मुगु– मुगुको मुन्दु गाउँ र सेरा जोड्ने २५० मिटर लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ । पुल निर्माणका लागि कर्णाली प्रदेश सरकारले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले हालै स्थानीयवासीसँगको छलफलमा पुल निर्माणका लागि बजेट विनियोजन गरिएको जानकारी दिएका हुन् । उनले पुल निर्माणको प्रक्रिया तत्काल अघि बढाइने बताए।
छलफलका क्रममा मुख्यमन्त्री शाहीले कोटिला र मुन्दु गाउँका बासिन्दालाई लक्षित गरी स्थानीय सडकको मर्मतसम्भार गर्ने तथा धार्मिक र पर्यटकीय महत्त्व बोकेको ऋणमोक्ष धामसम्म पुग्ने बाटोसमेत सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे।
पुल निर्माण भएपछि मुन्दु, कोटिला, लिउडी, घट्टलेक, तलीलेक र लुवारपोल्नालगायत दर्जनौँ बस्तीका स्थानीयलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ । यसबाट स्थानीयको दैनिक जनजीवनसँगै धार्मिक तथा पर्यटकीय स्थलसम्मको पहुँच विस्तारमा समेत सहयोग पुग्नेछ ।














प्रतिक्रिया