३० वर्षमुनिका ८ युवा प्रत्यक्षतर्फ निर्वाचित : सबैभन्दा कान्छा सांसद २५ वर्षका प्रशान्त « Khabarhub

३० वर्षमुनिका ८ युवा प्रत्यक्षतर्फ निर्वाचित : सबैभन्दा कान्छा सांसद २५ वर्षका प्रशान्त



काठमाडौँ – भदौ २३ र २४ को ‘जेन-जी’ आन्दोलनपछि भएको प्रतिनिधि सभा निर्वाचनले नेपाली राजनीतिमा नयाँ युवा अनुहारको वर्चस्व हुने संकेत गरेको छ। यस निर्वाचनमा ३० वर्षमुनिका आठजना उम्मेदवार प्रत्यक्षतर्फ विजयी भएर संसद्‍मा आफ्नो स्थान सुरक्षित गर्न सफल भएका छन्। यी युवा सांसदले देशको राजनीतिक भविष्यमा नयाँ दृष्टिकोण र ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

सबैभन्दा कान्छो सांसद प्रशान्त उप्रेती हुन्, जो मकवानपुर-२ बाट निर्वाचित भएका छन्। २५ वर्षको उमेरमा उनले ३० हजार ५ सय ५ मत प्राप्त गरी संसद्को कान्छो सदस्यका रूपमा आफ्नो परिचय बनाएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का केन्द्रीय सदस्य महेशकुमार बर्तौलाले १८ हजार ८ सय ४६ मत प्राप्त गरे भने तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका बुद्ध लामाले १५ हजार ५६ मत प्राप्त गरे। त्यहाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का लवशेर विष्टले १२ हजार ४ सय ९२ मत ल्याए। उप्रेतीको चुनावी विजयले रास्वपाको युवामैत्री छविलाई अझ बलियो बनाएको छ।

कैलाली-२ बाट निर्वाचित केपी खनाल २६ वर्षका छन्। उनी १९ हजार ५७ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्य बन्न सफल भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरीको भन्दा खनालको मतान्तर ७ हजार १०८ रहेको छ। चौधरीले ११ हजार ९ सय ४९ मत ल्याए। त्यस्तै एमालेका सूर्यबहादुर थापाले ७ हजार ८ सय ८६ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार विजयबहादुर स्वाँरले ७ हजार २ सय १३ मत ल्याए।

नेपालको नयाँ संसद्‍मा यसपटक ३० वर्षमुनिका ८ जना ‘युवा टिम’ प्रत्यक्ष निर्वाचित भएर आएका छन्। २५ वर्षे प्रशान्त उप्रेतीदेखि २९ वर्षे सस्मित पोखरेलसम्मको यो यात्राले नेपाली राजनीतिमा ठुलो आशा जगाएको छ।

त्यस्तै नवलपुर-२ बाट निर्वाचित मनीष खनाल पनि २६ वर्षका छन्। उनी ४१ हजार ३ सय ४७ मत प्राप्त गरेर संसद् प्रवेश गरेका छन्। पूर्वी नवलपरासी-२ मा रास्वपाका खनाल फराकिलो मतान्तरले विजयी भएका हुन्। उनले ३२ वर्षदेखि एमालेले विजय हासिल गर्दै आएको सो क्षेत्रमा आफ्ना प्रतिस्पर्धी एमालेका तिलबहादुर महतलाई २५ हजार ५ सय ९२ मतान्तरले पराजित गरे।

रूपन्देही-२ बाट निर्वाचित सुलभ खरेल २८ वर्षका छन्। उनले ५६ हजार ५ सय ५० मत ल्याएर आफ्नो विजय सुनिश्चित गरे। उनले निकटतम प्रतिस्पर्धी एमालेका विष्णु पौडेललाई ४३ हजार ६ सय ८९ मतान्तरले पराजित गरे। पौडेलले १२ हजार ८ सय ६१ मत मात्रै पाए। तेस्रोमा रहेका नेपाली कांग्रेसका चुन्नप्रसाद पौडेलले ९ हजार ३ सय ९२ मत पाउँदा नेकपाका सुभाष पाण्डेले १ हजार ४ सय ९ मत पाए।

युवा तथा खेलकुद मन्त्री भइसकेका बब्लु गुप्ता सिरहा-१ बाट निर्वाचित भए। उनले ४१ हजार ३ सय २२ मत प्राप्त गरेर आगामी संसद्का युवा अनुहारका रूपमा आफूलाई प्रस्तुत गरेका छन्। उनले कांग्रेसका रामसुन्दर चौधरीलाई ३१ हजार ५ सय ३८ मतान्तरले पराजित गरे। कांग्रेसका चौधरीले ९ हजार ७ सय ८४ मत पाउँदा एमालेका रामशंकर यादवले ७ हजार ८ सय ८६ र नेकपाका रामचन्द्र यादवले २ हजार ८ सय ५३ मत पाए।

