काठमाडौँ – नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले चर्का भाषण र सस्तो लोकप्रियताको भरमा देश बदल्ने दाबी गर्नेबाट मुलुकको रूपान्तरण सम्भव नभएको दाबी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले स्पष्ट वैचारिक जग, सुस्पष्ट योजनासहितको गन्तव्य र निरन्तर समर्पणबाट मात्रै देश बदल्न सकिने उल्लेख गरेका हुन् ।
मुलुकको विकृति, विसङ्गति र बेथिति हटाउने जिम्मा आफैँभित्रका विकृति र आचरणगत कमजोरी सुधार्न नसकेको नेतृत्वलाई सुम्पनु नै नेपाली समाजको सबैभन्दा ठूलो भूल भएको उनको टिप्पणी छ । उनले चर्का भाषण गर्नेहरूको कार्यशैली पूर्णतः विरोधाभासपूर्ण देखिएकाले उनीहरूबाट देश रूपान्तरण सम्भव छैन भन्ने कटु यथार्थ आज छर्लङ्ग भइसकेको दाबी गरे ।
विगतमा देशमा केही पनि भएकै थिएन भन्ने भाष्य गलत भएको तर्क गर्दै उनले हिजोका दिनमा पूर्वाधार र सूचना प्रविधिको विकासले समाजमा वस्तु र सेवाको उपलब्धता सहज बनाएको बताए । “विकासले आम मानिसको अपेक्षा र चाहना ह्वात्तै वृद्धि गर्यो, तर सोहीअनुरूप नागरिकको वैधानिक आयमा भने वृद्धि हुन सकेन,” पोखरेलले लेखेका छन्, “अपेक्षा र आयबीचको यही असन्तुलनका कारण समाजमा वैध–अवैध सबै तरिका अपनाउने गलत प्रवृत्ति मौलायो ।”
यसैका कारण समाजमा भ्रष्टीकरण, अपराधीकरण, सामाजिक अराजकता, पैतृक सम्पत्तिको तीव्र क्षयीकरण र वैदेशिक पलायन जस्ता गम्भीर समस्याहरू देखा परेको उनको विश्लेषण छ । यही समस्याबाट उत्पन्न जनअसन्तोषलाई सामाजिक सञ्जाल र पपुलिजमका माध्यमबाट राज्य र राजनीतिक दलहरूका विरुद्धमा उचाल्न केही शक्तिहरू सफल भएको उनले उल्लेख गरेका छन्।
महासचिव पोखरेलले यस्ता गम्भीर संरचनागत समस्याको समाधान पपुलिजम वा क्षणिक उत्तेजनाबाट सम्भव नभएको प्रष्ट पार्दै यस्ता सङ्कटको दिगो समाधान केवल वैचारिक स्पष्टता र राजनीतिक इमानदारिताको जगमा मात्र खोजिनुपर्ने र त्यो सम्भव रहेको बताएका छन् ।












प्रतिक्रिया