आरनको भरमा लुहार दम्पतीको जीविका « Khabarhub

आरनको भरमा लुहार दम्पतीको जीविका


२८ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आएका छन् । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उनले फलाम, तामा र सिल्भरका कृषि तथा घरायसी सामग्री निर्माण गरी गाउँ–गाउँ पुगेर बिक्री गर्दै आएका छन् । सहज जीवनयापनको खोजीमा पहाडबाट तराई झर्नेहरूको सङ्ख्या पछिल्ला वर्षमा बढ्दो छ ।

यसैगरी, परिस्थितिमा बझाङको बुँगलका शङ्कर पनि जीविकोपार्जनको नयाँ सम्भावना खोज्दै परिवारसहित कञ्चनपुर झरेका हुन् । तराईमा आएपछि उनले नयाँ पेसा रोजेनन्, बरु पुर्खौंदेखि गर्दै आएको धातुजन्य सामग्री निर्माण गर्ने परम्परागत सीपलाई नै जीवनयापनको आधार बनाएका छन् । हाल उनी फुलेलीमा करिब डेढ कट्ठा जग्गामा कच्ची घर बनाएर बस्दै आएका छन् ।

घरकै छेउमा सानो आरन सञ्चालन गरेर शङ्करले विभिन्न प्रकारका कृषि तथा घरायसी प्रयोगका सामान बनाउने काम गर्दै आएका छन् । उनले आरनमा फलाम तताएर पिट्दै विभिन्न आकारका सामग्री तयार गर्छन् । शङ्करले किसानलाई आवश्यक पर्ने हँसिया, बञ्चरो, चक्कु, दाउ, माना, पाथीलगायतका कृषि औजार बनाउने गर्छन् । घरायसी प्रयोगका लागि कडाही, पानी बोक्ने फोला, चरु, कुडीलगायतका सामान पनि आरनमै तयार हुन्छन् । आरनमा तयार गरेका सामग्री स्थानीय बासिन्दाका घरघरमा पुगेर उनले बिक्री गर्ने गरेका छन् ।

शङ्करका अनुसार पहाडमा बस्दा आरनमा बनाइने सामानको राम्रो माग थियो । गाउँका किसान र सर्वसाधारणले स्थानीय रूपमा बनाइएका बलिया र टिकाउ सामान प्रयोग गर्न रुचाउँथे । तर पछिल्लो समय बजारमा कारखानामा बनेका सस्ता र सजिलै पाइने सामान बढ्दै जाँदा परम्परागत आरन पेसा सङ्कटमा परेको उनको भनाइ छ ।

‘पहाडमा बस्दा हामीले बनाएका सामान सजिलै बिक्री हुन्थे,’ उनले विगत सम्झँदै भने, ‘हामीले बनाउने सामान बलियो र टिकाउ हुन्छन्, तर बजारमा रेडिमेड सामान सजिलै पाउन थालेपछि ग्राहक खोज्नै गाह्रो हुन थाल्यो ।’

पहाडमा आरनमा बनाइने सामानको माग घट्दै गएपछि उहाँ जीविकोपार्जनको खोजीमा तराई झरेका हुन् । तराईमा बजार ठूलो हुने र सामान सजिलै बिक्री हुने अपेक्षा गरेका भए पनि यहाँको वास्तविकता भने फरक देखिएको उनी बताउँछन् ।

‘यहाँ बजार त ठूलो छ,’ शङ्करले भने, तर कारखानामा बनेका सस्ता सामान धेरै पाइन्छन्, हामीले हातैले धातुलाई पिटेर बनाउने सामान बनाउन धेरै मेहनत लाग्छ, त्यसैले लागत पनि बढी पर्छ ।’
‘आरनको काम निकै मेहनतिलो हुन्छ, फलामलाई आगोमा तताएर हातौडाले पिट्दै आवश्यक आकार दिनुपर्छ,’ उनी भन्छन्, ‘त्यसपछि धार लगाउने, घिसार्ने र प्रयोगयोग्य बनाउने प्रक्रिया हुन्छ, यो काममा शारीरिक श्रम र अनुभव दुवै आवश्यक पर्छ ।’

