विजयले तमिलनाडुको राजनीतिमा कसरी उथलपुथल ल्याइदिए ? « Khabarhub

विजयले तमिलनाडुको राजनीतिमा कसरी उथलपुथल ल्याइदिए ?

फिल्मी ‘थलपति’अब मुख्यमन्त्री



काठमाडौं- दक्षिण भारतको राजनीति र फिल्म उद्योगबीचको सम्बन्ध निकै पुरानो छ। यहाँ फिल्मका सुपरस्टारहरू केवल पर्दाका मात्रै नायक हुँदैनन्, उनीहरू लाखौँ मानिसका भावना, विश्वास र आशाका प्रतीक पनि बनेका छन् ।

यहीकारण तमिलनाडुमा पटक–पटक फिल्मी कलाकारहरू राजनीतिमा प्रवेश गरेर सत्तासम्म पुगेका छन्। तर, अहिले फेरि एउटा यस्तो नामले चर्चा पाएको छ, जसले केवल राजनीतिमा मात्रै हात हालेन, दशकौँ पुरानो राजनीतिक संरचनालाई नै चुनौती दिएर उथलपुथल ल्याइदिएको छ।

त्यो नाम हो, जोसेफ विजय चन्द्रशेखर अर्थात् ‘थलपति विजय’। नेपालमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ राजनीतिक शक्तिका रूपमा उदाएजस्तै तमिलनाडुको राजनीतिमा अभिनेता जोसेफ विजय चन्द्रशेखरको तमिलगा भेत्री कडगम (टीभीके) ले पनि धमाकेदार, ‘ब्लकबस्टर’ इन्ट्री मार्दै पुरानो राजनीतिक समीकरण भत्काइदिएको छ।

तमिलनाडुको राजनीतिमा लामो समयदेखि अल इन्डिया अन्ना द्रविड मुनेत्र कषगम (एआईएडीएमके) र द्रविड मुनेत्र कषगम (डीएमके) दुई दलको दबदबा थियो।

नेपालमा नेपाली कांग्रेस र कम्युनिस्ट दलले जस्तै यहाँ पनि करिब ६० वर्षदेखि यही दुई दलले पालैपालो सत्ता चलाउँदै आएका थिए।

चुनावका बेला तमिल भाषा, द्रविड आन्दोलन, हिन्दीविरोध र तमिल पहिचानका मुद्दा सबैभन्दा ठूलो राजनीतिक हतियार बन्ने गर्थे। तर समयसँगै जनताको दैनदिनका समस्या भने बढिरहेका थिए। बेरोजगारी, भ्रष्टाचार, महँगी, विद्युत् संकट र पूर्वाधारको कमजोरीजस्ता विषयमा जनतामा असन्तुष्टि बढ्दै गएको थियो।

यही परिस्थितिमा विजयले राजनीतिमा प्रवेश गर्ने निर्णय गरे। फेब्रुअरी २०२४ मा उनले आफ्नो नयाँ पार्टी तमिलगा भेत्री कषगम अर्थात् टीभीके घोषणा गरे। त्यो घोषणा धेरैका लागि सामान्य राजनीतिक घटनाजस्तै लाग्यो। किनकि दक्षिण भारतमा कलाकारले पार्टी खोल्नु नयाँ कुरा थिएन। तर विजयको लक्ष्य अरूभन्दा फरक देखिन्थ्यो। उनी केवल राजनीतिक उपस्थिति जनाउन होइन, सत्ताको केन्द्रमै पुग्ने तयारीमा थिए।

चुनावअघि धेरै राजनीतिक विश्लेषकहरूले टीभीकेलाई ‘मत काट्ने दल’ भनेर व्याख्या गरे। ठूला मिडियाले पनि विजयलाई अनुभवहीन राजनीतिज्ञका रूपमा चित्रित गरिरहेका थिए।

तर जब चुनावी परिणाम सार्वजनिक भए, तमिलनाडुको राजनीतिमै उथलपुथल भयो। विजयको पार्टीले राज्यभर प्रभावशाली प्रदर्शन गर्दै पुराना शक्तिशाली दलहरूलाई चुनौती दियो।

यसले एउटा ठूलो सन्देश दियो, फिल्मी लोकप्रियता केवल मनोरञ्जनसम्म सीमित छैन, सही रणनीति र जनताको भावना बुझ्न सके त्यो राजनीतिक शक्तिमा पनि बदलिन सक्छ।

विजयको पार्टीले तमिलनाडुका हरेक इलाकामा सीट जितेको छ, जसमध्ये सबैभन्दा बढी दबदबा उत्तर र तटीय इलाकामा देखियो। डीएमकेले बढी सीट दक्षिणी तमिलनाडुबाट जितेको छ । उता एआईएडीएमकेले बढी सीट उत्तर–मध्य क्षेत्रबाट पाएको छ।

अभिनेता विजय तमिलनाडुसँगै हिन्दीभाषी इलाकामा पनि असाध्यै लोकप्रिय छन्। उनको नाम गत वर्ष तमिलनाडुको करूरमा भएको तमिलगा भेत्रि कषगम (टीभीके) को एक र्‍यालीका क्रममा चलेको भागदौडमा ४१ जनाको मृत्यु भएपछि चर्चामा आएको थियो। उनले यो घटनामा मारिएका सबैका परिवारलाई २०–२० लाख र घाइतेलाई २–२ लाख दिने घोषणा गरेका थिए।

