जेन्सेन हुआङको राजीनामासँगै एनभिडियाको भविष्य र अमेरिकी प्रविधि उद्योगमा अनिश्चितता « Khabarhub

जेन्सेन हुआङको राजीनामासँगै एनभिडियाको भविष्य र अमेरिकी प्रविधि उद्योगमा अनिश्चितता


२७ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सान फ्रान्सिस्को- चिनियाँ जासुसीसँग जोडिएको आरोप र दुई महिलासँगको विवाहेतर सम्बन्ध सार्वजनिक भएपछि एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले राजीनामा दिएका छन् । उनको राजीनामासँगै कम्पनीमा ३३ वर्ष लामो नेतृत्वको अन्त्य भएको छ । यस घटनाले विश्वकै अग्रणी कृत्रिम बौद्धिकता (एआई) प्रविधि कम्पनी एनभिडियाको भविष्य र अमेरिकी प्रविधि उद्योगमा अनिश्चितता थपेको छ ।

राजीनामाको खबर सार्वजनिक भएपछि एनभिडियाको सेयर मूल्य सुरुमा १३ प्रतिशतसम्म घटेको थियो । कम्पनीको बजार पुँजीकरणमा करिब ४५ खर्ब अमेरिकी डलर बराबरको गिरावट आएको विवरण सार्वजनिक भएको छ । ६३ वर्षीय हुआङले प्रमुख कार्यकारीसँगै सञ्चालक समितिको सदस्य पदसमेत छाडेका छन् ।

प्रमुख वित्तीय अधिकारी कोलेट क्रेसले अन्तरिम प्रमुख कार्यकारीको जिम्मेवारी सम्हाल्ने भएकी छन् । सन् २०२२ मा च्याटजीपीटी सार्वजनिक भएपछि तीव्र विस्तार भएको कृत्रिम बौद्धिकता (एआई) उद्योगमा हुआङ प्रमुख व्यक्तित्वका रूपमा स्थापित भएका थिए । भिडियो गेमका लागि ग्राफिक्स बनाउने प्रोसेसर उत्पादनबाट सुरु भएको एनभिडिया एआई मोडेल निर्माणका लागि आवश्यक चिपको प्रमुख आपूर्तिकर्ता बनेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनौपचारिक सल्लाहकारसमेत रहेका हुआङले चीनमा उन्नत एआई चिप बिक्रीमा लगाइएको प्रतिबन्धको विरोध गर्दै आएका थिए । विवादका बीच राष्ट्रपति ट्रम्पले एप्पलका पूर्वप्रमुख टिम कुकलाई एनभिडियाको नेतृत्वका लागि उपयुक्त उम्मेदवार बताएका छन् ।

उता, सञ्चालक समितिले सिनोप्सिसका पूर्वप्रमुख हार्वी जोन्सलाई अध्यक्ष नियुक्त गरेको छ । हुआङले सिङ्गापुरस्थित डाटा सेन्टर कम्पनी मेगास्पिडकी पूर्वकार्यकारी एलिस हुआङसँग सम्बन्ध रहेको स्वीकार गरेका थिए । अमेरिकी गुप्तचर निकायले एलिस चीनको राज्य सुरक्षा मन्त्रालयसँग सम्बन्धित व्यक्ति भएको आरोप लगाए पनि चीनले त्यसलाई अस्वीकार गरेको छ ।

सिङ्गापुरले भने मेगास्पिडसम्बन्धी अनुसन्धानमा गलत जानकारी दिएको भन्दै एलिसलाई गत फेब्रुअरीमा पुनः देश प्रवेशमा प्रतिबन्ध लगाएको जनाएको छ । तर उनीमाथि जासुसीको अनुसन्धान नगरिएको स्पष्ट पारेको छ । यसैबीच, ‘द न्युयोर्क टाइम्स’ ले एनभिडियाकी उपाध्यक्ष किम्बर्ली पावेलसँग पनि हुआङको अर्को सम्बन्ध रहेको दाबी गरेको छ ।

सञ्चालक समितिले हुआङ विदेशी गुप्तचर निकायको निशानामा परेको हुन सक्ने विषयमा अनुसन्धानसमेत सुरु गरेको थियो । अमेरिका र चीनबीच अत्याधुनिक प्रविधिमा वर्चस्व कायम गर्ने प्रतिस्पर्धा चलिरहेका बेला यो विवाद सार्वजनिक भएको हो । अमेरिकी सांसदहरूले हुआङ र चिनियाँ गुप्तचर निकायबीचको सम्भावित सम्बन्धबारे ट्रम्प प्रशासनसँग स्पष्टीकरण मागेका छन् ।

मेगास्पिडमार्फत प्रतिबन्धित एनभिडिया प्रविधि चीन पठाइएको हुन सक्ने आशङ्कासमेत उठेको छ । सिङ्गापुरले यस विषयमा अमेरिकी न्याय मन्त्रालय र एफबिआईसँग पटकपटक जानकारी माग्दा सीमित सहयोग मात्र प्राप्त भएको जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार  ४ : ४६ बजे

चितवनविरुद्ध टस जितेको जनकपुरले पहिले ब्याटिङ गर्दै

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर

छठ पर्वका दिन पनि राहदानी विभाग खुला रहने

काठमाडौँ – छठ पर्वको अवसरमा सार्वजनिक बिदा भए पनि राहदानी

जेन्सेन हुआङको राजीनामासँगै एनभिडियाको भविष्य र अमेरिकी प्रविधि उद्योगमा अनिश्चितता

सान फ्रान्सिस्को- चिनियाँ जासुसीसँग जोडिएको आरोप र दुई महिलासँगको विवाहेतर

जलवायुजन्य विपद्का आवाज विश्वसामु पुर्‍याउने थलो बन्यो नेपाल पेभेलियन

अन्ताल्या (टर्की)- यही कात्तिक २३ गतेदेखि यहाँ जारी कोप–३१ मा

भीमफेदी दुर्घटनामा एकै गाउँका १३ जनाको मृत्यु, शवको पर्खाइमा आफन्त

सर्लाही- मकवानपुरको भीमफेदीमा भएको विद्युतीय गाडी (इभी) दुर्घटनामा एकै गाउँका