काठमाडौँ – सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ घरधुरीलाई जनही ४५ हजार रुपैयाँका दरले नगद सहायता वितरण गरेको छ।
विकास साझेदार विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले उपलब्ध गराएको उक्त रकम दोहोरोपना हुन नदिने गरी एकद्वार प्रणालीमार्फत वितरण गरिएको हो। स्थानीय तहसँगको समन्वयमा पहिचान गरिएका बाढी प्रभावित परिवारलाई रकम उपलब्ध गराइएको सरकारले जनाएको छ।
रसुवाका पाँच, नुवाकोटका चार र धादिङका दुई गरी ११ वटा स्थानीय तहका प्रभावित घरपरिवारले उक्त सहायता पाएका छन्।
तथ्यांक प्रमाणीकरण हुन बाँकी रहेका करिब १ हजार ४०० घरधुरीलाई पनि तीन दिनभित्र रकम वितरण गरिसक्ने सरकारको तयारी छ।
गत असोज २३ गते बसेको केन्द्रसहित तीनवटै जिल्लाका मनसुन प्रतिकार्य कमाण्ड पोस्टको संयुक्त बैठकले विपद् प्रभावित घरधुरीको पहिचान, लाभग्राहीको विवरण प्रमाणीकरण तथा शीघ्र पुनर्लाभका कामलाई व्यवस्थित गर्ने निर्णय गरेको थियो।
रेडक्रस लगायत अन्य विकास साझेदारले पनि नगद सहायता उपलब्ध गराउन चाहेकाले सरकारले ‘विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१’ अनुसार दोहोरोपना नहुने र कुनै पनि प्रभावित परिवार नछुट्ने गरी सहायता वितरण गर्न स्थानीय तह तथा सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छ।
यसैबीच, बाढी प्रभावितहरूको दीर्घकालीन पुनर्स्थापना तथा व्यवस्थापनका लागि पनि काम तीव्र पारिएको सरकारले जनाएको छ।














प्रतिक्रिया