लोप हुँदै भटमासखेती « Khabarhub

लोप हुँदै भटमासखेती


२९ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम- कुनै समय तेह्रथुमका गाउँबस्तीमा प्रमुख दलहन बालीका रूपमा खेती गरिँदै आएको भटमास पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ । जिल्लाको म्याङलुङ आसपासका क्षेत्रमा एक दशकअघिसम्म बारीभरि देखिने भटमासका बोट अहिले फाट्टफुट्ट मात्र देखिएको छ । प्रशस्त प्रोटिन पाइने भटमास स्थानीय समुदायको खानपानसँगै कृषि संस्कृतिसँग पनि जोडिएको बाली हो ।

भटमासको हरियो कोशा उसिनेर खाने, तरकारीका रूपमा प्रयोग गर्ने, पाकेपछि भुटेर खाने तथा परम्परागत रूपमा किनिमा बनाएर प्रयोग गर्ने प्रचलन छ । भटमासबाट तेलसमेत उत्पादन गरिन्छ । सदरमुकाम म्याङलुङ बजार आसपासका सुक्खा, पानी नजम्ने तथा दोमट माटो भएका क्षेत्र भटमासखेतीका लागि उपयुक्त मानिन्थे ।

म्याङलुङ, तम्फुलालगायत क्षेत्रमा विगतमा भटमास प्रमुख बालीका रूपमा खेती हुने गरेको स्थानीय बताउँछन् । करिब एक दशकअघिसम्म यस क्षेत्रका बारीमा मुरीका मुरी भटमास उत्पादन हुने गरेकामा अहिले उत्पादन घटेको सिमिति स्थानीयको भनाइ छ ।

म्याङलुङ नगरपालिका–२ मेयङलुङ गाउँका मनी खापुङका अनुसार पछिल्लो समय रासायनिक मलको प्रयोग बढ्दै जानु तथा खेती प्रणालीमा आएको परिवर्तनका कारण भटमासलगायत रैथाने बाली हराउँदै गएका हुन् । “पहिले हाम्रो बारीमा भटमाससँगै अन्य रैथाने बाली पनि प्रशस्त हुन्थे”, उनले भने, “अहिले खेती गर्ने तरिका परिवर्तन भएको छ, रासायनिक मलको प्रयोग बढेसँगै पुराना बालीको उत्पादन पनि घट्दै गएको छ ।”

भटमाससँगै विगतमा उत्पादन हुने रैथाने जातका सिमी, विभिन्न दाल तथा कोदोको खेतीसमेत घट्दै गएको स्थानीयको भनाइ छ । म्याङलुङ नगरपालिका–२ कै देवीमाया राईले रैथाने बाली हराउँदै जाँदा स्थानीय उत्पादनसँगै परम्परागत खानपानमा असर परेको बताइन् । “हाम्रा बाउबाजेले लगाउँदै आएका धेरै बाली अहिले खेतबारीमा देखिन छाडेका छन्”, उनले भनिन्, “बाली मात्र हराएको होइन, त्यससँग जोडिएको खानपान र परम्परा विस्तारै हराउँदै गएको छ ।”

म्याङलुङ मात्र नभई जिल्लाका तम्फुला र बिस्कुनेलगायत क्षेत्रमा भटमास खेती घट्दै गएको छ । विगतमा यही समयमा हरियो कोसा लागेका भटमासका बोटले बारी ढाक्ने गरे पनि अहिले ती क्षेत्रमा भटमासका बोटसमेत देख्न मुस्किल हुने स्थानीय बताउँछन् । म्याङलुङ नगरपालिका–१० बिस्कुनेका किसान प्रेम पताङ्वाका अनुसार कहीँकतै फाट्टफुट्ट भटमासका बोट देखिए पनि विगतको तुलनामा उत्पादन निकै कम भएको छ ।

अहिले बारीमा भटमासको स्थान मकैले लिएको उनले बताए । कृषि ज्ञान केन्द्र तेह्रथुमका प्रमुख विशाल राईले रासायनिक मलको प्रयोग हुने क्षेत्रमा भटमासको उत्पादनमा कमी आएको बताए । माटोको अवस्था, खेती प्रणालीमा आएको परिवर्तन र रासायनिक मलको बढ्दो प्रयोगलगायत कारणले रैथाने बालीको उत्पादन प्रभावित भएको हुनसक्ने उनको भनाइ छ ।

भटमासलाई दलहनसँगै तेलहन बालीका रूपमा लिइन्छ । पोषणका दृष्टिले महत्त्वपूर्ण मानिने यसमा प्रशस्त प्रोटिन पाइन्छ । हरियो कोशा, पाकेको दाना, किनिमा तथा तेलका रूपमा प्रयोग गर्न सकिने भएकाले यसको उपयोगिता बहुआयामिक छ । एक दशक अघिसम्म भटमास उत्पादनको केन्द्रका रूपमा रहेका म्याङलुङ आसपासका क्षेत्रमा अहिले स्थानीय बजारमा तराईबाट ल्याइएको भटमास खरिद गर्नुपर्ने अवस्था आएको छ ।

स्थानीय उत्पादन घट्दै गएपछि उपभोगका लागि बाह्य क्षेत्रबाट भटमास ल्याउनुपर्ने अवस्था आएको स्थानीयको भनाइ छ । रैथाने बाली कृषि उपज मात्र नभई स्थानीय समुदायको संस्कृति, खानपान, परम्परा र पहिचानसँग समेत जोडिएका हुन्छन् ।

यस्ता बालीको खेती र प्रयोग घट्दै जाँदा त्यससँग सम्बन्धित स्थानीय ज्ञान, सीप तथा परम्परागत खाद्य संस्कृतिसमेत प्रभावित हुने कृषि क्षेत्रका जानकार बताउँछन् । भटमास जस्ता लोपोन्मुख रैथाने बालीको संरक्षण गर्न स्थानीय जातको संरक्षण, उत्पादनमा किसानलाई प्रोत्साहन तथा परम्परागत ज्ञान र प्रयोगको प्रवर्द्धनमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८३, सोमबार  ३ : ४५ बजे

कांग्रेसको विवाद चर्किँदै : देउवा पक्षले भन्यो, ‘असोज ३ देखि हुने महाधिवेशनमा सहभागी नहुनू’

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र देखिएको विवाद थप

तीज : पशुपतिनाथमा महिला दर्शनार्थीको घुइँचो

काठमाडौं- तीजका अवसरमा आराध्यदेव भगवान् श्री पशुपतिनाथ मन्दिरमा १० बजेपछि

असोज पहिलो सातादेखि पोखरा–दुबई सिधा उडान

गण्डकी- दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज

रास्वपा सचेतक क्रान्तिशिखा धितालको अभिव्यक्तिप्रति जेन-जी सहिद परिवारको आपत्ति

काठमाडौं- जेन-जी सहिद परिवारहरुले जेन-जी सहिद प्रथम स्मृति दिवसको कार्यक्रमप्रति

ग्रामीण क्षेत्रमा खानेपानीको पहुँच पुर्‍याउँदै प्रदेश सरकार

काभ्रेपलाञ्चोक- बाग्मती प्रदेश सरकारले जिल्लाका ग्रामीण क्षेत्रमा खानेपानीको पुहँच विस्तार