एजेन्सी – इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचिस्तानमा बन्धक बनाउने समूहविरुद्ध गरिएको कारबाहीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। उक्त कारबाहीमा आईआरजीसीका एक सदस्यको पनि मृत्यु भएको छ भने अपहरणमा परेका एक इन्जिनियरलाई सकुशल उद्धार गरिएको छ।
आईआरजीसीले आफ्नो आधिकारिक समाचार माध्यम सेपाह न्युजमार्फत मंगलबार जारी गरेको विज्ञप्तिमा झाहेदान काउन्टीको कुरिन जिल्लामा कारबाही गरिएको उल्लेख गरेको छ।
विज्ञप्तिअनुसार उक्त समूहले सोमबार आतङ्कवादी समूहहरूसँग मिलेर झाहेदानको पश्चिमी क्षेत्रमा विकास परियोजनामा कार्यरत एक इन्जिनियरलाई अपहरण गरेको थियो। अपहरणकारीले उनलाई छिमेकी देशमा लैजाने प्रयास गरिरहेका बेला सुरक्षा बलले कारबाही गरी उद्धार गरेको आईआरजीसीले जनाएको छ।
पाकिस्तान र अफगानिस्तानको सीमासँग जोडिएको सिस्तान र बलुचिस्तान प्रान्तमा इरानी सुरक्षा बल, सशस्त्र समूह र लागुऔषध तस्करबीच पटकपटक झडप हुँदै आएको छ।
यसैबीच, अर्धसरकारी तस्निम समाचार एजेन्सीका अनुसार अक्टोबर ९ मा उक्त प्रान्तमा सडककिनारमा भएको बम विस्फोटमा एक वरिष्ठ प्रहरी अधिकारीको मृत्यु भएको थियो। त्यसको एक दिनअघि भएको सशस्त्र आक्रमणमा दुई इरानी सुरक्षाकर्मी मारिएका थिए भने अन्य तीन जना घाइते भएका थिए।














प्रतिक्रिया