सिरहा- आस्थाको महापर्व छठ नजिकिँदै जाँदा सिरहाका विभिन्न नदी, नाला, तलाउ तथा पोखरीका किनारमा छठघाट सरसफाइ र सजावटको काम तीव्र पारिएको छ।
छठपर्वलाई भव्य, सभ्य र व्यवस्थित रूपमा मनाउने तयारीस्वरूप स्थानीयवासी, युवा तथा भक्तजनहरू सामूहिक रूपमा घाट व्यवस्थापनमा जुटेका छन्। जिल्लाका विभिन्न स्थानमा नदी तथा पोखरीका किनार सफा गर्ने, झारपात हटाउने, माटो सम्याउने तथा टेन्ट र पण्डाल लगाएर घाट सजाउने काम भइरहेको छ।

स्थानीयहरू कोदालो, खुर्पी, हँसियालगायत औजार बोकेर श्रमदानमा जुटेका छन्। आ–आफ्नो टोल तथा समुदायका छठघाट सफा र आकर्षक बनाउन थालिएसँगै जिल्लाका गाउँदेखि सहरसम्म पर्वको रौनक बढेको छ।
गोलबजार नगरपालिका–७ का स्थानीय दीपेन्द्र सिंह (दीपा) का अनुसार व्रतालु तथा श्रद्धालु भक्तजनलाई पूजाअर्चना गर्न सहज होस् भन्ने उद्देश्यले केही दिनअघिदेखि नै स्थानीयहरू सरसफाइ र घाट व्यवस्थापनमा खटिएका हुन्।

अर्का स्थानीय अमितकुमार सिंहले छठपर्वलाई व्यवस्थित र सभ्य रूपमा सम्पन्न गर्न स्थानीयहरू एकजुट भएर तयारीमा लागेको बताए। उनका अनुसार घाट व्यवस्थापनका लागि जेसीबीसहित विभिन्न औजार र उपकरण प्रयोग भइरहेको छ।
सूर्यदेव र छठी माताको उपासनासँग जोडिएको छठपर्वमा व्रतालुहरूले अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गर्ने परम्परा छ। पर्व मनाउन रोजगारी तथा अन्य कामको सिलसिलामा विभिन्न जिल्लामा पुगेका मानिससमेत घर फर्किन थालेपछि सिरहामा छठको चहलपहल थप बढेको छ।



















प्रतिक्रिया