एकीकृत परिवार योजना शिविर : महिलालाईभन्दा पुरुषलाई सम्झाउन गाह्रो « Khabarhub

एकीकृत परिवार योजना शिविर : महिलालाईभन्दा पुरुषलाई सम्झाउन गाह्रो


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

धनुषा– पछिल्ला वर्षहरूमा धनुषास्थित अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई निर्धक्क उपयोग गर्न थालेका छन् । पायक पर्ने स्थानमा परिवार योजनाको सेवा उपलब्ध हुन थालेपछि ती समुदायले परिवार योजनाको स्थायी र अस्थायी साधन निर्धक्क उपयोग गर्न थालेका हुन् ।

परिवार योजनाका स्थायी माध्यम ‘मिनील्याप’ (महिला बन्ध्याकरण), ‘भ्यासेक्टोमी’ (पुरुष बन्ध्याकरण) पर्दछन् । त्यसैगरी महिलाका लागि परिवार योजनाका लामो अवधि काम गर्ने आइयुसिडी, इम्प्लान्ट र छोटो अवधि काम गर्ने (तीनमहिने सुई डिपो, खानेचक्की पिल्स) र पुरुषका लागि कण्डम पर्दछन् ।

जिल्लास्थित दलित समुदाय (मण्डल, खत्वे, महरा, सदा, दास, रजक लगायत)का विशेषगी महिलाहरू परिवार योजनाअन्तर्गतका स्थायी र अस्थायी साधनको सेवा ‘लुकेर होइन, खुलेर’ सेवालाई उपयोग गर्न थालेका छन् ।

ती समुदायका पुरुषले परिवार व्यवस्थापन अन्तर्गतका अस्थायी साधन प्रयोग गर्ने गरेको भए पनि स्थायी बन्ध्याकरण ‘भ्यासेक्टोमी’ गराउन अझै रुचाउँदैनन् ।

तराई–मधेसमा ‘भ्यासेक्टोमी’ र हिमाल र पहाडमा ‘मिनील्याप’ सेवा लिने अत्यन्त न्यून हुने गर्दछन् । मधेसमा महिलाभन्दा पुरुष र पहाडमा पुरुषभन्दा महिला श्रममा सक्रिय हुनुपर्छ र ‘स्थायी बन्ध्याकरण गराउँदा बल घट्छ’ भन्ने गहिरो मान्यता विद्यमान छ । मधेसमा कुल प्रजननदर २.४ प्रतिशत र ‘अनमिड निड’ (चाहेर पनि परिवार योजनाको साधन प्रयोग गर्न नपाउने दर) अझै ३२ प्रतिशत छ ।

जिल्ला स्वास्थ्य कार्यालय, सम्बन्धित पालिकाका समन्वयमा मेरीस्टोप्स (एमएसआई), सुनौलो परिवार नेपालको प्राविधिक सहयोगमा अतिविपन्न समुदायलाई पायक पर्ने स्थानमा नै निःशुल्क ‘एकीकृत परिवार योजना शिविर’ सञ्चालन हुन थालेपछि ती साधन र सेवामा विपन्न समुदायको सहज पहुँच विस्तारै बढ्न थालेको हो । स्थायी बन्ध्याकरणका सेवा सुगम स्थानका स्वास्थ्य संस्थाबाट मात्र उपलब्ध हुँदा सेवाग्राही शिविरकै प्रतीक्षा गरेर बस्नुको अर्को विकल्प छैन ।

