सर्लाही– माघे सङ्क्रान्ति नजिकिएसँगै सर्लाहीका उखु किसानहरूलाई यतिबेला सखर (गुड) बनाउन भ्याइनभ्याइ छ । चाडपर्वको मुखमा नगदको आवश्यकता टार्न किसानहरूले सरकारी दररेट र चिनी मिलको आकर्षक मूल्य छोडेर स्थानीय ‘क्रसर’ उद्योगलाई उखु बेच्न थालेका छन्।
हाल चिनी मिलहरूले उखुको मूल्य प्रति क्विन्टल ६७५ सम्म दिने गरेका छन् । तर, स्थानीय सखर उद्योग (क्रसर) ले भने प्रति क्विन्टल ६०० मात्र दिन्छन् । क्विन्टलमै ७५ रुपैयाँको घाटा खाएर पनि किसानहरू स्थानीय उद्योगमै आकर्षित हुनुको मुख्य कारण हो– ‘भुक्तानीको समय।’
चिनी मिललाई उखु बेच्दा भुक्तानी पाउन ७ देखि ८ महिना कुर्नुपर्ने बाध्यता छ । उता, स्थानीय सखर उद्योगले भने १५ देखि २० दिनभित्रै नगद भुक्तानी दिने गरेका छन् । ‘मिललाई उधारो दिएर महिनौँ कुर्नुभन्दा, अलि सस्तोमै भएपनि १५ दिनमा पैसा आउँदा घरखर्च र चाडपर्व टार्न सजिलो हुन्छ’, एक स्थानीय किसानले बताए।
स्थानीय स्तरमा सञ्चालित यी सखर उद्योगहरूले ग्रामीण अर्थतन्त्रमा टेवा पुर्याएका छन् । एक क्विन्टल सखर तयार पार्न करिब ७ क्विन्टल उखु खपत हुने किसानहरूको अनुभव छ ।
यी साना उद्योगहरूले स्थानीय स्तरमै रोजगारी समेत सिर्जना गरेका छन्, जसले गर्दा युवाहरूले गाउँमै काम पाएका छन्।
जाडो याममा तराईमा चल्ने शीतलहरले सखर उत्पादनमा पनि चुनौती थपेको छ । सखर पकाउन सामान्यतया उखु पेलेर निस्कने ‘छोकरा’ (बगास) सुकाएर इन्धनको रूपमा प्रयोग गरिन्छ, जसले दाउराको खर्च बचाउँछ । तर, घाम नलाग्दा र शीतलहर चल्दा छोक्रा नसुक्ने समस्या हुन्छ । यस्तो अवस्थामा किसानहरूले महँगो मूल्यमा दाउरा किनेर सखर पकाउनु परिरहेको छ।
माघे सङ्क्रान्तिमा सखरको माग उच्च हुने हुँदा जतिसुकै दुःख भएपनि किसानहरू उपभोक्ताको माग पूरा गर्न र आफ्नो गर्जो टार्न दिनरात खटिएका छन्।















तस्बिर : नेपाल फोटो लाइब्रारी













प्रतिक्रिया