काठमाडौं- बेलायतका स्वास्थ्य मन्त्री वेस स्ट्रीटिङ्गले इरानसँगको युद्धमा संलग्न नहुने निर्णय सही रहेको बताएका छन्।
उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सामाजिक सञ्जाल पोस्टहरू प्रायः भडकाव र विवादास्पद हुने भन्दै आलोचना पनि गरेका छन्।
स्ट्रीटिङ्गले भने, ‘अब हामीले ट्रम्पलाई उनका भनाइबाट होइन, कामबाट मूल्याङ्कन गर्नुपर्छ।’
उनले यो विवादको समाधान केवल वार्तामार्फत् सम्भव हुनेमा जोड दिए। यसका साथै, इरानले परमाणु हतियार बनाउन नसक्ने गरी ठोस सम्झौता आवश्यक रहेको पनि उनले बताए।
अमेरिकी जहाज इरानले रोकिदियो
इस्लामाबाद वार्ता सकिएसँगै फेरि द्वन्द्व चलिरहेका अवस्थामा इरानी नौ सेनाले अमेरिकी युद्ध जहाज रोकिदिएको दाबी गरेको छ।
फार्स न्यूज एजेन्सीका अनुसार इरानी सेनाले एक अमेरिकी युद्धपोतलाई स्ट्रेट अफ होर्मुज पार गर्न नदिई फर्काएको दाबी गरिएको छ।
रिपोर्टअनुसार अमेरिकी जहाज फुज्याराह बन्दरगाहबाट होर्मुजतर्फ अघि बढिरहेको थियो।
इरानी सेनाले जहाजको गतिविधि निगरानी गर्दै पाकिस्तानमा रहेका वार्ता टोलीलाई जानकारी गराएको थियो।
त्यसपछि पाकिस्तानी मध्यस्थमार्फत् अमेरिकालाई सन्देश पठाउँदै इरानले कि जहाज होर्मुज नजिक आए आक्रमण गरिने चेतावनी दिएको।
३० मिनेटभित्र निशाना बनाइने चेतावनीसमेत उक्त जहाजलाई दिइएको थियो, जसले अमेरिका–इरान वार्तामासमेत असर पार्न सक्ने बताइएको थियो।
इरानी सेनाको कडा चेतावनीपछि अमेरिकी युद्धपोतलाई अघि बढ्न नदिने निर्णय गरिएको बताइएको छ।
यसअघि द वाल स्ट्रिट जर्नलले भने इरानी धम्कीका बाबजुद दुई अमेरिकी युद्धपोत होर्मुज पार गरेको दाबी गरेको थियो। युद्ध सुरु भएपछि यस्तो घटना पहिलोपटक भएको बताइएको छ।
६० लाख ब्यारेल कच्चा तेल पार
होर्मुज जलडमरूमध्यबाट शनिबार करिब ६० लाख ब्यारेल कच्चा तेल निर्यात गरिएको छ। समुद्री निगरानी समूह ट्यांकर ट्र्याकर्सका अनुसार यसमध्ये करिब २० लाख ब्यारेल इराक र ४० लाख ब्यारेल साउदी अरब को तेल रहेको थियो।
तीन ठूला तेल ट्यांकरमार्फत् ढुवानी गरिएको उक्त तेलमध्ये एक ट्यांकर ग्रीसको कम्पनीको र अन्य दुई चिनियाँ कम्पनीका रहेको बताइएको छ।













प्रतिक्रिया