जिल्ला स्वास्थ्य कार्यालय धनुषाले गत मङ्सिर २१ गतेदेखि यही पुस ३० गतेसम्म १८ वटै पालिकालाई समेट्नेगरी पालिकासँगको समन्वय र साझेदारी तथा एमएसआई, सुनौलो परिवारको प्राविधिक सहयोग लिएर ‘एकीकृत परिवार योजना शिविर’ सञ्चालन गरेको छ । कार्यालयका प्रमुख एवं जनस्वास्थ्य प्रशासक उमेश यादवले भने, ‘पायक पर्ने स्थानमै परिवार योजनाका सेवा चाहनेहरूका लागि ‘एकीकृत परिवार योजना शिविर’ महत्त्वपूर्ण हुँदै आएका छन् । यस वर्ष गत मङ्सिर २१ देखि यही पुस ३० गतेसम्म १८ वटै पालिकालाई समेट्नेगरी शिविर सञ्चालन भयो । यस्ता शिविरमा अतिविपन्न समुदायका विशेष गरेर महिलाहरूमा ‘परिवार योजनाको सेवा’ अन्तर्गत स्थायी बन्ध्याकरण अर्थात् मिनील्याप सेवा लिन आउँछन् । उनीहरू बिना हिच्किचाहट सेवा लिन थालेका छन् । साथै सेवा लिने दरसमेत क्रमशः बढ्दै गएको छ ।’

उनका अनुसार यस्ता शिविरले परिवार योजनाको सेवाको पहुँच बाहिर रहेका अतिविपन्न समुदायलाई सेवाको पहुँचमा ल्याउन कोशेढुङ्गाको काम गरेका छन् । यस वर्ष परिवार कल्याण महाशाखाले धनुषा जिल्लालाई शिविरमार्फत बन्ध्याकरण सेवा दिनुपर्ने लक्ष्य ९६० जना निर्धारण गरेको छ । यसपटक सो लक्ष्य पूरा हुने कठिन हुने जनस्वास्थ्य प्रशासक यादवले जानकारी दिए । उनले भने, ‘परिवार व्यवस्थापन सेवाका लागि बजेट कटौती भयो । कतिपय स्थानमा सेवाग्राहीको माग हुँदाहुँदै दुई दिन सञ्चालन गर्नुपर्ने शिविर एक दिनमात्र सञ्चालन गर्नुपर्ने अवस्था आयो । बन्ध्याकरण सेवा लिन चाहनेलाई अर्को वर्ष कुर्नुपर्ने अथवा जनकपुर आउनुपर्ने अवस्था आयो ।’

यसपटक स्वास्थ्य कार्यालयले ‘सेन्टर टु पेरिफेरी’ अर्थात जिल्लाको सुगमस्थानदेखि बन्ध्याकरण शिविर थालनी गरेर अतिदुर्गम गाउँ–टोलसम्म पुर्‍याएकाे थियो । कार्यालयको हाताभित्र रहेको प्रादेशिक अस्पताल जनकपुरबाट परिवार योजनाका सबै सेवा नियमित उपलब्ध हुने गरेका छन् ।

यातायातको सुविधाले थप सहज
सेवाग्राहीलाई शिविरमा ल्याउन थप सहज बनाउन जिल्ला स्वास्थ्य कार्यालले यातायातको प्रबन्ध गरेको थियो । कार्यालयका पब्लिक हेल्थ नर्सिङ निरीक्षक अम्बिका दासले भनिन्, ‘विपन्न सेवाग्राहीलाई परिवार योजनाको पहुँचमा ल्याउन यातायातको व्यवस्थापन गरेका हौँ । शिविरको सेवापश्चात घरघर पुर्‍याउँदा उनीहरूलाई थप सहज हुन्छ ।’ जिल्लाभरका शिविर व्यवस्थापनको संयोजकसमेत रहेकी नर्सिङ निरीक्षक दासले विपन्न समुदायका लागि पायक पर्ने स्थानमा सञ्चालित शिविर भएको बताइन् ।

जिल्ला स्वास्थ्य कार्यालयले कमला नगरपालिकाको समन्वयमा एमएसआई, सुनौलो परिवार नेपालको प्राविधिक सहयोगमा निःशुल्क ‘एकीकृत परिवार योजना शिविर’ यही पुस २३ र २४ मा कमला नगरपालिका–९ स्थित दुवरकोट स्वास्थ्यचौकीमा सञ्चालन गरेको थियो ।

