काठमाडौं- फिफाले विश्वकप २०२६ केवल फुटबलको महाकुम्भ मात्र नभई इतिहासकै सबैभन्दा धेरै आम्दानी गर्ने खेल प्रतियोगितामध्ये एक बन्ने अपेक्षा गरेको छ।
यसपटक विश्वकपका केही टिकटको मूल्य यति महँगो छन् कि त्यस रकमले नेपालको राजधानी काठमाडौं र भारतको राजधानी दिल्लीमा ठूलो घरसमेत किन्न सकिन्छ ।
विश्वकपबाट फिफाले टिकट बिक्री, आतिथ्य (हस्पिटालिटी) प्याकेज, प्रसारण अधिकार, प्रायोजन, मार्केटिङ तथा व्यापारिक सामग्री बिक्रीमार्फत अर्बौं डलर आम्दानी गर्ने अनुमान गरिएको छ।
सन् २०२२ फिफा विश्वकपबाट फिफाले ७.५७ अर्ब अमेरिकी डलर आम्दानी गरेको थियो। प्रसारण अधिकार र मार्केटिङ त्यसका प्रमुख स्रोत थिए।
तर २०२६ को विश्वकपका लागि फिफाले कुल १३ अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी हुने अनुमान गरेको छ। खेल अर्थशास्त्रीहरूको आकलनअनुसार वास्तविक आम्दानी योभन्दा अझ बढी हुन सक्छ।
टिकटमा नयाँ प्रणाली
यसपटक फिफाले पहिलो पटक ‘डाइनामिक प्राइसिङ’ प्रणाली लागू गरेको छ। हवाई टिकट वा केही रेल सेवामा जस्तै मागअनुसार टिकटको मूल्य बढ्ने वा घट्ने व्यवस्था गरिएको छ।
एल्गोरिदम र वास्तविक समयको माग विश्लेषणका आधारमा टिकटको मूल्य निर्धारण गरिएकाले लोकप्रिय खेलका टिकटको मूल्य अत्यधिक बढेको छ।
टिकटको मूल्य ?
२०२६ को फिफा विश्वकपको उद्घाटन खेलका लागि तोकिएको क्याटेगोरी–१ टिकट करिब २ हजार ५०० अमेरिकी डलरसम्म बिक्री भएको छ।
यस्तै, फाइनल खेलको टिकटको प्रारम्भिक मूल्य ८ हजार अमेरिकी डलर रहेको छ । केही टिकटको मूल्य नेपाली रुपैयाँमा करिब ६५ लाख रुपैयाँ बराबरसम्म पुगेको बताइएको छ।
यसअघि कतारमा सम्पन्न २०२२ विश्वकपमा समूह चरणका प्रिमियम टिकट करिब २२० डलर र फाइनल टिकट करिब १ हजार ६०० डलरमा उपलब्ध थिए।
माग अत्यधिक, टिकट सीमित
यसपटक विश्वकपमा ४८ टोली सहभागी हुँदैछन्, कुल १०४ खेल खेलिनेछन्। प्रतियोगिता अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना भइरहेको छ।
फिफाका अनुसार टिकटका लागि ५० करोडभन्दा बढी माग प्राप्त भएको छ । जबकि उपलब्ध टिकट संख्या करिब ७१ लाख मात्रै छ। माग र आपूर्तिबीचको यही ठूलो अन्तरले टिकट मूल्यलाई अभूतपूर्व रूपमा बढाएको विश्लेषण गरिएको छ।
अर्बौं डलर
सन् २०२२ विश्वकपमा फिफाले टिकट बिक्री र हस्पिटालिटी सेवाबाट मात्रै ९४ करोड ९० लाख अमेरिकी डलर आम्दानी गरेको थियो।
२०२६ का लागि फिफाले यस शीर्षकबाट ३.१ अर्ब डलर आम्दानी हुने अनुमान गरे पनि खेल अर्थशास्त्रीहरूका अनुसार वास्तविक आम्दानी ७.४४ अर्ब डलरभन्दा बढी पुग्न सक्छ। केही विश्लेषकले टिकट र हस्पिटालिटीबाट मात्रै ९ अर्ब डलरसम्म आम्दानी हुन सक्ने प्रक्षेपण गरेका छन्।
यसरी विश्वकप २०२६ खेल इतिहासकै सबैभन्दा महँगो र सर्वाधिक आम्दानी गर्ने प्रतियोगितामध्ये एक बन्ने देखिएको छ।












प्रतिक्रिया