विश्व फुटबलको सबैभन्दा ठूलो मञ्च विश्वकप २०२६ सुरु भएसँगै समर्थकको उत्साह चरममा पुगेको छ। यसपटकको विश्वकपमा नयाँ टोली, नयाँ प्रतिभा र नयाँ कथा देख्न पाइनेछ। तर प्रतियोगिता सुरु हुनुअघि नै तीन खेलाडीको नामले विशेष चर्चा पाइरहेको छ। कारण हो– उनीहरू विश्वकप इतिहासमा अहिलेसम्म कसैले हासिल गर्न नसकेको दुर्लभ कीर्तिमानको संघारमा उभिएका छन्।
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी, पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो र मेक्सिकोका अनुभवी गोलकिपर गुइलेर्मो ओचोआ विश्वकप २०२६ मा सहभागी भएसँगै आफ्नो करियरको छैटौँ विश्वकप खेल्ने खेलाडी बन्नेछन्। विश्वकपको लामो इतिहासमा यो उपलब्धि निकै दुर्लभ मानिन्छ।
ओचोआको अप्रत्याशित पुनरागमन
मेक्सिकोका अनुभवी गोलकिपर गुइलेर्मो ओचोआ विश्वकप २०२६ का लागि टोलीमा परेसँगै फुटबल इतिहासको दुर्लभ उपलब्धि नजिक पुगेका छन्। ४० वर्षीय ओचोआले लगातार छैटौँ विश्वकप टोलीमा स्थान बनाउँदै नयाँ कीर्तिमान रच्ने अवसर पाएका हुन् ।

पहिलो रोजाइका गोलकिपर लुइस मालागन चोटका कारण बाहिरिएपछि ओचोआको लागि ढोका खुलेको हो। अब उनी सन् २००६, २०१०, २०१४, २०१८, २०२२ र २०२६ गरी लगातार छ विश्वकप टोलीमा पर्ने मेक्सिकोका पहिलो खेलाडी बनेका छन्।
यद्यपि, उनले सबै संस्करणमा मैदानमा अवसर भने पाएनन्। २००६ र २०१० मा बेन्चमै सीमित रहेका ओचोआ २०१४ को ब्राजिल विश्वकपबाट मेक्सिकोका मुख्य गोलकिपर बने। त्यसपछि २०१८ र २०२२ मा पनि उनले टोलीको भरपर्दो जिम्मेवारी सम्हाले।
कतार विश्वकपमा पोल्यान्डका स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको पेनाल्टी बचाएर उनले विश्व फुटबलमा फेरि एकपटक आफ्नो प्रभाव देखाएका थिए। अब विश्वकप २०२६ मा मैदान उत्रिएसँगै ओचोआ केवल मेक्सिकोका लागि होइन, विश्व फुटबल इतिहासकै दुर्लभ कीर्तिमानधारी खेलाडी बन्नेछन्।
रोनाल्डोको अन्तिम ठूलो लक्ष्य
विश्व फुटबलका महान् खेलाडीमध्ये एक क्रिस्टियानो रोनाल्डोका लागि विश्वकप २०२६ विशेष महत्वको हुन सक्छ। क्लब फुटबल र अन्तर्राष्ट्रिय फुटबलमा असंख्य कीर्तिमान बनाइसकेका पोर्चुगिज कप्तानको करियरमा अझै एउटा ठूलो सपना अधुरो छ- विश्वकप उपाधि। पोर्चुगलका सर्वाधिक गोलकर्ता रोनाल्डो अहिले आफ्नो छैटौँ विश्वकप खेल्ने तयारीमा छन्। यदि उनले प्रतियोगितामा सहभागिता जनाए भने विश्वकपको छ संस्करण खेल्ने दुर्लभ उपलब्धि हासिल गर्ने खेलाडीमध्ये एक बन्नेछन्।

सन् २००६ मा जर्मनी विश्वकपबाट यात्रा सुरु गरेका रोनाल्डोले हालसम्म पाँच विश्वकपमा २२ खेल खेल्दै ८ गोल गरेका छन्। डेब्यु विश्वकपमा उनले ६ खेलमा एक गोल गरेका थिए। त्यसपछि २०१० को दक्षिण अफ्रिका विश्वकपमा चार खेल खेल्दै एक गोल गरे। २०१४ को ब्राजिल विश्वकपमा तीन खेलमा एक गोल गरेका रोनाल्डो २०१८ को रसिया विश्वकपमा भने उत्कृष्ट लयमा देखिए। उनले चार खेलमा चार गोल गर्दै आफ्नो प्रभावशाली प्रदर्शन देखाएका थिए। २०२२ को कतार विश्वकपमा पनि उनले पाँच खेल खेल्दै एक गोल गरेका थिए।
पोर्चुगलका समर्थकका लागि यसपटकको सबैभन्दा ठूलो आशा भनेको रोनाल्डोलाई विश्वकप ट्रफी उचालेको देख्नु हो। यदि त्यो सपना पूरा भयो भने, उनको करियरले पूर्णता पाउने विश्वास धेरै समर्थकहरूको छ।
विश्वविजेता मेस्सीको अर्को अध्याय
यदि रोनाल्डो विश्वकप जित्ने सपनाको पछि लागिरहेका छन् भने लियोनल मेस्सी भने विश्वविजेताको हैसियतमा मैदान उत्रने तयारीमा छन्। सन् २०२२ को कतार विश्वकपमा अर्जेन्टिनालाई उपाधि दिलाउँदै उनले आफ्नो करियरको सबैभन्दा ठूलो उपलब्धि हासिल गरेका थिए।
त्यस विश्वकपमा उनले टोलीलाई नेतृत्व मात्र गरेनन्, निर्णायक गोल र असिस्टमार्फत उपाधि जिताउन महत्वपूर्ण भूमिका पनि खेले। हालसम्म पाँच विश्वकप खेलिसकेका मेस्सीले २६ खेलमा १३ गोल र ८ असिस्ट गरेका छन्।

उनले विश्वकपमा कुल २ हजार ३ सयभन्दा बढी मिनेट बिताएका छन्, जुन विश्वकप इतिहासका उच्च तथ्यांकमध्ये एक हो। २०१४ र २०२२ मा उनले समान सात–सात खेल खेल्दै अर्जेन्टिनालाई फाइनलसम्म पुर्याएका थिए। अब २०२६ मा सहभागी भए उनले पनि छैटौँ विश्वकप खेल्ने दुर्लभ उपलब्धि हासिल गर्नेछन्।
इतिहासको साक्षी बन्दै विश्वकप
विश्वकप २०२६ नयाँ च्याम्पियन खोज्ने प्रतियोगिता मात्र होइन, फुटबल इतिहासका तीन महान् खेलाडीको असाधारण यात्राको अर्को अध्याय पनि हुनेछ। मेस्सी, रोनाल्डो र ओचोआ तीन फरक देशका प्रतिनिधि हुन्, तर उनीहरूलाई जोड्ने एउटा समान विशेषता छ—दशकौँसम्म उच्च स्तरमा टिकिरहने अदभूत क्षमता छ।

जब विश्वकपको उद्घाटन हुनेछ तब समर्थकको नजर केवल उपाधिको प्रतिस्पर्धामा मात्र हुनेछैन। धेरैको ध्यान ती तीन दिग्गजतर्फ पनि केन्द्रित हुनेछ, जो आफ्नो नाम फुटबल इतिहासको अझै दुर्लभ र विशेष पानामा लेखाउने तयारीमा छन्।












प्रतिक्रिया