कमला नगरपालिका–३ लग्माभानपट्टिकी महिला स्वयंसेविका राजकुमारी महराले सेवाग्राहीलाई शिविरमा ल्याउन र बन्ध्याकरणपछि घर पुर्याउन गाडीको व्यवस्था हुँदा थप सहज भएको बताइन् । २०७८ सालदेखि स्वयंसेविकाको काम गर्दै आएकी उनले भनिन्, ‘सन्तानको रहर पुगेका पुरुष र महिला अझै स्थायी बन्ध्याकरण (अप्रेशन) गराउनु हुँदैन भन्दछन् । सम्झाउन हम्मे पर्छ । लुकेर भारतमा गएर बन्ध्याकरण गराएर आउँछन् । घर पायकमा शिविर आउन हिच्किचाहट गर्छन् । जाने आउने, व्यवस्था छ भन्दा डराउँछन् । दश दिन गाउँ डुलेर बल्ल पाँच जना सन्तानका रहर पुगेका महिलालाई ‘मिनील्याप’ गर्नुपर्छ भनेर सम्झाएँ । शिविरमा त तीन जनामात्र आए । जबर्जस्ती शिविरमा आऊ भन्ने कुरा भएन । पुरुषलाई भन्न पनि छाडिदिएँ । सुने नसुनेको जस्तो गर्छन् ।’

कमला नगरपालिका–५ की महिला स्वयंसेविका निर्मला मण्डलले परिवार व्यवस्थापन सेवाका बारेमा महिलालाई भन्दा पुरुषलाई सम्झाउन अप्ठ्यारो पर्ने बताइन् । आफ्नो समुदायको पहिलो महिला स्वयंसेविका उनले भनिन्, ‘महिलाहरू आइयुसिडी, इम्प्लान्ट, डिपो, पिल्स नै रोज्छन् तर स्थायी बन्ध्याकरण गराउन अझै अप्ठ्यारो मान्छन् । दुरकोट स्वास्थ्यचौकीमा बर्थिङ सेन्टरको सुविधा भएकाले सुत्केरी हुन ल्याउँदा सम्झाउने गरेका छौँ ।’

कमला नगरपालिका–९ की महिला स्वयंसेविका मञ्जुकुमारी मण्डलले परिवार योजनाका बारेमा महिलालाई भन्दा पुरुषलाई सम्झाउन गाह्रो हुने सुनाइन् । उनले भनिन्, ‘सन्तानको रहर पुग्यो, स्थायी बन्ध्याकरण गराउनुहोस् भन्दा महिला मान्दछन्, तर पुरुष मान्दैनन् । बन्ध्याकरण शिविरबाट विपन्न महिलालाई सहयोग पुगेको छ ।’

‘करले होइन, रहरले परिवार योजना व्यवस्थापन गर्न सकिन्छ’
कमला नगरपालिका–४ बलहासधाराकी महिला स्वयंसेविका हरिजन खातुन आफ्नो समुदायको अग्रणी स्वयंसेविका हुन् । उनले स्वसंसेविकाको काम गरेको १२ वर्ष बितिसक्यो । उनी भन्छिन्, ‘म आफ्नो समुदायमा आफैँलाई उदाहरण दिएर सम्झाउँछु । मैले बन्ध्याकरण गरेकी छु केही भएको छैन । करले होइन, रहरले परिवार योजनाको व्यवस्थापन गर्न सकिन्छ । अन्यत्र गएर लुकेर, जोखिम मोलेर सेवा लिनुभन्दा पायक पर्ने शिविरमा परिवार व्यवस्थापनका निःशुल्क सेवा लिन हिच्किचाहट गर्नुहुँदैन ।’ उनले स्थायी बन्ध्याकरण गराउन पैसा लाग्छ भन्ने हल्लाका कारण पनि महिला शिविरमा आउन नचाहेको बताइन् ।

कमला नगरपालिका–५ भलुहवाकी ३५ वर्षीय सानु सदाले भनिन्, ‘हाम्रो वंशजका महिलाहरूले अहिलेसम्म स्थायी बन्ध्याकरणका लागि ‘मिनील्यापको शल्यक्रिया’ गराएका छैनन् । यो हाम्रो पुस्तौँदेखि चल्दै आएको चलन हो । बन्ध्याकरण गराउँदा क्षति हुन्छ भन्ने बूढापाकाको भनाइ रहँदै आएको छ ।’ परिवार योजनाअन्तर्गत आफूले इम्प्लान्ट सेवा लिन शिविरमा आएको खुलेर उनले जानकारी दिइन् ।

कमला नगरपालिका–४ बलाहासाधराकी ३४ वर्षीय निर्मला दासले घर पायक पर्ने स्थानमा परिवार योजनाको शिविर सञ्चालन हुँदा सेवा लिन सहज भएको बताइन् । कमला नगरपालिका–९ स्थित दुवरकोट स्वास्थ्यचौकीमा कार्यरत सिनियर अनमी रुपा सदा पछिल्ला वर्षहरुमा विपन्न दलित समुदायमा परिवार योजनाको विषयमा कुराकानी हुने गरेको र यस्ता सेवा समेत उपयोग गर्ने गरेको जानकारी दिइन् ।

एमएसआई र सुनौलो परिवार नेपालका तर्फबाट शिविरको संयोजन गरेकी अनिता दाहालले विकट क्षेत्रका विपन्न समुदायलाई परिवार व्यवस्थापनको सेवालाई पहुँचमा ल्याउन समन्वयकारी माध्यमबाट सम्भव भएको बताइन् । उनले भनिन्, ‘विपन्न समुदायलाई पायक पर्ने स्थानमा शिविर सञ्चालन गर्दा सेवाग्राही सेवा लिन आउने गर्दछन् । हामी प्राविधिक सहयोग गर्दछौँ । ‘मिनिल्याप’ सेवा लिने धेरै हुन्छन् ‘भ्यासेक्टोमी’ न्यून हुन्छन् ।’ उनले स्थानीय भाषामा परिवार योजनाका बारेमा सेवाग्राहीलाई परामर्श दिँदा थप प्रभावकारी भएको जानकारी दिइन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाले पछिल्ला वर्षहरूमा परिवार व्यवस्थापन सेवाअन्तर्गत विशेष गरेर एकीकृत परिवार योजना शिविर सञ्चालन गर्न सेवाप्रदायक संस्थासँग समन्वयात्मक र साझेदारी नीति अवलम्बन गरेको छ ।

जिल्ला जनस्वास्थ्य र स्वास्थ्य कार्यालयले पालिका तहसँग समन्वय गर्दै आफ्ना संयन्त्रमार्फत आवश्यक सेवाग्राही पहिचान गर्ने र परिवार व्यवस्थापन सेवा प्रदान गर्ने निकायले सेवाग्राहीलाई पायक पर्ने स्थानमै एकीकृत परिवार योजना शिविर सञ्चालनमा स्वास्थ्य कार्यालयलाई प्राविधिक सहयोग पुर्‍याउने समझदारीको ढाँचा रहेको परिवार योजना तथा प्रजनन स्वास्थ्य शाखाका प्रमुख शर्मिला दाहाल पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  १२ : ०४ बजे

विश्वप्रकाशको प्रस्ताव- गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर जाऊँ

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सहमतिको बिन्दु खोजिएको छ ।

कांग्रेस फुटनजिक पुगेकै हो ? शेखर भन्छन् : फुट्दैन-फुट्दैन, हामी मिलाउँछौँ 

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन चलिरहँदा संस्थापन पक्षले सानेपामा केन्द्रीय

अन्तिम सहमतिका लागि ८ बुँदा पठाएका छौँ : मधु आचार्य

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले अन्तिम पटक सहमतिका

सरकारी स्वास्थ्य संस्थामा सीजीएएस प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका सरकारी स्वास्थ्य संस्थालाई सरकारी

मुटु, प्रेसर र कोलेस्ट्रोलको लागि वरदान सावित, तिलका १० चमत्कारी फाइदा 

जाडो मौसम र हाम्रो परम्परासँग जोडिएको ‘तिल’ को वैज्ञानिक महत्त्व