काठमाडौं- नेपाली कांग्रेसनिकट जेन-जीहरूले पार्टीको नेतृत्वमा राष्ट्रिय राजनीतिमा आमूल परिवर्तन ल्याउनुपर्ने माग गरेका छन् ।
कांग्रेसको विशेष महाधिवेशनको तेस्रो दिन भृकुटीमण्डपमा जारी रहँदा जेन-जी पुस्ताका प्रतिनिधिहरूले यस्तो मागसहित आफ्नो घोषणा पत्र सार्वजनिक गरेका छन् ।
उनीहरूले सार्वजनिक गरेको यो घोषणापत्रले डेमोक्रेसी, डिसिप्लिन, डिग्निटी, डेडिकेशन, डेभलपमेन्ट, डेलिभरी र डिजिटल ट्रान्सफर्मेशनसहित (७डी) लाई मूल नारा बनाएर पार्टी तथा राष्ट्रिय राजनीतिमा आमूल परिवर्तनको माग गरेका छन्।
यो घोषणापत्रमा गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको भावना र मागलाई प्रतिबिम्बित गर्दै कांग्रेसभित्र युवा पुस्ताको आवाजलाई बलियो बनाउनुपर्ने उल्लेख गरिएको छ।
जेन-जीले पार्टीको निर्णायक संरचनामा युवा प्रतिनिधित्व बढाउन, भ्रष्टाचार नियन्त्रण गर्न र डिजिटल युगमा आधारित सुशासन स्थापित गर्न जोड दिएका छन्।
जेन-जीका मुख्य माग :
नेतृत्व तथा प्रतिनिधित्व : पार्टीको केन्द्रीय संरचनामा ४० वर्ष मुनिका लागि ४०% र ३० वर्ष मुनिका लागि २०% आन्तरिक आरक्षण लागू गर्ने।
टिकट वितरण : वैज्ञानिक स्कोरकार्ड प्रणाली (प्राइमरी, योग्यता, लोकप्रियता र योगदानको आधारमा) कडाइका साथ लागू गर्ने।
राजनीतिक सुधार : दलहरूलाई ‘स्वार्थ समूह’ बाट मुक्त गर्न राज्य कोषबाट पारदर्शी अनुदान (स्टेट फाइनान्सिङ) को संवैधानिक व्यवस्था गर्ने।
भ्रष्टाचार नियन्त्रण : अख्तियार प्रमुख चयनमा नागरिक समाज र दिग्गजहरू सहितको इलेक्टोरल कलेज गठन गर्ने। न्यायालय तथा सार्वजनिक प्रशासनमा स्वार्थ द्वन्द्वसम्बन्धी ऐन बनाउने र प्रणालीगत स्वच्छता कायम गर्ने।
सेवा प्रवाह : सार्वजनिक सेवालाई ‘कृपापात्र’ होइन, नागरिकको गरिमायुक्त अधिकार बनाउने। १० वर्षे डेलिभरी रोडम्याप र एकीकृत कार्ययोजना तयार गर्ने।
डिजिटल तथा मतदान सुधार : स्वतः मतदाता दर्ता प्रणाली, डिजिटल फर्स्ट नीति, एकीकृत डिजिटल प्लेटफर्म विकास गर्ने। टाढा रहेका मतदातालाई मतदानको सुविधा सुनिश्चित गर्ने।
आन्तरिक सुशासन : पार्टीभित्र आन्तरिक सुशासन आयोग गठन गर्ने। क्रियाशील सदस्यतालाई अनलाइनबाट खुला गर्ने र तहगत जिम्मेवारीमा सीमितता हटाउने।
अन्य : नीति निर्माणमा युवा, महिला र सीमान्तकृत समुदायको अर्थपूर्ण सहभागिता, संसद छलफल प्रत्यक्ष प्रसारण, मेरिट-बेस्ड नियुक्ति, आधारभूत आवश्यकतालाई संवैधानिक अधिकार बनाउने आदि।
यो घोषणापत्रमा जेन-जी पुस्ताको सपना र जिम्मेवारीलाई पार्टीले सम्बोधन गर्नुपर्ने माग पनि गरिएको छ। ‘निर्णयका लागि यो घोषणा पत्र पार्टीमा सुम्पिएका छौं। हाम्रा सुप्रै सपना छन् र सँगै जिम्मेवारी पनि’, उनीहरूले भनेका छन्, ‘सिङ्गो जेन-जी पुस्ता तपाईंहरूको साथमा छ।’
विशेष महाधिवेशनमा यो घोषणापत्रले पार्टीभित्र युवा नेतृत्वको माग सम्बोधनका लागि दबाब बढाएको छ।
जेन-जीले कांग्रेसलाई परिवर्तनको माध्यम बनाएर देशमा सुशासन, पारदर्शिता र डिजिटल युगको विकास सुनिश्चित गर्न माग गरेका छन् । यो कदमले पार्टीको आगामी निर्वाचन रणनीति तथा संरचनामा ठूलो प्रभाव पार्ने अपेक्षा छ ।













प्रतिक्रिया