बलिउडमा चर्चित फिल्म ‘द डर्टी पिक्चर’को दोस्रो भाग बन्ने भएको छ। सन् २०११ मा प्रदर्शन भएको यो फिल्मले दर्शकको मन जित्नुका साथै बक्स अफिसमा पनि राम्रो सफलता हासिल गरेको थियो । अब करिब १५ वर्षपछि निर्माता एकता कपुरले यसको सिक्वेल निर्माण गर्ने तयारी गरेकी छन् ।
एकताले हालै एक अन्तर्वार्तामा आफूले लामो समयपछि भन्न चाहेको कथा भेटेकाले फिल्मको दोस्रो भाग बनाउन लागेको बताएकी हुन् । पहिलो फिल्म दक्षिण भारतीय अभिनेत्री सिल्क स्मिताको जीवनबाट प्रेरित थियो ।
आफ्नो इच्छा र स्वतन्त्रतालाई खुलेर व्यक्त गर्दा समाजको आलोचना सामना गर्नुपरेकी महिलाको कथा फिल्ममा प्रस्तुत गरिएको थियो।
एकताले सिल्क स्मितालाई आफूले कहिल्यै पीडित महिलाका रूपमा नहेरेको बताएकी छन् । बरु, उनलाई आफ्नो स्वतन्त्रता र रोजाइलाई नलुकाई स्वीकार गर्ने साहसी महिलाका रूपमा हेरेको उनको भनाइ छ ।
यसपटक पनि सिक्वेल कुनै चर्चित व्यक्तिको जीवनकथामा आधारित हुने एकताले संकेत गरेकी छन् ।
तर, त्यो व्यक्तिको पहिचान भने खुलाइएको छैन। फिल्ममा पुरानै कलाकार दोहोरिनेछन् वा नयाँ कलाकारले स्थान पाउनेछन् भन्ने विषय पनि अहिले खुल्न बाँकी छ ।
विद्या बालन, नसिरुद्दीन शाह, इमरान हाशमी र तुषार कपुर अभिनीत पहिलो भाग १८ करोड भारुमा निर्माण भएको थियो । फिल्मले विश्वभरबाट ११७ करोड भारुको कुल कमाइ गरेको थियो ।














प्रतिक्रिया