अफगान प्रहरीले महिलामाथि गरेको दमनको राष्ट्रसङ्घीय विज्ञद्वारा निन्दा « Khabarhub

अफगान प्रहरीले महिलामाथि गरेको दमनको राष्ट्रसङ्घीय विज्ञद्वारा निन्दा


२९ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका मानवअधिकार विज्ञहरूको समूहले अफगानिस्तानको पश्चिमी सहर हेरातमा महिलामाथि गरिएको प्रहरी दमनको निन्दा गर्दै प्रदर्शनका क्रममा कम्तीमा दुई जनाको मृत्यु भएको जनाएको छ।

हालै हेरातमा प्रहरीले शरीर पूर्ण रूपमा छोप्ने चादर वा बुर्का नलगाएको आरोपमा दर्जनौँ महिलालाई पक्राउ गरेको थियो। उक्त कारबाहीको विरोधमा भएको प्रदर्शनलाई बल प्रयोग गरेर नियन्त्रण गरिएको र एक प्रदर्शनकारीलाई गोली हानी हत्या गरिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।

प्रत्यक्षदर्शीहरूले प्रदर्शन नियन्त्रणका क्रममा सुरक्षा बलले गोली चलाएको बताएका छन्। तर अफगान प्रहरीले भने कुनै हतियार प्रयोग नगरिएको दाबी गरेको समाचार संस्था एएफपीले उल्लेख गरेको छ।

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्ले नियुक्त गरेका १० जना स्वतन्त्र विज्ञहरूले संयुक्त विज्ञप्ति जारी गर्दै प्रहरी दमनका कारण कम्तीमा दुई जनाको मृत्यु भएको तथा २० भन्दा बढी व्यक्ति घाइते भएको बताएका छन्।

विज्ञहरूले महिलाहरूलाई ड्रेस कोड उल्लङ्घन गरेको आरोपमा हिरासतमा राखिनु गम्भीर चिन्ताको विषय भएको उल्लेख गर्दै यस्तो कदमले उनीहरूको अभिव्यक्ति स्वतन्त्रता तथा आधारभूत मानवअधिकारमाथि हस्तक्षेप गरेको बताएका छन्।

उनीहरूले समानता, शान्तिपूर्ण भेला हुने अधिकार, अभिव्यक्ति तथा आवागमनको स्वतन्त्रता र मनमानी नजरबन्दबाट सुरक्षा प्रत्येक नागरिकको मौलिक अधिकार भएकाले यस्ता अधिकारमाथि नियन्त्रण गर्न नहुने बताएका छन्।

अफगानिस्तानमा तालिबान सरकारले लागू गरेको ड्रेस कोडअनुसार महिलाहरूले घरबाहिर निस्कँदा शरीर पूर्ण रूपमा ढाक्ने पोशाक लगाउनुपर्ने व्यवस्था छ।

हेरातमा पक्राउ परेका महिलामध्ये अन्तर्राष्ट्रिय मानवीय संस्था Doctors Without Borders (MSF) मा कार्यरत एक स्वास्थ्यकर्मी पनि रहेको जनाइएको छ। हेरात क्षेत्रीय अस्पतालको बाल वार्डमा कार्यरत ती चिकित्सकलाई शनिबार कार्यस्थल जाँदै गर्दा प्रहरीले रोकी ड्रेस कोड पालना नगरेको आरोपमा हिरासतमा लिएको थियो।

एमएसएफका अनुसार अनिवार्य ड्रेस कोड पालना गर्ने लिखित प्रतिबद्धतापत्रमा उनका पति र आफन्तको हस्ताक्षर गराएपछि दुई दिनपछि उनलाई रिहा गरिएको थियो।

एमएसएफले ड्रेस कोड कार्यान्वयनका नाममा आफ्ना कर्मचारीलाई पक्राउ गरी हिरासतमा राखिएको घटनाप्रति आक्रोश व्यक्त गरेको छ।

अफगानिस्तानमा महिलाहरूले लामो समयदेखि शिक्षा, रोजगारी, आवागमन तथा सार्वजनिक जीवनमा सहभागितासम्बन्धी विभिन्न क्षेत्रमा कडा प्रतिबन्धहरूको सामना गर्दै आएका छन्।

प्रकाशित मिति : २९ जेठ २०८३, शुक्रबार  १२ : ५७ बजे

सीमा विवादबारे परराष्ट्रमन्त्रीको भूमिकामा प्रश्न उठाइन् खुश्वुले

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्वु ओलीले भारतसँगको सीमा

पूर्व बालसैनिकसम्बन्धी रिटमा सर्वोच्चको परमादेश, लेनिनले भने : एउटा लडाइँ जित्यौँ

काठमाडौं- सर्वोच्च अदालतको पूर्ण इजलासले पूर्व बालसैनिकसम्बन्धी रिट निवेदनमा परमादेश

पोखराको रास्वपा अधिवेशनस्थल घेरे जेन-जीका आफन्तले (तस्बिरहरू)

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गण्डकी प्रदेश अधिवेशन पोखरा

फिफा विश्‍वकपको एक खेल प्रत्यक्ष हेर्न खर्चिनु पर्छ काठमाडौंमा एउटा घर आउने रकम

काठमाडौं- फिफाले विश्वकप २०२६ केवल फुटबलको महाकुम्भ मात्र नभई इतिहासकै

परराष्ट्रमन्त्री खनाल आइतबार तीन दिने चीन भ्रमणमा जाने

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर आइतबार तीन दिने औपचारिक भ्रमणका लागि उत्तरी