काठमाडौं– हेटौंडाको पदमपोखरी -१३ को एक शान्त साझ, फेन्चु लामा आफ्ना ड्रागन फ्रुटका बोटहरू नियालिरहेका छन् । कहिले बिरुवाहरूको सूक्ष्म निरीक्षण गरिरहेका छन् भने कहिले सहयोगी कामदारहरूलाई केही निर्देशन दिइरहेका छन् ।
उनको यो चालमा एउटा दृढ आत्मविश्वास देखिन्छ- अनुभवले मात्र होइन, आफ्नै सङ्कल्पले सँगालिएको आत्मविश्वास । केही वर्षअघि उनी कक्षाकोठामा विद्यार्थीहरू सँग रमाइरहेका थिए ।
आज भने उनी खेतमा आफ्नो अनुभव बटुलिरहेका छन् । ‘सात वर्ष भयो,’ लामा भन्छन्, ‘यसअघि म सर्भिस सेक्टरमा थिएँ, एक गणित शिक्षकको रुपमा । अहिले म किसान हुँ।’
उनको शिक्षकबाट कृषि उद्यमी बन्ने यात्रा अचानक भएको भने होइन। यो अनुभव र अवलोकनबाट आएको हो । त्यसको केन्द्रमा थियो पदमपोखरी चोकमा रहेको उनका बुवाको एग्रो- भेट पसल, जहाँ किसानहरू सधैँ समस्या र समाधान खोज्दै आउने गर्थे ।
‘म त्यहाँ बस्दा किसानका कुरा सुन्थेँ’,उनी सम्झिन्छन्, ‘त्यसपछि लाग्न थाल्यो, हामीले उत्पादनतर्फ जानुपर्छ । नेपाल आयातमा निर्भर छ । आयातित बस्तुहरुको मात्रै उपभोग गरेर, उत्पादनमा नलाग्ने हो भने कसरी परिवर्तन आउँछ ?’
त्यो प्रश्नले उनलाई छोडेन । लामो समय सेवा क्षेत्रमा बिताएपछि उनलाई उत्पादनमा केही गर्ने चाहना बढ्दै गयो । उनी सिर्जनाका अवसरहरू खोजिरहेका थिए । त्यही समयमा उनले कृषि क्षेत्रमा नयाँ अवसरहरू पनि देखे, ड्रागन फ्रुटको उच्च मूल्य, बोयर बाख्राको उन्नत जात, र सयपत्री फूलको बढ्दो माग । ‘माग छ भने किन नगर्ने?’ उनी भन्छन् ।
त्यही सोचले ‘एम. एन. एस एग्रो प्रा.लि’ को जन्म भयो । करिब डेढ बिगाहा जमिनमा फैलिएको यस फार्ममा अहिले ड्रागन फ्रुट, मेवा, खरबुजा, सयपत्री फूलको उत्पादन गरिन्छ भने बाख्रा पालन पनि गरिन्छ । एउटा सानो प्रयासबाट सुरु भएको काम अहिले व्यवस्थित कृषि उद्यम बनेको छ । करिब ४ करोडको लगानीमा रहेको यस फार्मको मुख्य आम्दानीको स्रोत भने ड्र्यागन फ्रुट रहेको छ ।
तर लामाको खेती केवल बाली उत्पादनमा मात्रै सीमित छैन, यो प्रयोग र प्रणाली निर्माणको प्रयास पनि हो ।
ड्रागन फ्रुट खेतीमा उनले नवीन तरिका अपनाएका छन् । अफ- सिजनमा पनि उत्पादन बढाउन कृत्रिम बत्ती प्रयोग गरिएको छ। बत्ती सेन्सर मार्फत आफैँ बल्ने- निभ्ने व्यवस्था गरिएको छ ।
साथै, उनले परम्परागत पोल प्रणालीबाट ट्रेलिस प्रणालीतर्फ बिस्तारै ड्रागन फ्रुट खेतीलाई रूपान्तरण गरिरहेका छन्, जसले उत्पादन र व्यवस्थापन दुबैमा सुधार ल्याउँछ ।
‘सानो परिवर्तनले पनि ठूलो फरक पार्छ,’ उनी भन्छन् । यद्यपि, यो यात्रा सहज भने थिएन । ड्रागन फ्रुटजस्तो बालीमा व्यावसायिक उत्पादन आउन समय लाग्छ, कम्तीमा पाँच वर्ष । प्राकृतिक जोखिम पनि छन् । फल पाक्ने बेला चराले करिब १० प्रतिशतसम्म क्षति पुर्याउँछ । केही गम्भीर ढुसीजन्य रोग पनि लाग्ने गर्छ । बिरुवा पहेँलो देखिने र यसले बोटको वृद्धि रोकेर फलको उत्पादनमा ह्रास आउने गर्दछ ।
‘हामी व्यवस्थापन गर्दैछौं, बर्ड नेट र ब्यागिङको इन्स्टलेसनको काम हुँदैछ,’उनी भन्छन् । यो फार्म परिवारमै आधारित छ । उनका बुबा प्राविधिक अनुभवसहित संलग्न छन्, उनकी श्रीमतीले कृषि विषय पढेकी छन्, र लामा आफैँले पनि स्नातकोत्तर पछि जेटिए पढेर कृषि तालिम समेत लिएका छन् । यसबाहेक चार जना स्थायी कामदारहरू छन्, र सिजनमा थप कामदार पनि राखिन्छ ।
‘यो मेरो एक्लैको प्रयास भने होइन,’ उनी भन्छन्, ‘अरूलाई पनि सिकाएर काम गर्न सक्ने बनाएका छौँ ।’ उनको कामले पहिचान पनि पाएको छ, स्थानीय तहदेखि प्रदेश र राष्ट्रिय स्तरसम्मका सम्मानहरू प्राप्त गर्न सफल भएका छन् । हरेक प्रोत्साहन उनका लागि नयाँ सुरुवातको खुड्किलो बनेको छ ।
आगामी दिनमा उनी उत्पादनभन्दा अघि बढेर प्रशोधनतर्फ जान चाहन्छन् । ‘ड्रागन फ्रुटबाट जुस, क्यान्डी, वाइन बनाउन सकिन्छ,’ उनी भन्छन्, ‘केही पनि खेर जानु हुँदैन ।’
तर उनी प्रणालीगत समस्याहरू पनि स्पष्ट देख्छन् । मल, गुणस्तरीय बीउ, बीमा, र स्थिर बजार अझै चुनौतीका रूपमा छन् । किसानलाई सहयोग गर्ने नीति, न्यूनतम समर्थन मूल्य, र डिजिटल बजार आवश्यक रहेको उनी बताउँछन् ।
लामा केवल व्यक्तिगत परिवर्तनको उदाहरण मात्र बन्न चाहँदैनन् । उनी नेपाली माटोले बकेको कृषिप्रधान मुलुकको अर्थ सबै युवाहरुले प्रत्याभूत गर्नुपर्नेमा जोड दिन्छन् । ‘राज्यले यसमा विशेष जोड दिनुपर्छ ।’ उनी स्पष्ट छन् । ‘धेरै वर्ष सेवा गरेँ, अब कृषि कर्ममा आफ्नो ऊर्जाशील समय बिताउन चाहन्छु ।’ गौतम सेन्ट जेभियर्स कलेज, माइतीघरमा स्नातक तहमा अध्ययनरत छन् ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी
























प्रतिक्रिया