धरानको पिण्डेश्वर बाबाधाममा तीर्थालु र पर्यटकको आकर्षण बढ्दो « Khabarhub

धरानको पिण्डेश्वर बाबाधाममा तीर्थालु र पर्यटकको आकर्षण बढ्दो


२९ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

धरान– धरान उपमहानगरपालिका–१४ विजयपुरमा अवस्थित ऐतिहासिक तथा पौराणिक महत्वको अमृतपिण्ड पिण्डेश्वर बाबाधाम आन्तरिक तथा बाह्य धार्मिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। 

मुलुकका विभिन्न जिल्लाका साथै छिमेकी भारतका सिक्किम, दार्जिलिङलगायत स्थानबाट यहाँ आउने तीर्थालुको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको धरान उपमहानगरपालिका–१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताउँछन् ।

चारैतिर बाक्लो जंगल, वरपीपलका रूख र चौताराले घेरिएको विजयपुर डाँडामा अवस्थित यो मन्दिर पूजापाठका साथै घुमफिर र मानसिक शान्तिका लागि पनि यात्री बाबाधाममा आउने गरेका उनी बताउँछन्। 

विशेषगरी तराईमा  तापक्रम बढ्दै जाँदा यहाँको शीतल वातावरण र हरियालीको आनन्द लिन टाढाटाढाबाट आन्तरिक पर्यटकको आउने गरेका गरेका छन् । मन्दिर परिसरबाट धरान बजार, चारकोशे जंगल र इटहरी क्षेत्रको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।

यहाँ पूजापाठ गर्दा मनोकामना पूरा हुने जनविश्वास छ । धरान-१६ की पवित्रा श्रेष्ठ पिण्डेश्वर बाबाधाममा मागेको कुरा पूरा हुने विश्वासका कारण आफू नियमित रूपमा त्यहाँ भोलेबाबाको आराधनाका निम्ति जानेगरेको बताउँछन् । हरियाली र शान्त वातावरणले पनि उनलाई पिण्डेश्वर क्षेत्रले आकर्षित गर्छ। 

विराटनगरबाट शिवाराधनाका निम्ति परिवारसहित आएकी सुनिता श्रेष्ठ यहाँ पूजा गरेपछि मन शान्त हुने र सोचेका काम पूरा हुने बताउँछिन् ।

पुराणमा वर्णन भएअनुसार समुद्र मन्थन गर्दा निस्किएको कालकुट विष भगवान् शिवले आफ्नो कण्ठमा धारण गरेका थिए । त्यसपछि निस्किएको अमृत भगवान् विष्णुले देवताहरूलाई मात्र पान गराएको र बाँकी रहेको अमृतको पिण्ड फालिएको स्थानमा पिण्डेश्वर महादेवको उत्पत्ति भएको मानिन्छ । यहाँ अमृतपिण्डका रूपमा भगवान् शंकरको पूजाअर्चना गरिन्छ ।

पिण्डेश्वर बाबाधाम समितिकी सदस्य रञ्जिता कटुवालका अनुसार मन्दिरमा दैनिक सरदर एक हजारभन्दा बढी दर्शनार्थी आउने गरेका छन् । यो सङ्ख्या सोमबार र शनिबार भने तीन हजार नाघ्ने गरेको छ । पितृलाई प्रसन्न तुल्याउन श्राद्ध गर्नेहरूको पनि यहाँ उल्लेखनीय भीड हुने गरेको छ । साथै यहाँ आर्थिक गतिविधिले पनि गति लिएको छ। 

विगत २१ वर्षदेखि पसल सञ्चालन गर्दै आएकी इन्दिरा खड्काले शनिबार र सोमबार आफूहरूलाई भ्याइनभ्याई हुने बताइन्। उनले  दिङ्लाबाट रुद्राक्ष खरिद गरी आफैँ माला तथा डाली तयार गरेर बिक्री गर्दै आएकी छन् । हाल पिण्डेश्वर बाबाधाम परिसरमा त्यस्ता ३० वटा फूल  पसल सञ्चालनमा छन् ।

बाहिरबाट हेर्दा पिण्डेश्वर मन्दिर साना देखिए पनि भित्र सानाठूला १० भन्दा बढी मन्दिर छन् । शिवालयको द्वारमा स्थापना गरिएको भीमकाय नन्दीको प्रतिमा, मन्दिरको पश्चिमतर्फ ऐतिहासिक पोखरी र इनार तथा त्यसको मध्यभागमा स्थापित देवी  सरस्वतीको मूर्ति साँच्चै चित्ताकर्षक छ ।

विशेषगरी साउनको पहिलो र अन्तिमसोमबार, अष्टमी, कात्तिक पूर्णिमा, माघे सङ्क्रान्ति, महाशिवरात्रि तथा तीजजस्ता पर्वमा यहाँ भक्तजनको ठूलो भीड लाग्ने गरेको छ । ‍साउनमा खाली खुट्टा सप्तकोशीबाट जल ल्याएर पिण्डेश्वरबाबालाई अर्पण गर्ने भक्तहरूको पनि भीड लाग्ने गरेको छ । यसरी महादेवलाई  जल चढाउँदा पाप पखालिने र मनोकामना पूरा हुने उनीहरूको विश्वास छ ।

प्रत्येक छ वर्षमा चतरा धाममा लाग्ने ‘पिण्डेश्वर अर्धकुम्भ मेला’ तथा प्रत्येक १२ वर्षमा एक महिना सञ्चालन हुने ‘पिण्डेश्वर पूर्ण महाकुम्भ’ मा पनि असङ्ख्य भक्तजन यहाँ आउने गरेका छन् । 

प्रकाशित मिति : २९ जेठ २०८३, शुक्रबार  ९ : ५४ बजे

मनै लोभ्याउने ‘माइपोखरी

फिक्कल– चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा नौ वटा

बालेनले महावीर बोक्दा बढ्दैछ रविसँग दूरी

काठमाडौं- मंगलबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गृह र विज्ञान तथा

सडकबाट उद्धार गरिएकामध्ये ४० प्रतिशतको परिवारसँग पुनर्मिलन

काठमाडौं– उद्धार गरिएकामध्ये सडक सहयोगापेक्षी मानव ४० प्रतिशतलाई मात्रै परिवारसँग

ड्रोन उडान प्रकरणमा अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय

सियोल- उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा प्योङयाङमाथि

विश्वकप : चेक गणतन्त्रलाई हराउँदै दक्षिण कोरियाको विजयी सुरुवात

मेक्सिको – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को रोमान्चक