सामान तयार भएपछि शङ्करले श्रीमतीसँगै ती सामान टाउकोमा बोकेर गाउँ–गाउँ पुगेर बिक्री गर्छन् । कहिलेकाहीँ धेरै टाढासम्म पैदल हिँडेर पनि सामान बेच्न जानुपर्ने हुन्छ । आरनमा तयार पारिएका धातुका सामान बिक्री गरेर लुहारले महिनामा करिब १० हजारदेखि ३० हजारसम्म आम्दानी गर्ने गरेका छन् । तर यो आम्दानी स्थिर भने नहुने गरेको उनको अनुभव रहेको छ । ग्राहक कम हुँदा आम्दानी निकै घट्ने गरेको उनी बताउँछन् ।

‘कहिलेकाहीँ ग्राहकले सामान नै किन्दैनन्, बिक्री हुँदैन्,’ शङ्करले भने, ‘त्यस्तो बेला थोरै कमाईमै चित्त बुझाउनुपर्छ, यही कामबाट आउने पैसाले घरको चुलो बलिरहेको छ, बालबालिका र जहान पालिएका छन् ।’

यस काममा शङ्करलाई उहाँकी श्रीमती किर्रा लुहारले पनि साथ दिँदै आएकी छिन् । सामान तयार भएपछि उनी दुवै जना गाउँ–गाउँ पुगेर बिक्री गर्छन् । किर्राका अनुसार कतिपय ठाउँमा सामान नगदमा बिक्री हुन्छ भने कतिपय ठाउँमा अझै पनि साटासाट (विनिमय) प्रणाली प्रचलनमा छ ।

लुहार दम्पतीका पाँच छोरा र दुई छोरी छन् । उनीहरूले आरन चलाएरै कमाएको पैसाले दुई छोरा र एक छोरीको विवाह सम्पन्न गरेका छन् । परिवारको अधिकांश खर्च यही पेसाबाट आएको आम्दानीले धानिएको उनी निसङ्कोच बताउँछन् । तर, पछिल्लो समय आरनबाट मात्रै परिवार धान्न गाह्रो भएपछि उनका एक छोरा रोजगारीका लागि भारत गएका छन् ।

शङ्करका अनुसार अहिलेको नयाँ पुस्ताले परम्परागत पेसा छोडेर अन्य रोजगारी खोज्न थालेका छन् । कम आम्दानी र धेरै श्रमका कारण युवापुस्ताले आरनको काममा चासो देखाउन छाडेका छन् ।

शुक्लाफाँटा नगरपालिका–८ का वडा सदस्य लालबहादुर महराले वडामा रहेका आरन सुधारका काम भइरहेको जानकारी दिए । उनका अनुसार शङ्कर लुहारको परिवार वडामा आएको डेढ वर्ष मात्रै भएकाले आगामी दिनमा आरन सुधारका लागि सहयोग गर्ने योजना बनाइनेछ ।

परम्परागत सीप र श्रममा आधारित आरन पेसा अहिले आधुनिक उद्योग र बजार प्रतिस्पर्धाबीच अस्तित्व जोगाउन सङ्घर्षरत छ । शङ्कर लुहार जस्ता कारिगरहरूको सीप संरक्षण गर्न सकेमा स्थानीय उत्पादन, परम्परागत ज्ञान र ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन सकिने सरोकारवाला बताउँछन् । (रासस)

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार  ९ : ०३ बजे

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

भैरहवा– रूपन्देहीको मर्चवार क्षेत्रमा सम्मरीमाई गाउँपालिका–३ मा पर्ने भभइ–भटौलिया आसपासका

यौनकर्मीको कथामा आधारित फिल्म ‘लालिमा’को बुकिङ खुला

काठमाडौं – भोलि शुक्रबार अर्थात् फागुन २९ बाट प्रदर्शनमा आउने

खाडीमा इरानी आक्रमण : कच्चा तेलको मूल्य उकालो, १०० डलर नाघ्यो

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका बीच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार

स्वास्थ्य बीमा प्रभावकारी बनाउन औषधि बल्क खरिद गर्ने सरकारको तयारी

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई

रास्वपाको एकल बहुमतले राजनीतिक जोखिम कम गर्ने र आर्थिक सुधारको ढोका खोल्ने : फिच रेटिङ

काठमाडौं– अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी ‘फिच रेटिङ’ ले नेपालको पछिल्लो