनि सेड्यूल छैन ?’

उनले जवाफ दिए- ‘पूर्वराष्ट्रपतिज्यू यो निर्वाचनमा सक्रिय हुने र एमालेलाई मत माग्ने विषयमा कुनै पनि सेड्यूल बनेको छैन। उहाँ अहिले आफ्नै निवास बालुवाटारमा अध्ययन अनुसन्धान र लेखपढमा केन्द्रित हुनुहुन्छ ।’

राईले खबरहरूलाई भने, ‘सक्रिय हुनुपर्ने मागहरू त नेताहरुले राख्नुभएको होला । तर उहाँले यसबारे अहिले निर्णय गर्नुभएको छैन । मैले पाएको जानकारी अनुसार उहाँ पार्टी सदस्यता नवीकरण नभएसम्म सक्रिय भएर एमाले जिताउन लाग्नुहुन्न होला ।’

भण्डारी मोरङ २, ३ या ४ बाट निर्वाचनमा उठ्न चाहन्थिन् । तर ओलीले टिकट नदिने सुईंको पाएपछि यसबारे उनले थप माग गरिनन् । मोरङबाट टिकट नमिल्दा पनि भण्डारी काठमाडौँको कुनै एक निर्वाचन क्षेत्रबाट उठ्ने तयारीमा थिइन् । तर उनलाई त्यहाँ पनि ओलीले छेक्ने बुझेपछि चुपचाप बसेको बताइन्छ ।

‘महाधिवेशनमा आफ्नो पक्ष उठाउनुभएकै थियो । उहाँ निर्वाचनमा पनि मोरङ या काठमाडौँबाट उठ्न चाहनुहुन्थ्यो। तर ओलीले टिकट नदिने विषयमा चलाखी अपनाएपछि उहाँ चुपचाप बस्नुभएको हो ।’ भण्डारी निकट स्रोत भन्छ, ‘एमाले अध्यक्ष ओलीले चारैतर्फ घेराबन्दी गरेपछि उहाँको मन मरेको हो । ढिलो चाँडो एमाले शुभेच्छुकले उहाँको कुरा बुझ्छन् र पार्टी सदस्यता नवीकरण भएपछि सक्रिय हुनुहुन्छ ।’

पूर्वराष्ट्रपति भण्डारी निकट नेताहरू भने अन्तिम समयसम्ममा भण्डारीले सामाजिक सञ्जाल मार्फत भएपनि एमालेलाई मत माग्ने प्रक्रियामा सहभागी हुनसक्ने बताइन्छ ।

‘सशरीर नपुगे पनि विभिन्न सञ्जालहरू मार्फत उहाँले एमालेलाई मत माग्नुहुन्छ भन्ने कुरामा हामी ढुक्क छौँ ।’ एमालेको शीर्ष स्रोत भन्छ, ‘पार्टीका अन्य नेताप्रति उहाँको कुनै तुस छैन । एमाले अध्यक्ष ओलीप्रति मात्रै उहाँले थोरै चित्त दुखाउनु भएकाले पार्टीको पक्षमा उहाँले मत माग्नु हुँदैन होला भन्ने लागेको छैन ।’

छोरी व्यवस्थापनमा पनि चुकिन् विद्या

मदन भण्डारीका दुई जना छोरी छिन्। पहिलो छोरी उषकिरण भण्डारी र दोस्रो छोरी निशाकुसुम भण्डारी हुन् । निशाभन्दा उषा राजनीतिमा सक्रिय छिन् । गत वर्ष भएको राष्ट्रियसभा निर्वाचनमा त एमालेले उषा किरणलाई टिकटसम्म दिन लागेको थियो । तर अन्तिममा ओलीले रोके । भण्डारी सक्रिय राजनीतिमा आउने चर्चा चल्नुअगाडि उषालाई राम्रै माया गरेका ओलीले भण्डारी सक्रिय राजनीतिमा आउने हल्ला फैलिएपछि वास्ता गर्न छोडेका हुन् ।

छोरी उषा किरणलाई राष्ट्रिय सभामा एक सिट दिएर भण्डारीलाई सक्रिय राजनीतिबाट रोक्न खोजेका ओलीको योजना असफल भएपछि ओलीले वास्ता गर्न छोडेका हुन् । ओलीको चलाखी भण्डारीले थाहा पाएपछि छोरीलाई राष्ट्रिय सभामा नपठाएको एमाले नेताहरूको दाबी छ ।

फाइल तस्बिर

उषा अहिले मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष छिन् । उनलाई एमालेको सक्रिय राजनीतिमा ल्याउन लामो कोसिस भने नेताहरुले गरिरहेका छन् । तर आमालाई नै राजनीतिमा सक्रिय बनाउन लागि परेकी उषा एमालेको नेतृत्वमा आमालाई पुर्‍याउन बल गरिरहेकी छन् । भण्डारी निकट स्रोतले दिएको जानकारी अनुसार उषा किरणले पनि उम्मेदवारहरूलाई जिताउनका लागि सक्रिय रुपमा खट्ने अवस्थाबारे अहिले निर्णय गरेकी छैनन् ।

‘कान्छी छोरी निशा त एमालेको सक्रिय राजनीतिमा हुनुहुन्न । उषा किरण सक्रिय राजनीति गर्ने चरणमा हुनुहुन्छ तर उहाँले एमाले उम्मेदवार जिताउन आह्वान गर्ने तयारीमा हुनुहुन्छ वा हुनुहुन्न हामीलाई अहिलेसम्म जानकारी छैन ।’ पूर्वराष्ट्रपति भण्डारी निकट स्रोत भन्छ ‘सायद उहाँ केही उम्मेदवारहरूलाई जिताउनका लागि भ्याएसम्म निस्कनुहुन्छ भन्ने हामीलाई लागेको छ ।’

मदन भण्डारी फाउन्डेसनबाट उषासँग नजिक भएका एक सदस्यका अनुसार पनि उषाले एमालेका उम्मेदवारहरूलाई सार्वजनिक रुपमै मत माग्ने सन्दर्भमा अहिलेसम्म निर्णय गरेकी छैनन् ।

सबै परिस्थितिलाई नियाल्दा भण्डारी परिवार सशरीर उपस्थित भएर एमालेलाई मत माग्ने पक्षमा नरहेको देखिन्छ ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार  ४ : १२ बजे

अभिनेता राजपाल यादवको बेल अर्जी स्थगित 

 काठमाडौं– बलिउड अभिनेता राजपाल यादवको कानुनी झमेलाले बिहीबार फेरि नयाँ मोड

सुडानमा डुङ्गा डुब्दा २१ जनाको मृत्यु 

एजेन्सी– उत्तरी सुडानको नाइल नदीमा डुङ्गा डुब्दा कम्तिमा २१ जनाको

इटालीको विस्फोटक ब्याटिङसामु नेपालको बलिङ फितलो

काठमाडौं- इटालीको विस्फोटक ब्याटिङसामु नेपालको बलिङ फितलो देखिएको छ ।

दुर्गा प्रसाईँको दाबी : विगतमा भनेका धेरै कुरा मिले, बालेन र सोबिताबारे थप खुलासा गर्ने

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानका अगुवा दुर्गा

फागुनमा वाणिज्य बैंकहरूको औसत ब्याजदर घट्ने, अधिकांशको स्थिर

काठमाडौं– वाणिज्य बैंकहरूले फागुन महिनाका लागि व्यक्तिगत र संस्थागत दुवै