काठमाडौँ– दिपावली पछिको राष्ट्रिय पर्व छठका लागि कमलपोखरीमा सम्पूर्ण तयारी पूरा गरिएको छ । काठमाडौँ महानगरपालिकालगायत सङ्घ संस्थाको सहकार्यमा पोखरीको किनारमा करिब ५०० वर्तालुलाई पूजाआजा गर्न मिल्ने गरी घाटलाई व्यवस्थित गरिएको हो ।
पोखरीको चारैतिर पेटीमा वर्तालुलाई बस्ने, सूर्यलाई अर्घ्य दिने, पूजा सामग्रीको सुरक्षाको समेत व्यवस्था गरिएको छ । पोखरी तथा त्यस आसपास क्षेत्रका फोहर व्यवस्थापन गरी झिलीमिली बत्तीहरूको प्रबन्ध मिलाइएको छ ।
काठमाडौँ महानगरपालिका–१ मा पर्ने उक्त पोखरीमा स्वचालित रूपमा पानीको फोहोराको व्यवस्था मिलाइएको छ ।
काठमाडौँ महानगरपालिका–१ को समन्वयमा गरिने पूजाआजाका कार्यक्रममा वर्तालुलाई कुपन वितरण गरिएको छ । पोखरी तथा त्यस आसपास क्षेत्रमा भीड व्यवस्थापनका लागि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी खटाइएको काठमाडौँ महानगरपालिका–१ का वडा सदस्य रोशन श्रेष्ठले जानकारी दिए ।
उनले छठ पर्वको मौलिकता एवं महत्त्वलाई संरक्षण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न पोखरीलाई सजाइएको बताए।
भजनकीर्तन तथा धार्मिक गतिविधिको प्रबन्ध गरिएको समारोहस्थलमा सामान्य दर्शन तथा घुमघामका लागि करिब एक लाख भक्तजन आउने अपेक्षा गरिएको छ ।
पूजामा सहभागिताका लागि राष्ट्रपतिलगायत अतिविशिष्ट व्यक्ति, विभिन्न दलका नेतागण, महानगर कावा प्रमुखसहितका व्यक्तित्वलाई निमन्त्रणा गरिएको छ ।
यही कात्तिक २९ गते छठपर्व परेको छ । प्रत्येक वर्ष कात्तिक शुक्ल षष्ठीका दिनव वर्तालुले अस्ताउँदो सूर्यलाई अरघ्य दिने उक्त पर्वमा सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत समापन गरिन्छ । समापनपछि प्रसाद वितरणसमेत गरिने जनाइएको छ ।
स्थानीय सङ्घ संस्थाको समन्वय तथा सहकार्यमा स्वास्थ्य परीक्षणका शिविरसमेत सञ्चालनको व्यवस्था गरिएको छ ।














प्रतिक्रिया