विजय किन यति लोकप्रिय छन् भन्ने बुझ्न उनको फिल्मी यात्रातर्फ फर्किनुपर्छ। २२ जुन १९७४ मा चेन्नईमा जन्मिएका विजय फिल्मी परिवारमा हुर्किएका हुन्। उनका बाबु एस.ए. चन्द्रशेखर चर्चित निर्देशक थिए भने आमा शोभा गायिका थिइन्। बालकलाकारका रूपमा फिल्ममा प्रवेश गरेका विजय विस्तारै दक्षिण भारतीय सिनेमाका सबैभन्दा सफल अभिनेतामध्ये एक बने।

उनले अभिनय गरेका धेरै फिल्ममा एउटा समानता देखिन्थ्यो। उनी अन्यायविरुद्ध लड्ने, कमजोरको पक्षमा उभिने र भ्रष्ट प्रणालीसँग भिड्ने पात्रका रूपमा प्रस्तुत हुन्थे। यही छविले उनलाई केवल अभिनेता होइन, ‘जनताको नायक’ बनायो। दक्षिण भारतमा उनलाई ‘थलपति’ अर्थात् सेनापति भनेर चिनिनु पनि यही कारण हो।

राजनीतिमा प्रवेश गरेपछि विजयले आफूलाई परम्परागत नेताभन्दा फरक ढंगले प्रस्तुत गरे। उनले भीडमा धेरै भाषण दिएनन्, तर जहाँ पुगे, त्यहाँ ठूलो उत्साह देखियो। राजनीतिमा पनि उनले फिल्मकै शैली प्रयोग गरे, ‘कम देखिने, तर धेरै प्रभाव पार्ने।’

उनको चुनावी अभियान विशेषगरी युवापुस्ता र महिलामाथि केन्द्रित थियो। उनले महिलालाई मासिक आर्थिक सहायता दिने, निःशुल्क ग्यास सिलिन्डर उपलब्ध गराउने, विवाहका लागि सुन सहयोग गर्ने र महिला समूहलाई बिनाब्याज ऋण दिने जस्ता योजना अघि सारे। यी घोषणाले सामान्य जनताको ध्यान ताने।

तर विजयको सफलताको अर्को महत्वपूर्ण कारण थियो, उनले तमिल पहिचानको राजनीतिलाई पूर्ण रूपमा अस्वीकार गरेनन् । तर त्यसलाई मात्रै केन्द्रमा पनि राखेनन्। उनले तमिल गौरवसँगै विकास, रोजगारी र जनजीविकाका मुद्दालाई जोड्ने प्रयास गरे। यही कारण धेरै मतदाताले उनलाई ‘पुरानो राजनीतिभन्दा फरक विकल्प’ का रूपमा हेर्न थाले।

राजनीतिमा आउनुअघि विजयको व्यक्तिगत जीवन पनि चर्चामा थियो। उनले सन् १९९९ मा आफ्नी प्रशंसक संगीतासँग विवाह गरेका थिए। राजनीतिमा प्रवेश गरेपछि उनको परिवारभित्रै विवाद देखियो। उनका बुवाले विजयको नाम प्रयोग गरेर अलग राजनीतिक दल खोले । त्यसपछि विजयले कानुनी कदम चाल्नुपरेको थियो। यसले उनले आफ्नो राजनीतिक यात्रा पूर्ण रूपमा स्वतन्त्र राख्‍न चाहेको संकेत दिएको थियो।

विजयले राजनीतिमा प्रवेशसँगै अभिनय छोड्ने निर्णय गरे। उनको आगामी फिल्म ‘थलपति ६९’ अन्तिम फिल्म हुने बताइएको छ। दक्षिण भारतका करोडौँ प्रशंसकका लागि यो भावनात्मक विषय बनेको छ। किनकि उनीहरूका प्रिय सुपरस्टार अब पर्दामा होइन, वास्तविक राजनीतिक मैदानमा देखिएका छन्।

तमिलनाडुको यो परिवर्तन केवल एउटा चुनावी परिणाम मात्रै होइन। यसले दक्षिण भारतीय राजनीतिमा नयाँ अध्याय सुरू भएको संकेत दिएको छ। लामो समयदेखि दुई दलमा सीमित राजनीति अब नयाँ विकल्पतर्फ मोडिएको छ।

अहिलेको सबैभन्दा ठूलो प्रश्न भनेको, के विजय केवल लोकप्रिय सुपरस्टारका रूपमा सीमित रहनेछन् वा साँच्चिकै तमिलनाडुको भविष्य बदल्ने नेता हुनेछन् ? तर एउटा कुरा स्पष्ट छ, फिल्मी पर्दाका ‘थलपति’ अब राजनीतिका पनि शक्तिशाली ‘थलपति’ अर्थात् मुख्यमन्त्री बनेका छन्।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ९ : ४३ बजे

सूर्यविनायक–धुलिखेल सडक निर्माण सुस्त (तस्बिरहरू)

भक्तपुर– भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ६ लेनमा विस्तार भइरहेको सडक

हान्टाभाइरस प्रभावित सबै यात्रुको उद्धार, एक अमेरिकीमा संक्रमण पुष्टि

वासिङ्टन – प्राणघातक ‘हान्टाभाइरस’ को चपेटामा परेको क्रुज पानीजहाज ‘एमभी

व्यास नगरपालिकाद्वारा दीर्घरोगीलाई सहयोग

तनहुँ– तनहुँको व्यास नगरपालिकाले दीर्घरोगीलाई ३९ लाख रुपैयाँ भत्ताबापत सहयोग

समिति बैठकमा अर्थमन्त्री वाग्ले सहभागी हुँदै, समसामयिक आर्थिक विषयमा छलफल हुने

काठमाडौँ – संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा

सेनाबाट च्याम्ताङ–घोङ्गप्पा सडक हस्तान्तरण

सङ्खुवासभा– सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित च्याम्ताङ–घोङ्गप्पा सडक निर्माण सम्पन्न भएको छ