काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शुक्रबारको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र चितवन राइनोजबीच प्रतिस्पर्धा भइरहेको छ । खेलमा जनकपुरले चितवनलाई ८९ रनको झिनो लक्ष्य दिएको छ ।
कीर्तपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८८ रनको योगफल बनायो । जनकपुरका लागि कप्तान हर्मित सिंहले सर्वाधिक २५ रन बनाए । २५ बलको सामना गरेका उनले २ चौका र १ छक्का प्रहार गरे ।
त्यसैगरी, विशाल सुस्लिङले १५ तथा सन्तोष कार्की र राहुल यादवले समान १० रन बनाए । अन्य ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।
बलिङतर्फ चितवनका रञ्जित कुमारले ३ विकेट लिए भने कप्तान सिकन्दर राजा र कमिल मिसाराले समान २ तथा रिजन ढकाल र कमलसिंह ऐरीले समान १ विकेट लिए ।
हालसम्म ५ खेलबाट ५ अंक जोडेको चितवन लिगको अंक तालिकामा पाचौँ स्थानमा रहेको छ । एक खेल कम खेलेर एक अंक कम रहेको जनकपुर तालिकाको छैठौँ स्थानमा छ ।














प्रतिक्रिया