यी हुन् पहिलो पटक विश्वकप खेल्न लागेका चार नयाँ टोली « Khabarhub

यी हुन् पहिलो पटक विश्वकप खेल्न लागेका चार नयाँ टोली

डेढ लाख जनसङ्ख्याको कुराकाओदेखि कानाभारोको उज्बेकिस्तानसम्म


२९ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्व फुटबलको सबभन्दा ठूलो महोत्सव फिफा विश्वकपको आकार यस पटकदेखि ३२ बाट बढाएर ४८ टोली पुर्‍याइएको छ । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्न लागेको यस ऐतिहासिक संस्करणमा ४ नयाँ टोलीले पहिलो पटक विश्वकपको मञ्चमा ‘डेब्यु’ गर्दै छन् ।

विश्वकपको ९६ वर्ष लामो इतिहास र २२ वटा संस्करण पार हुँदासम्म संसारका ८० देशले मात्र यो प्रतियोगिता खेल्ने अवसर पाएका थिए । यसपालि थपिएका ४ नयाँ टोलीसँगै विश्वकप खेल्ने राष्ट्रहरूको सङ्ख्या ८४ पुग्ने भएको छ । विश्वकपको महाभिडन्त नजिकिँदै गर्दा पहिलो पटक यस मञ्चमा देखिन लागेका चार नयाँ टोलीको फुटबल परिचय यस्तो छ:

केप भेर्डे: साढे दुई लाख जनसङ्ख्या भएको टापु राष्ट्रको ठूलो छलाङ
सहारा मरुभूमिभन्दा दक्षिणी भागमा अवस्थित साढे दुई लाख जनसङ्ख्या र ४ हजार वर्गकिलोमिटर क्षेत्रफल मात्र भएको ससाना टापुहरूको देश हो, केप भेर्डे । सन् १९७५ मा स्वतन्त्र भएर १९७८ देखि अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको यो अफ्रिकी टोलीले ४६ वर्षको प्रयासपछि पहिलो पटक विश्वकपको टिकट काटेको हो । चार वर्षअघि कतार विश्वकपको नजिक पुगेर पनि नाइजेरियासँग १-१ को बराबरीमा रोकिँदा टोली छानिन असफल भएको थियो ।

यसपालि भने कप्तान रायन मेन्डेस, गोलकिपर भेजिन्हा र रक्षक लोबर्टो लोपेजको स्वर्णिम पुस्ताले देशको सपना पूरा गरे । पूर्व राष्ट्रिय खेलाडी पेड्रो लेइटाओ ब्रिटोको प्रशिक्षणमा रहेको केप भेर्डेले घरेलु मैदानमा खेलेका सबै ५ खेलमा एक गोल पनि नखाई जित हात पारेको थियो । छनोटमा क्यामरुन र अङ्गोला जस्ता बलिया टोलीलाई पछि पारेको यो टोली फिफा वरीयताको ६७औँ स्थानमा छ । समूह ‘एच’ मा रहेको केप भेर्डेले जुन १५ मा स्पेनविरुद्ध खेल्दै विश्वकपमा ऐतिहासिक पाइला राख्नेछ । यस समूहमा उरुग्वे र साउदी अरेबिया पनि छन् ।

उज्बेकिस्तान: ७ पटकको प्रयास र ३६ वर्षको प्रतीक्षा समाप्त
पूर्व सोभियत सङ्घबाट स्वतन्त्र भएको ३६ वर्षमा ७ पटकको प्रयासपछि मध्य एसियाली राष्ट्र उज्बेकिस्तानले अन्ततः विश्वकपको यात्रा तय गरेको छ । विगतमा उत्कृष्ट खेलका बाबजुद रेफ्रीको गल्ती र पेनाल्टी सुटआउटमा भाग्यले ठगिँदै आएको उज्बेकिस्तानलाई यसपालि ४८ टोलीको संरचनाले फाइदा पुर्‍यायो । एसियाली छनोटको तेस्रो चरणमा इरानपछि उपविजेता बन्दै उज्बेकिस्तानले सोझै विश्वकपको टिकट पक्का गरेको हो ।

सन् २००६ मा इटालीलाई विश्वकप जिताउने कप्तान फाबियो कानाभारोको मुख्य प्रशिक्षणमा रहेको उज्बेकिस्तान फिफा वरीयताको ५०औँ स्थानमा छ । सेर्भर डिजापारोभ, ओडिल अहमेडोभ र इग्नाटी नेस्टेरोभ जस्ता खेलाडीको मुख्य भूमिका रहेको उज्बेकिस्तानले जुन १८ मा कोलम्बियाविरुद्ध खेल्दै समूह ‘के’ बाट आफ्नो यात्रा सुरु गर्नेछ । यस समूहमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगल र कङ्गो रहेका छन् ।

कुराकाओ: विश्वकप खेल्ने सबैभन्दा सानो टोली
यस विश्वकपमा सहभागी देशहरूमध्ये कुराकाओ जनसङ्ख्या (१ लाख ५० हजार) र क्षेत्रफल (२७६ वर्गकिलोमिटर) दुवै हिसाबले सबैभन्दा सानो राष्ट्र हो । सन् २०११ मा मात्र नेदरल्यान्ड्सबाट स्वतन्त्र भएको यस टापु राष्ट्रको टोलीमा डच मुलका खेलाडीहरूको बाहुल्य छ । कन्काकाफ छनोटको तेस्रो चरणमा जमैका, ट्रिनिडाड एन्ड टोबागो र बर्मुडा रहेको समूहमा शीर्ष स्थान हासिल गर्दै कुराकाओले विश्वकपमा स्थान सुरक्षित गरेको हो ।

नेदरल्यान्ड्सकै प्रख्यात प्रशिक्षक डिक एड्भोकेटको नेतृत्वमा रहेको कुराकाओ फिफा वरीयताको ८२औँ स्थानमा छ । समूह ‘इ’ मा रहेको कुराकाओले जुन १४ मा बलियो जर्मनीविरुद्ध खेल्दै विश्वकपको उद्घाटन गर्नेछ । यस समूहमा इक्वेडर र आइभोरी कोस्ट पनि छन् ।

जोर्डन: ओमानलाई हराउँदै इतिहास रचेको मध्यपूर्वी टोली
सन् १९८६ देखि नियमित रूपमा विश्वकप छनोट खेल्दै आए पनि मध्यपूर्वको देश जोर्डनले यसअघि कहिल्यै विश्वकप खेल्न पाएको थिएन । तर, गत वर्ष ओमानमाथि ३-० को सानदार जित निकाल्दै जोर्डनले पहिलो पटक विश्वकप खेल्ने पक्का गर्‍यो । एसियाली छनोटको दोस्रो चरणमा साउदी अरेबियालाई पछि पारेको जोर्डन तेस्रो चरणमा दक्षिण कोरियापछि उपविजेता बन्दै सोझै छानिएको हो ।

फिफा वरीयताको ६३औँ स्थानमा रहेको जोर्डन निकै कडा मानिएको समूह ‘जे’ मा परेको छ । जोर्डनले जुन १ मा अस्ट्रियाविरुद्ध खेल्दै विश्वकपको यात्रा थाल्नेछ भने समूहको अन्तिम खेलमा जुन २७ मा साविक विजेता अर्जेन्टिनाको सामना गर्नेछ । यस समूहमा अल्जेरिया पनि रहेको छ ।

प्रकाशित मिति : २९ जेठ २०८३, शुक्रबार  ९ : २५ बजे

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि