भक्तपुर- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले नौ वर्षदेखि रोकिएको भक्तपुरस्थित ऐतिहासिक रानीकोट गढीको पुरातात्विक उत्खनन पुनः सुरु गरी संरक्षण र पुनःनिर्माण गर्न पुरातत्व विभागको ध्यानाकर्षण गराएका छन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–७ र ८ मा अवस्थित रानीकोट गढी तथा घ्याम्पेडाँडा–रानीकोट सडकखण्डको अनुगमनका क्रममा मुख्यमन्त्री थापामगरले ऐतिहासिक सम्पदाको संरक्षण र विकासमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए।
पुरातत्व विभागले २०७४ मङ्सिर १० देखि १६ गतेसम्म गरेको प्रारम्भिक उत्खननका क्रममा रानीकोट गढीमा मल्लकालीन दरबारका अवशेष, इँट्टा र झिँगटी फेला पारेको थियो । थप उत्खनन गर्ने तयारीसहित रोकिएको काम नौ वर्ष बितिसक्दा पनि अघि बढ्न सकेको छैन ।
मुख्यमन्त्री थापामगरले रानीकोट गढी उपत्यकाको प्राचीन बस्ती, सुरक्षा व्यवस्था र ऐतिहासिक राजनीतिक गतिविधिसँग जोडिएको महत्त्वपूर्ण सम्पदा भएकाले यसको थप अध्ययन, उत्खनन र संरक्षण आवश्यक रहेको बताए। गढीको पुनःनिर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने उनको प्रतिबद्धता थियो ।
अनुगमनका क्रममा उनले रानीकोट हुँदै काभ्रेपलाञ्चोकको पनौती जोड्ने छोटो मार्गअन्तर्गत भक्तपुर खण्डको घ्याम्पेडाँडा–रानीकोट सडक वर्षाका कारण जीर्ण बनेको उल्लेख गरे। सडक स्तरोन्नतिका लागि पहल गर्नुका साथै सम्बन्धित निकायबीच समन्वय गरिने उनले बताए।
स्थानीय पर्यटन व्यवसायी एवं होटल हाइल्याण्ड रिसोर्टका सञ्चालक रामसुन्दर बकेँले सडकको जीर्ण अवस्थाका कारण पर्यटकको आवागमन प्रभावित भएको जानकारी गराए। उनले रानीकोट गढीको उत्खनन, संरक्षण र क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न तीनै तहका सरकारको ध्यानाकर्षण गराए।
सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष पुष्पराज बस्नेतले घ्याम्पेडाँडा–रानीकोट सडक स्तरोन्नति गरी यस क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताए। उक्त सडकमा दैनिक सयौँ सवारीसाधन आवतजावत गर्ने र काभ्रेपलाञ्चोकतर्फ सडक स्तरोन्नतिको काम भइरहेको उनले जानकारी दिए ।














प्रतिक्रिया