रूपन्देही-२ बाट निर्वाचित सुलभ खरेल २८ वर्षका छन्। उनले ५६ हजार ५ सय ५० मत ल्याएर आफ्नो विजय सुनिश्चित गरे। उनले निकटतम प्रतिस्पर्धी एमालेका विष्णु पौडेललाई ४३ हजार ६ सय ८९ मतान्तरले पराजित गरे।

काठमाडौँ-५ बाट निर्वाचित सस्मित पोखरेल पनि २९ वर्षको उमेरमा ३० हजार ७ सय ३७ मत प्राप्त गरी विजयी भएका छन्। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल र एमाले नेता ईश्वर पोखरेललाई हराउँदै पोखरेल विजयी भएका हुन्। एमालेका पोखरेलले चार हजार ७ सय १ र कांग्रेसका पौडेलले ९ हजार १ सय ५९ मत ल्याए।

महिला प्रतिनिधित्वमा पनि युवा सांसदको उपस्थितिले महत्त्वपूर्ण योगदान पुर्‍याएको छ। रास्वपाकै निशा डाँगी दोहोरिएर सांसद बनेकी छन्। उनी झापा-१ बाट ४५ हजार ६ सय ८० मत प्राप्त गरी निर्वाचित भएकी २९ वर्षकी सांसद हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका केशवराज पाण्डेले १० हजार ५ सय ५० र श्रम संस्कृति पार्टीका केवलराम राईले १० हजार ४ मत ल्याए। यसअघि समानुपातिक सांसद रहेकी उनी यसपटक प्रत्यक्षतर्फ निर्वाचित भएकी हुन्।

खोटाङ-१ बाट निर्वाचित आरेन राई श्रम संस्कृति पार्टीको प्रतिनिधित्व गर्दै २९ वर्षको उमेरमा १६ हजार ६ सय १२ मतसहित प्रतिनिधि सभा सदस्य बनेका छन्। एमालेका देवबिक्रम राईले १२ हजार ७ सय १४ र कांग्रेसका वीरकाजी राईले ११ हजार ९ सय ५७ मत ल्याएका छन्। रास्वपाका रुद्र गिरीले ५ हजार ७ सय ४ मत प्राप्त गरेका छन्। यसरी निर्वाचित यी ८ जना युवा सांसदले संसद्‍मा नयाँ ऊर्जा, दृष्टिकोण र युवामैत्री नीति ल्याउने अवसर प्राप्त गरेका छन्।

विशेष रूपमा, रास्वपा पार्टीले युवा सांसदको ठूलो संख्या जिताएपछि पार्टीभित्र नयाँ नेतृत्व र नीति निर्माणमा युवाको सक्रिय सहभागिता देखिने सम्भावना छ। यसले भविष्यमा नेपाली राजनीतिमा युवा सहभागिता र समावेशी नेतृत्वको मार्ग खोल्ने संकेत गर्दछ। आगामी दिनमा यी सांसदको भूमिका, नीति निर्माणमा योगदान र युवा शक्ति संसद्‍मा कत्तिको प्रभावकारी हुन्छन् भन्ने कुरा राजनीतिक विश्लेषक र आम जनताले नजिकबाट हेर्ने अवस्था आउँदैछ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार  ११ : ०१ बजे

प्रतिकूल मौसमले रेसुङ्गा विमानस्थलमा उडान प्रभावित

गुल्मी– गुल्मीको रेसुङ्गा विमानस्थलमा मौसमको प्रतिकूलताका कारण उडान अवरुद्ध भएको

निर्वाचन प्रहरीको सम्मान पत्रसहित बिदाइ (तस्बिरहरू)

काठमाडौं– फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि परिचालन

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

भैरहवा– रूपन्देहीको मर्चवार क्षेत्रमा सम्मरीमाई गाउँपालिका–३ मा पर्ने भभइ–भटौलिया आसपासका

यौनकर्मीको कथामा आधारित फिल्म ‘लालिमा’को बुकिङ खुला

काठमाडौं – भोलि शुक्रबार अर्थात् फागुन २९ बाट प्रदर्शनमा आउने

खाडीमा इरानी आक्रमण : कच्चा तेलको मूल्य उकालो, १०० डलर नाघ्यो

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका बीच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार