काठमाडौं– राजधानीको बढ्दो सवारी चाप र सडक दुर्घटनाका चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यले सोमबार सडक दुर्घटना न्यूनीकरणसम्बन्धी नागरिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
पञ्चकुमारी समाज, सिनामंगल काठमाडौँको आयोजना तथा प्रहरी वृत्त गौशाला र ट्राफिक प्रहरी प्रभाग एयरपोर्टको सहकार्यमा आयोजित ‘सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी सबैको जिम्मेवारी’ विषयक नागरिक सुनुवाइ तथा नयाँवर्ष २०८३ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको हो ।
उक्त कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदी, प्रहरी वृत्त गौशालाका प्रमुख प्रकास श्रीमल, काठमाडौँ महानगरपालिका–९ का वडासदस्य सृजना भेटवाल, स्थानीय जनप्रतिनिधि, यातायात व्यवसायी, सवारी चालक, समाजसेवी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता थियो ।
कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी निरन्तर रूपमा खटिइरहेकाले नागरिक स्तरबाट पनि सडक दुर्घटना न्यूनीकरणमा आवश्यक सहयोगको आवश्यकता रहेको बताए।
उनले दुर्घटना न्यूनीकरण केवल ट्राफिक प्रहरीको मात्र दायित्व नभई चालक, यात्रु, व्यवसायी र आम नागरिक सबैको साझा जिम्मेवारी भएकामा जोड दिँदै भने, ‘हामी हाम्रो तर्फबाट अहोरात्र खटिएका छौँ, तर यस अभियानलाई सफल बनाउन सबै पक्षको सक्रिय सहयोग अपरिहार्य छ ।’
यसैगरी, उनले जथाभावी सवारी रोक्ने, अव्यवस्थित रूपमा यात्रु चढाउने–ओराल्ने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाएको उल्लेख गर्दै तोकिएका स्थानबाट मात्र सेवा सञ्चालन गर्न आग्रह गरे।
कार्यक्रममा काठमाडौँ महानगरपालिका–९ का वडाध्यक्ष सृजना भेटवालले सडक दुर्घटना न्यूनीकरणका लागि वडा कार्यालय लागिपरेको र सडकहरूमा सिसी क्यामेरा जडानका लागि आवश्यक गृहकार्य भइरहेको जानकारी दिँदै सडकमा जथाभावी गरिने पर्किङलाई हटाएर सवारी सञ्चालनलाई व्यवस्थित बनाउनुपर्ने धारणा राखे।
उनले भने, ‘सडक दुर्घटना न्यूनीकरणका लागि वडा कार्यालय लागिपरेको छ । सडकहरूमा सिसी क्यामेरा जडान गर्न आवश्यक गृहकार्य भइरहेको छ । जथाभावी सडकमा गरिने पार्किङ पनि हटाउँछौँ । सडक सुरक्षा सुधारका लागि स्थानीय तह सधैँ सकारात्मक छ ।’
प्रहरी वृत्त गौशालाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलले सडक दुर्घटना न्यूनीकरणमा चालकहरूलाई विशेष जिम्मेवार हुने बताउनु हुँदै नियम पालना र सचेतनामा जोड दिनुपर्ने आवश्यकता औँल्याए ।
उनले भने, ‘सडक दुर्घटना न्यूनीकरणका लागि सबै पक्षको सहकार्य आवश्यक छ, चालकहरूलाई विशेष जिम्मेवार हुनु आवश्यक छ । सडक दुर्घटना न्यूनीकरण गर्न हामी पूर्ण रूपमा लागिपरेका छौँ ।’
अन्तरक्रियाका क्रममा सहभागी यातायात व्यवसायीहरूले ट्राफिक प्रहरीको व्यवहारप्रति असन्तुष्टि व्यक्त गर्दै जथाभावी चिट काट्ने, अनावश्यक रूपमा दुःख दिने तथा व्यवहारमैत्री सेवा नपाएको गुनासो गरेका थिए ।
ट्राफिक प्रहरी उपरीक्षक सुवेदीले नियम उल्लङ्घन नियन्त्रणका लागि कडाइ आवश्यक भए पनि सेवामुखी र सहजीकरणात्मक व्यवहारलाई प्राथमिकता दिइने प्रतिबद्धता जनाएका थिए । कार्यक्रमले ट्राफिक व्यवस्थापनमा देखिएका समस्या, चुनौती र समाधानका उपायबारे खुला छलफल गर्ने अवसर प्रदान गरेको सहभागीहरूले बताएका छन् ।
ट्राफिक प्रहरी प्रभाग एयरपोर्टका प्रमुख एवं प्रहरी निरीक्षक लोकेन्द्र मल्लले सडकमा खटिँदा ट्राफिक प्रहरीले भोग्नु परेका विषयमा जानकारी दिनाका साथै सडक दुर्घटना न्यूनीकरणका विषयमा आफ्ना धारणा राखेका थिए।













प्रतिक्रिया