काठमाडौं- काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग एनपीएलको प्लेअफमा पुगेको छ । शुक्रबार सम्पन्न पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौंलाई ७ रनले पराजित गर्यो ।
सुदूरपश्चिमले दिएको १ सय २६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको काठमाडौं सबै ओभर खेलेर ७ विकेट गुमाउँदै १ सय १८ रनमा समेटियो ।
काठमाडौंका लागि रशिद खानले सर्वाधिक ३५ रन बनाए । ३१ बलको सामना गरेका उनले ५ चौका प्रहार गरे ।
यसैगरी, दुशन हेमन्थाले १८ बलमा २१ रन बनाए । त्यस्तै, साम हेजलेट र सन्तोष यादवले क्रमशः ११ र १० रन बनाए ।
बलिङतर्फ सुदूरपश्चिमका अनिल खरेलले २ तथा स्कट कुगलाइन, हेमन्त धामी र फाबियान एलेनले समान एक विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २५ रन बनाएको थियो ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए । चार विकेट गएर मात्र आठ रन जोडेको अवस्थामा ब्याटिङ गर्न पुगेका दिपेन्द्रले सम्हालिएर प्रदर्शन गरेका हुन् ।
दीपेन्द्रले ५५ बलको सामना गर्दा पाँच चौका र दुई छक्काको मद्दतमा ६० रन बनाए ।
उसका लागि थरिन्दु रत्नायकेले नटआउट २६ रन बनाए भने आरिफ शेखले १६ रन जोडे । सुदूरपश्चिमका ओपनर स्कट कुगेलेइन ६, विनोद भण्डारी १ रनमा आउट हुँदा ब्रान्डम माकमुलेन र इशान पाण्डे शून्यमै आउट भए ।
सुदूरपश्चिमलाई सस्तैमा समेट्न काठमाडौँका लागि जहानद खानले तीन विकेट हात पार्दा सन्तोष यादवले दुई विकेट लिए । अन्य कुनै पनि बलरले विकेट हात पार्न सकेनन् ।
यस जितसँगै सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । ७ मध्ये ५ खेल जितेको सुदूरपश्चिमको १० अंक छ । ६ खेलबाट एक अंक कम रहेको लुम्बिनी दोस्रो स्थानमा छ ।
लुम्बिनी पनि यसअघि नै प्लेअफमा पुगिसकेको छ ।
६ खेल खेलिसकेको काठमाडौं ८ अंकका साथ तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको विराटनगर किंग्सको ६ खेलबाट ६ अंक छ ।














प्रतिक्रिया